राष्ट्रिय

स्लिपबाट पारसले थर्ड म्यान दिपेशलाई सोधेः “ओरिजिनल घडी हो ?”

Published

on

राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्काको मैदानमा उपस्थिति बिशेष हुने गर्छ । पारसको बडी ल्याङ्गवेजले सिँगै टिमलाई नै उर्जा प्रदान गर्ने गर्छ ।

काठमाडौंमा जारी प्रधानमन्त्री कप क्रिकेट राष्ट्रिय एकदिवसीय बागमती प्रदेशका लागि खेलिरहेका पारसले पुरै टिमलाई नै हौसाउदै लगातार खेलाडीहरुसँग बोल्दै बिताए । गत संस्करणमा पनि पारसको उपस्थितिले नै अतिरिक्त उर्जा पाएको बागमतीले सेमिफाइनलसम्म खेलेको थियो ।

बागमतीले आइतबार नै त्रिवि क्रिकेट मैदानमा नेपाल पुलिस क्लबबिरुद्ध आफ्नो पहिलो खेल खेल्यो । खेल दौरान पारसले आफ्ना बलरहरुलाई निकै जोस्याए र फल स्वरुप निकै फुर्तिलो देखिएको बागमतीले डिफेन्डिङ्ग च्याम्पियन पुलिसलाई १ सय ११ रनमै अल आउट गर्यो ।

पारसको अर्को एउटा पक्ष पनि छ । उनी सिचुवेसनल कमेडी (परिस्थिति हेरेर ठट्टा गर्ने) पनि गर्ने गर्छन् । यो पारसको एक भित्री पाटो हो जुन धेरै कमले मात्रै देखेका छन् । पारसले सोमबार आफू भित्रको कमेडी पुलिसबिरुद्धको खेलमा बाहिर निकालेका थिए जसलाई सुनेर धेरैको हाँसोको फोहोरा छुटेको थियो ।

कुरा पुलिसको इनिङ्गसको २३ औं ओभरको हो । बागमतीका तिब्र गतिका बलर नन्दन यादवको शर्ट पिचबल टप एज लिदै थर्ड म्यान तर्फ गयो । क्याचको लागि जाने अथवा चौका बचाउन दोधार चलिरहदा दिपेशले बललाई केही अगाडी ड्रप हुन दिदै रन बचाउने निर्णय लिए ।

दिपेशले चौका बचाएपनि बाउन्स भएर आएको बलले उनको घडीमा लाग्यो र चुडिएर मैदानमा खस्यो । दिपेशले घडी बाउन्डरी बाहिर रहेका टिममेट तर्फ फाले । स्लिपबाट हेरिरहेका पारसले दिपेशलाई चिच्याउदै सोध्न भ्याइहालेः “दिपेश ओरिजिनल घँडी हो ?”

पारसले त्यति भनेका मात्रै के थिए बाउण्डरी नजिकै रहेको प्रेस बक्समा हाँसोको फोहोरा छुट्यो । डग आउटमा रहेका पुलिसका खेलाडी पनि राम्ररी नै हासे । तर दिपेशले घडी ओरिजिनल भएको की नभएको केही भनेनन् ।

आइतबार बाग्मतीले पुलिसलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात पनि गरेको छ । तिलक भण्डारी र नन्दन यादवले चार–चार विकेट लिएपछि पृथु बास्कोटाले अद्र्धशतक प्रहार गर्दै बागमतीलाई सहज जित दिलाएका थिए ।

Click to comment

Trending