Headline

भोकाएका शरद, फिटनेस र पुनरागमन

Published

on

ब्याट्स्म्यानको रुपमा नेपाल एपिएफ क्लबका कप्तान शरद भेषावकरको प्रदर्शन प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सम्झनलायक छैन । आसिफ शेखले गण्डकीबिरुद्धको एकपक्षीय खेलमा आक्रमक ७८ रन जोड्दा पाँच रनमा नटआउट रहेका शरदले सेमिफाइनलको समाप्तिसम्म कुल ७५ रन बनाएका छन् ।

त्रिभुवन आर्मी क्लबबिरुद्ध समुह चरणमा २४ रन बनाएका शरदले ओपनर सुभाष खकुरेलसँग ४४ रनको पार्टनरसिप गरेका थिए । यो नै उनको सबैभन्दा उच्च प्रदर्शन हो । मिडल अर्डरले सम्हाल्नु परेको नेपाल पुलिस क्लबबिरुद्धको सेमिफाइनलमा १८ रन बनाएका शरदले प्रदेश १ सँगको खेलमा २० रन जोडेका थिए ।

चार खेलमा बलिङ्ग गरेका शरदको प्रदर्शन पुलिसबिरुद्ध उच्च थियो । उक्त खेलमा उनले १० ओभरमा ३६ रन खर्चदै दुई विकेट लिएका थिए । उनले प्रतियोगितामा कुल ६ विकेट लिएका छन् ।

नेपालको मध्यक्रमको पिलरको रुपमा स्थापित भएदेखि टिमबाट बाहिर र भित्र हुने स्थितिसम्म आइपुग्दा शरद आफैलाई थाहा छ घरेलु क्रिकेटमा ब्याटबाट चिनिएका उनको बलिङ्ग प्रदर्शनले त्यति महत्व राख्दैन । २०१८ को अगष्टमा नेदरल्याण्ड्सबिरुद्ध नेपाली क्रिकेट इतिहासकै पहिलो एकदिवसीय अन्तर्राष्ट्रियका क्रममा औलामा नराम्रो चोट बोके यता शरद टिमबाट भित्र बाहिर रहदै आएका छन् ।

यसमा उनको ब्याटिङ्ग प्रदर्शनभन्दा पनि फिटनेसको समस्याले प्रमुख भुमिका खेलिरहेको छ । पछिल्लो पटक २०२० को फेब्रुवरीमा घरेलु मैदानमै भएको आईसिसि क्रिकेट बिश्वकप लिग टुका लागि नेपाली टोलीमा फर्किएका शरदले ओमानबिरुद्धको पहिलो खेलमा ५५ रन बनाएका थिए ।

पुर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल टिमको योगफल चार रन हुँदा नै पेभिलियन फर्किएपछि एउटा एन्ड सम्हालेका उनले ५५ रन बनाएपनि १ सय ९८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १८ रनले पराजित हुन पुगेको थियो । तर शरदको पुनरागमन त्यही एउटा खेलमा समाप्त भयो । अर्को चोट बोकेपछि उनी श्रृंखलाबाटै बाहिरिए ।

कोरोना भाइरसका कारण लामो समयपछि एकदिवसीय क्रिकेट खेलेको कारण आफ्नो एपिएफ खेलाडीहरु घाइते हुदै बाहिरिदा शरद आफू भने अहिले फिटनेसमै ध्यान दिएकोले प्रतियोगितामा टिक्न सफल भएको मान्छन् ।

“मैले आफ्नो फिटनेसमा धेरै ध्यान दिदै आइरहेको थिए । शायद म अर्लि ट्वान्टीमा जस्तो फिट त नहोला तर अहिलेको उमेरमा आएर मैले लकडाउनको समयमा लगातार डाइट र फिटनेसमा १ वा २ घण्टा दिदै आइरहेको थिए । यसले गर्दा अहिलेसम्म म सुरक्षित छु,” ३२ बर्षिय शरदले भने ।

नेपालले २०१८ अगष्ट यता १० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसक्दा जम्मा दुई मात्र खेल खेल्न पाउदा शरदलाई फिट रहनुको महत्व थाहा छ । टिममै पनि आफ्नो स्थान संकटमा पर्दा फिटनेसको कुरा आउदा उनी गम्भिर हुन्छन् । “सबैभन्दा महत्वपूर्ण नै फिटनेस हो । टिममा फिट हुनको लागि पहिले आफू शारिरिक रुपमा फिट नभइ हुदैन । एकदिवसीय मान्यता भइरहदा प्रतिस्पर्धा निकै उच्च हुने गर्दछ र हामी सुपर फिट हुन आवश्यक छ,” उनी थप्छन् ।

प्रधानमन्त्री कपका दौरान फिट भइरहदा पनि शरद ढुक्क भने छैनन् कारण उनले बोर्डमा धेरै रन लेखाउन सकेका छैनन् । “आफ्नो प्रदर्शनलाई लिएर म आफै पनि निराश छु । म आफैलाई पनि लयमा आउन नसकेको महसुस भएको छ । लकडाउनको समयमा काठमाडौंमा ब्याटिङ्ग प्राक्टिस गर्नको लागि ठाँउ नै भएन र यो ग्यापले गर्दा लयमा आउन समय लागिरहेको छ,” पुलिसलाई सेमिफाइनलमा पराजित गरेपछि उनले भनेका थिए ।

घरेलु फ्रान्चाइज लिगका सबैभन्दा सफल मध्येका एक कप्तान शरद प्रधानमन्त्री कपको फाइनलमा शनिबार आर्मीबिरुद्ध उत्रदै छन् । राम्रो प्रदर्शनका लागि भोको रहेको बताएका उनलाई हालको लागि घरेलु क्रिकटकै सबैभन्दा ठूलो खेलमा चम्कनका लागि एक उत्कृष्ट स्टेज नै आफू सामु छ ।

कप्तानको लागि यो भन्दा राम्रो अवसर अरु के नै होला र ?

“अघिल्ला खेलहरुमा जे भए भइसकेका छन् र अब अगाडी हेर्न चाहन्छु । म आफ्नो टिमको लागि कसरी उत्कृष्ट तरिकाले प्रदर्शन गर्न सक्छु हेर्दैछु । म पनि एकदमै भोको छु प्रदर्शन गर्नका लागि र शायद त्यो भोलि ग्राउण्डमा निक्लिएला,” उनी भन्छन् ।

Click to comment

Trending