विश्व फुटबलका दुई चर्चित नाम हो अर्जेन्टिना र बार्सिलोनाका लियोनेल मेस्सी तथा पोर्चुगल र युभेन्टसका क्रिष्चियानो रोनाल्डो ।
रोनाल्डो र मेस्सी मध्ये को उत्कृष्ट भन्ने बहस सधै चलिरहन्छ । कसैले मेस्सी उत्कृष्ट भन्छन् त कोही रोनाल्डोलाई । समर्थक, पत्रकार र फुटबलसम्बन्धित व्यक्तिहरु मात्र नभएर अन्य खेलाडीहरु पनि रोनाल्डो र मेस्सी मध्ये को उत्कृष्ट भन्दै चर्चा गर्ने गर्दछन् । तर एउटा कुरा चाही के पक्का हो भने यी दुई खेलाडी फुटबलले पाएको महान खेलाडीहरु हुन् ।
कोरोनाका कारण यस बर्ष बालन डी’ओर पहिलो पटक भएन । तर पछिल्लो १२ बर्षको विजेता हेर्ने हो भने यस प्रतिष्ठित पुरस्कारमा रोनाल्डो र मेस्सीकै बोलबाला छ । फ्रान्स फुटबल पत्रिकाले दिने उक्त पुरस्कारको पछिल्लो १२ संस्करण मध्ये मेस्सीले ६ पटक जित्दा रोनाल्डोले पाँचमा बिजेता रहेका छन् ।
एक पटक यो पुरस्कार सन् २०१८ मा क्रोएसिया र रियल म्याड्रिडका लुका मोड्रिचले जिते ।
मेस्सीका नजिक रहेका ब्राजिल र पेरिस सेन्ट जर्माइनका स्टार खेलाडी नेमार दुबै नै उत्कृष्ट खेलाडी रहेको मान्छन् । बार्सिलोनामा सन् २०१३ देखि २०१७ सम्म मेस्सीसँगै खेलेका नेमार मेस्सीका ठुलै समर्थक हुन् तर पनि उनि दुबै उत्कृष्ट खेलाडी हुन् भन्छन् ।
एक अन्तर्वार्ताका क्रममा नेमारले भनेका थिएः “मेरो विचारमा सबैको आ–आफ्नै इतिहास हुन्छ र इतिहास बनाउने पनि गर्छन् । सबैको आ–आफ्नो लक्ष्य हुन्छ । रोनाल्डो र मेस्सी यस्ता खेलाडी हुन् जसले किर्तिमान बनाउनुका साथै आफ्नै इतिहास बनाउने गरेका छन् ।”
धेरै रोनाल्डोका समर्थक मेस्सीलाई रुचाउँदैनन् भने मेस्सीका समर्थक पनि रोनाल्डोलाई फिटिक्कै मन पराउँदैनन् । त्यस्तै बार्सिलोनाका समर्थक मेस्सीलाई र रियल म्याड्रिडका समर्थक रोनाल्डोलाई देख्न सक्दैनन् ।
तर के मेस्सी र रोनाल्डो एक अर्कालाई घृणा गर्ने र एक अर्कालाई आफ्नो दुश्मन मान्छन् ?
केहि समय अघि मेस्सीले आफ्नो चार जना मनपर्ने खेलाडीहरुको बारेमा सोध्दा नाम लिएका खलाडीहरु थिए – टेनिसका रोजर फेडेरर र राफेल नाडाल तथा बास्केटबलका लेब्रोन जेम्स ।
यो त तीन जनाको मात्र नाम भयो त ! चौथों को नाम खै त । चौथों पक्कै पनि नेमार हो । मेस्सी नेमारलाई उत्कृस्ट खेलाडी मान्छन् । उनी नेमारसँग मैदान भित्र र मैदान बाहिर दुबैमा राम्रो मेल रहेको जनाउँछन् । तर तपाईको अनुमान गलत भयो । मेस्सीले आफुलाई मनपर्ने र प्रसंशा गर्ने चौथों खेलाडी रोनाल्डो भएको बताएका थिए ।
मेस्सी भन्छनः “फुटबलमा मलाई मन पर्ने खेलाडी रोनाल्डो हुन् । उनी सधैं उत्कृष्ट प्रदर्शन गर्दछन् र आफ्नो शत प्रतिशत दिन्छन् । बास्ताबमा भन्नु पर्दा म यस्तो खेलाडीको प्रसंशा गर्छु जो सधैं उत्कृष्ट प्रदर्शन गर्दै शत प्रतिशत दिन्छन् ।”
अरुले जे सुकै भने पनि मेस्सी र रोनाल्डो एक अर्कालाई सम्मान गर्ने गर्दछन् । रोनाल्डोले एक पटक एउटा पत्रकार सम्मेलनमा भनेका थिएः “मेस्सी यस्ता खेलाडी हुन् जोसँग मेरो सधैं राम्रो सम्बन्ध रहि आएको छ । मैलें कहिल्यै पनि उनलाई आफ्नो प्रतिद्वन्दिको रुपमा हेरेको छैन । उनी पनि म जस्तै आफ्नो क्लब र टोलीको लागि राम्रो गर्न प्रयासरत छन् ।”
त्यस्तै अर्को एक अन्तर्वार्ताका क्रममा रोनाल्डोले अहिले सम्म मेस्सीसँग सँगै बसेर डिनर नगरेको भए पनि एक दिन सँगै डिनर गर्ने आशा ब्यक्त गरेका थिए ।
एउटा अचम्मको कुरा त यो छ कि मेस्सीका छोरा थियागो रोनाल्डोका फ्यान हुन् भने रोनाल्डोका छोरा क्रिस्टिहानो मेस्सीका ठुला समर्थक हुन् ।
यथार्थ के हो भने मेस्सी र रोनाल्डो दुश्मनी भन्ने शब्दबाट नै निकै टाढा छन् । वास्तबमा उनीहरु मैदानको प्रतिद्वन्दीताले नै एक अर्कालाई उत्कृष्ट बनाएको छ । र दुई खेलाडीबीचको दुश्मनी उनीहरुको महत्वकांक्षाका कारण अरुहरुले बनाएका मात्रै हुन् ।
चिर प्रतिद्वन्दी युभेन्टसलाई पराजित गर्दै इन्टर मिलानले अर्को शहरी प्रतिद्वन्दी एसि मिलानसँग इटालियन सिरी आ मा शिर्ष स्थानमा अंक बराबरी गरेको छ ।
निकोलो बरेला एक गोल गर्नुका साथै अर्कोमा असिस्ट गरेपछि क्रिष्चियानो रोनाल्डोको युभेन्टस सिजनकै निर्णायक साबित हुन सक्ने खेलमा २–० ले हार्न पुग्यो । शिर्ष स्थानमा समान ४० अंक रहदा एसि मिलान गोल अन्तरको आधारमा अग्रतामा रहेको छ । यद्दपि इन्टरले एक खेल बढी खेलेको छ ।
आइतबार नै फियोरेन्टिनालाई आधा दर्जन गोल हानेको नापोली र एएस रोमाको समान ३४ अंक रहेको छ । यो सिजनको दोश्रो हार व्यहोरेको युभेन्टस ३३ अंक सहित पाचौं स्थानमा रहेको छ । लगातार ९ पटकको डिफेन्डिङ्ग च्याम्पियन युभेन्टसको ६ बराबरी पनि रहेको छ ।
सान सिरोमा आफ्नो आकर्षक खेल पस्कन असफल रहेको युभेन्टस सोमबार एसि मिलानले काग्लियारीलाई हारउने हो भने १० अंकले पछि पर्न सक्छ । उसको लागि एक मात्र सकारात्मक कुरा के हो भने युभेन्टसले एक खेल कम खेलेको छ ।
युभेन्टसलाई २०१३ देखि २०१४ सम्म लगातार तीन उपाधि जिताका हालका इन्टर प्रशिक्षक एन्टोनियो कोन्टेले आफूले सम्हालेको पुर्व क्लबबिरुद्ध पछिल्लो दुई सिजन जित निकाल्न सकेका थिएनन् । कोन्टे २०१९ मा इन्टर मिलान गएका थिए ।
पछिल्लो चार बर्षमा हराउन नसकेको प्रतिद्वन्दीबिरुद्धको लोभ लाग्दो जितले इन्टरलाई अब २०१० पछि पहिलो पटक इटालियन लिग जित्ने आशा पनि बढेको छ । इन्टरले २०१५ यता भएका ७ खेलमा युभेन्टसलाई हराउन सकेको थिएन । उसले पाँचमा हार व्यहोरेको थियो भने दुई खेलमा बराबरी गरेको थियो ।
युभेन्टसका लागि २०११–१२ देखि २०१४–१५ सम्मको सिजनमा चार उपाधि जितेका आर्टुरो भिडालले आफ्नो पुर्व क्लबबिरुद्ध बरेलाको पासमा हेडरमार्फत १२ मिनेटमै अग्रता दिलाएका थिए । दोश्रो हाफ शुरु भएको सात मिनेटपछि नै बरेलाले डिफेन्डर आलेसान्द्रो बास्टोनीको बल कलेक्ट गर्दै उत्कृष्ट दौड लगाउदै दर्शनीय गोल गरेका थिए ।
युभेन्टसका पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोले शुरुवातमै गरेको गोल अफ साइड दिन बाहेक टुरिन क्लबका लागि अन्य केही उल्लेखनीय मुभहरु थिएन । आफ्नो घरेलु मैदानमा इन्टरले रोनाल्डोलाई कुनै पनि मौका दिएको थिएन । लउटारो मार्टिनेज र रोमेलु लुकाकुले गोल गर्ने मौका नगुमाएको भए इन्टरको जित अझै फराकिलो हुने थियो ।
लियोनल मेस्सीले बार्सिलोनासँगको व्यवसायिक करिअरमै पहिलो पटक रेड कार्ड खाँदा एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।
आइतबार राति भएको फाइनलमा बिल्बाओले ३–२ को जित हात पार्यो । इनाकी विलियम्सले अतिरिक्त समयमा गोल गर्दै बिल्बाओले पुनरागमन जित हात पारेको हो । बार्साका लागि ७ सय ५३ औं खेल खेलिरहदा मेस्सीले आफूलाई मुक्त गर्ने प्रयास गरिरहदा आफ्नो नियन्त्रण गुमाइ एजियर भिलालिब्रेलाई हातले टाउकोमा हानेको देखिएको थियो ।
भिडियो असिस्टेन्ट रेफ्रिको सहयोगमा मेस्सीको फउल देखिएपछि उनलाई रेड कार्ड दिइएको थियो । तर त्यो समयसम्ममा बार्सालाई खेलमा फर्किने समय लगभग समाप्त भइसकेको थियो ।
मेस्सीले यसअघि करिअरमा दुई पटक मात्र रेड कार्ड खाएका थिए, दुवै पटक अर्जेन्टिनाको जर्सीमा खेल्दा मात्रै । २००५ मा राष्ट्रिय टोलीका लागि डेब्यु गरेको खेलमा नै उनले रेड कार्ड खाएका थिए भने अर्को रेड कार्ड २०१९ को कोपा अमेरिकामा रहेको थियो ।
आइतबारको रेड कार्डले उनलाई अलि लामो प्रतिबन्ध पनि लाग्न सक्छ ।
खेलको ४० औं मिनेटमा बार्साले एन्टोइन ग्रिजमनको गोल मार्फत अग्रता लिएको थियो तर त्यसको दुई मिनेटपछि नै ओस्कार डे मार्कोसले बराबरी गोल गरेका थिए । ७७ औं मिनेटमा ग्रिजमनले पुन बार्साको अग्रता फर्काएपनि ९० औं मिनेटमा भिलालिब्रेले खेललाई अतिरिक्त समयमा धकेलेका थिए ।
अतिरिक्त समयको तेश्रो मिनेटमै विलियम्सले गोल गरेपछि बिल्बाओले १९८५ पछि आफ्नो पहिलो उपाधि जित्न सफल भएको थियो । टिमको लागि जे गर्यो त्यो हिसाबले यो मेरो करिअरकै सबैभन्दा उत्कृष्ट गोल हो, विलियम्सले खेलपछि भने ।
बिल्बाओको यो तेश्रो सुपर कप उपधि हो । १९८४ मा पहिलो उपाधि जितेको बिल्बाओले २०१५ को फाइनलमा पनि बार्सिलोनालाई नै पराजित गरेको थियो । बार्सिलोनाले भने १५ औं सुपर कप उपाधि जित्ने मौका गुमाएको हो ।
फिटनेस समस्याका कारण फाइनल खेल्ने शंका रहदा मेस्सीलाई प्रशिक्षक रोनाल्ड कोमनले रियल सोसिडाडबिरुद्धको फाइनलमा खेलाएका थिएनन् । तर मेस्सी आइतबार उपस्थित हुदै ग्रिजमनको पहिलो गोलका लागि असिस्ट समेत गरेका थिए । यद्दपि मेस्सी आफ्नो उत्कृष्ट खेलभन्दा निकै पर रहेका थिए ।
प्रिन्स दाहाल एक दिन अघि एसियाको जुनियर बरियतामा तेश्रो बरियतामा उक्लदै नयाँ कोशेढुँगा चुमेका प्रिन्स दाहालले घरेलु ब्याडमिन्टनको ठूलो प्रतियोगितामा पहिलो पटक उपाधि जितेका छन् ।
सिल्क ग्रुपका लागि खेल्दै आएका प्रिन्सले आइतबार योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग प्रतियोगिताको उपाधी उचाले । सेमिफाईनलमा शिर्ष बरियताका रत्नजितलाई पराजित गरेका प्रिन्सले शिर्ष १६ पुरुष एकलको फाईनलमा एपिएफका दिपेश धामीमाथी २१–१८, २१–१३ को जित निकाल्दै पहिलो पटक उपाधि जित्न सफल भए ।
ब्याडमिन्टन एसिया कन्फेडेरेसनले शनिबार निकालेको बरियतामा एसियाको नम्बर तीन स्थानमा उक्लिएका प्रिन्सको लागि राष्ट्रिय स्तरमा पनि यो ठूलै उपलब्धि हो ।
आइतबार गोलबजार कभर्डहलमा भएको महिलाको शिर्ष १२ को प्रतिस्पर्धामा राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङ्गले उपाधी उचालिन । पहिलो सेटमा १८–२१ ले पछि परेकी जेसिकाले दोश्रो र तेश्रो सेट २१–१५, २२–२० ले जितेकी थिइन् ।
जेशिकाको यो पुष्पलाल मेमोरियल ब्याडमिन्टनमा दोश्रो उपाधी हो । यस अघि ईटहरीमा भएको सातौ पुष्पलाल स्मृतीमा पनि जेशिकाले उपाधी उचालेकी थिईन् ।
राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा भएको पुरुष शिर्ष १६ बरियता बाहेकको एकलको प्रतिस्पर्धामा कैलालीका देवराज रानाले बाजी मारे । उनले सेनाका दिवश शंकरलाई १५–२१, २१–१८, २१–१६ ले पराजित गर्दै उपाधी जिते । यस्तै शिर्ष १२ बरियता बाहेकको महिला एकलको उपाधि कैलालीकी प्रार्थना देउवाले जितिन् । देउवाले झापाकी अञ्जना राईलाई २१–९, २१–१३ ले पराजित गरिन् ।