अन्तर्राष्ट्रिय

सिड्नी विरुद्ध होबार्ट पहिले बलिङ गर्दै, सन्दिप सुरुवाती ११ मा

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले बिग ब्यास लिगको आफ्नो नवौं खेलमा सिड्नी थन्डर विरुद्ध पहिले बलिङ गर्ने भएको छ । होबार्टले टस जितेर सिड्नीलाई ब्याटिङ गर्न लगाएको छ ।

आजको खेलमा पनि सन्दिपले सुरुवाती ११ मा स्थान बनाउन सफल भएका छन् । अघिल्ला दुई खेलमा महँगो भए पनि सन्दिप दुबै खेलमा विकेट निकाल्न भने सफल भएका थिए । अष्ट्रेलियाको सरकारको १४ दिन अनिवार्य क्वारेन्टिन बस्नै पर्ने नियमका कारण होबार्टका सुरुवाती छ खेल गुमाएका सन्दिपले पछिल्ला दुई खेलमा सुरुवाती ११ मा स्थान बनाउन सफल भएका थिए ।

दुई खेलमा उनले तीन विकेट आफ्नो नाममा दर्ता गराउन सफल पनि भए । सन्दिपले आफ्नो पुर्व क्लब मेलबर्न स्टार्स विरुद्धको दुई खेल मध्य पहिलोमा दुई तथा दोश्रोमा एक विकेट लिएका थिए । दुबै खेलमा महँगो साबित भएका सन्दिपले पहिलो खेलमा ३८ तथा दोश्रो खेलमा ३६ रन खर्चिएका थिए । दोश्रो खेलमा सुरुका दुई ओभरमा मात्र पाँच रन खर्चिएका सन्दिपले पछिल्ला दुई ओभरमा ३१ रन खर्चन पुगे ।

आठ खेल खेलेको होबार्ट १८ अंक सहित अंक तालिकाको तेश्रो स्थानमा रहेको छ भने एक खेल कम खेलेको सिड्नी १९ अंक सहित दोश्रो स्थानमा छ । समान ५-५ खेल जिते पनि सिड्नीले दुई खेलमा तथा होबार्टले तीन खेलमा पराजय भोगेका छन् । आजको खेलमा जित हात पार्ने टोली पहिलो स्थानमा उक्लने छ ।

पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने होबार्ट माथि सिड्नी हाबी रहेको छ । सिड्नीले तीन खेलमा जित दर्ता गराउँदा होबार्टले दुई खेल आफ्नो पक्षमा पार्न सकेको थियो । गत संस्करणमा तीन पटक भिड्दा सिड्नीले दुई तथा होबार्टले एक खेल जितेका थिए ।

Click to comment

Trending