Headline

के मेस्सी र रोनाल्डोको दुश्मनी अनावश्यक हल्ला मात्र हो ?

Published

on

विश्व फुटबलका दुई चर्चित नाम हो अर्जेन्टिना र बार्सिलोनाका लियोनेल मेस्सी तथा पोर्चुगल र युभेन्टसका क्रिष्चियानो रोनाल्डो ।

रोनाल्डो र मेस्सी मध्ये को उत्कृष्ट भन्ने बहस सधै चलिरहन्छ । कसैले मेस्सी उत्कृष्ट भन्छन् त कोही रोनाल्डोलाई । समर्थक, पत्रकार र फुटबलसम्बन्धित व्यक्तिहरु मात्र नभएर अन्य खेलाडीहरु पनि रोनाल्डो र मेस्सी मध्ये को उत्कृष्ट भन्दै चर्चा गर्ने गर्दछन् । तर एउटा कुरा चाही के पक्का हो भने यी दुई खेलाडी फुटबलले पाएको महान खेलाडीहरु हुन् ।

कोरोनाका कारण यस बर्ष बालन डी’ओर पहिलो पटक भएन । तर पछिल्लो १२ बर्षको विजेता हेर्ने हो भने यस प्रतिष्ठित पुरस्कारमा रोनाल्डो र मेस्सीकै बोलबाला छ । फ्रान्स फुटबल पत्रिकाले दिने उक्त पुरस्कारको पछिल्लो १२ संस्करण मध्ये मेस्सीले ६ पटक जित्दा रोनाल्डोले पाँचमा बिजेता रहेका छन् ।

एक पटक यो पुरस्कार सन् २०१८ मा क्रोएसिया र रियल म्याड्रिडका लुका मोड्रिचले जिते ।

मेस्सीका नजिक रहेका ब्राजिल र पेरिस सेन्ट जर्माइनका स्टार खेलाडी नेमार दुबै नै उत्कृष्ट खेलाडी रहेको मान्छन् । बार्सिलोनामा सन् २०१३ देखि २०१७ सम्म मेस्सीसँगै खेलेका नेमार मेस्सीका ठुलै समर्थक हुन् तर पनि उनि दुबै उत्कृष्ट खेलाडी हुन् भन्छन् ।

एक अन्तर्वार्ताका क्रममा नेमारले भनेका थिएः “मेरो विचारमा सबैको आ–आफ्नै इतिहास हुन्छ र इतिहास बनाउने पनि गर्छन् । सबैको आ–आफ्नो लक्ष्य हुन्छ । रोनाल्डो र मेस्सी यस्ता खेलाडी हुन् जसले किर्तिमान बनाउनुका साथै आफ्नै इतिहास बनाउने गरेका छन् ।”

धेरै रोनाल्डोका समर्थक मेस्सीलाई रुचाउँदैनन् भने मेस्सीका समर्थक पनि रोनाल्डोलाई फिटिक्कै मन पराउँदैनन् । त्यस्तै बार्सिलोनाका समर्थक मेस्सीलाई र रियल म्याड्रिडका समर्थक रोनाल्डोलाई देख्न सक्दैनन् ।
तर के मेस्सी र रोनाल्डो एक अर्कालाई घृणा गर्ने र एक अर्कालाई आफ्नो दुश्मन मान्छन् ?

केहि समय अघि मेस्सीले आफ्नो चार जना मनपर्ने खेलाडीहरुको बारेमा सोध्दा नाम लिएका खलाडीहरु थिए – टेनिसका रोजर फेडेरर र राफेल नाडाल तथा बास्केटबलका लेब्रोन जेम्स ।

यो त तीन जनाको मात्र नाम भयो त ! चौथों को नाम खै त । चौथों पक्कै पनि नेमार हो । मेस्सी नेमारलाई उत्कृस्ट खेलाडी मान्छन् । उनी नेमारसँग मैदान भित्र र मैदान बाहिर दुबैमा राम्रो मेल रहेको जनाउँछन् ।  तर तपाईको अनुमान गलत भयो । मेस्सीले आफुलाई मनपर्ने र प्रसंशा गर्ने चौथों खेलाडी रोनाल्डो भएको बताएका थिए ।

मेस्सी भन्छनः “फुटबलमा मलाई मन पर्ने खेलाडी रोनाल्डो हुन् । उनी सधैं उत्कृष्ट प्रदर्शन गर्दछन् र आफ्नो शत प्रतिशत दिन्छन् । बास्ताबमा भन्नु पर्दा म यस्तो खेलाडीको प्रसंशा गर्छु जो सधैं उत्कृष्ट प्रदर्शन गर्दै शत प्रतिशत दिन्छन् ।”

अरुले जे सुकै भने पनि मेस्सी र रोनाल्डो एक अर्कालाई सम्मान गर्ने गर्दछन् । रोनाल्डोले एक पटक एउटा पत्रकार सम्मेलनमा भनेका थिएः “मेस्सी यस्ता खेलाडी हुन् जोसँग मेरो सधैं राम्रो सम्बन्ध रहि आएको छ । मैलें कहिल्यै पनि उनलाई आफ्नो प्रतिद्वन्दिको रुपमा हेरेको छैन । उनी पनि म जस्तै आफ्नो क्लब र टोलीको लागि राम्रो गर्न प्रयासरत छन् ।”

त्यस्तै अर्को एक अन्तर्वार्ताका क्रममा रोनाल्डोले अहिले सम्म मेस्सीसँग सँगै बसेर डिनर नगरेको भए पनि एक दिन सँगै डिनर गर्ने आशा ब्यक्त गरेका थिए ।

एउटा अचम्मको कुरा त यो छ कि मेस्सीका छोरा थियागो रोनाल्डोका फ्यान हुन् भने रोनाल्डोका छोरा क्रिस्टिहानो मेस्सीका ठुला समर्थक हुन् ।

यथार्थ के हो भने मेस्सी र रोनाल्डो दुश्मनी भन्ने शब्दबाट नै निकै टाढा छन् । वास्तबमा उनीहरु मैदानको प्रतिद्वन्दीताले नै एक अर्कालाई उत्कृष्ट बनाएको छ । र दुई खेलाडीबीचको दुश्मनी उनीहरुको महत्वकांक्षाका कारण अरुहरुले बनाएका मात्रै हुन् ।

Click to comment

Trending