Headline

सात महादेशका सात उत्कृष्ट गोलकिपरहरु

Published

on

जितको क्रेडिट धेरै जसो स्ट्राइकरहरुले लिने हुनाले फुटबलमा गोलकिपरको भुमिका गौण हुने गरेको छ । तर गोलपोस्ट सम्हाल्न निकै गाह्रो काम हो । त्यसमाथि भिडम भाड भएको अवस्थामा गोलकिपरहरुले आफ्नो एकाग्रता गुमाउने हो भने खेलको परिणाम नै उलट फेर हुन सक्छ ।

‘फस्ट लाइन अफ डिफेन्स,लास्ट लाइन अफ अट्याक’ को लामो उपनाम पाएको गोलकिपिङ पोजिसन खेल्नका लागि निकै चुनौतिपूर्ण पनि छ । २०१८ को च्याम्पियन्स लिग फाइनलमा लिभरपुलका गोलरक्षक लोरिस कारियसले गरेको गल्ती र २०१० को विश्वकपमा स्पेनका गोलरक्षक इकर कासिलासले गरेको प्रदर्शनले पनि थाहा हुन्छ कि फुटबलमा यो स्थानले कति महत्व राख्छ ।

यस्तै यो चुनौतिपूर्ण पोजिसनमा सात महादेशबाट को उत्कृष्ट होला ?

एसिया – अमिर अबिजादी

२०१८ को विश्वकप देखि केही वर्ष दक्षिण कोरिया गोलरक्षक जो हियोन वो ले एसियामा राज गरे । कोरियाको शिर्ष डिभिजनको के–लिगमा दुई सिजन लगतार उत्कृष्ट गोलरक्षक बनेका हियोन वो अहिले पनि एसियाका उत्कृष्ट गोलरक्षक होलान् तर पनि अहिले यो पद ईरानियन गोलकिपर अमिर अबिजादीलाई जान्छ । पोर्चुगिज क्लब सि एस मरिटिमोबाट प्रिमियर लिगमा खेल्ने यि गोलकिपर अहिले ईरानका पहिलो रोजाइका गोलरक्षक हुन् ।

अबिजादी इरानको राजधानी तेहेरानमा जन्मिए पनि १५ वर्षको उमेरमै अमेरिका उडेका थिए । अमेरिकामा राम्रो फुटबल खेले पछि उनी इङ्ल्याण्ड पुगे जहाँ उनले टोटनह्याम हट्स्पर र ब्रेन्टफोर्ड एफसीको युवा टोलीसँग खेल्ने मौका पाए ।

युवा एकेडेमीमा खेले पनि पहिलो टोलीको रोजाईमा नपरे पछि अबिजादी अमेरिका फर्किए । अमेरिकामा केही समय बिताएपछि पोर्चुगिज तेस्रो डिभिजनको क्लब बरोनिन्सेले उनलाई २०१६ मा अनुबन्ध गरेको थियो । जहाँ उनले राम्रो प्रदर्शन गरे र एक वर्ष पनि नबित्दै शिर्ष डिभिजनको क्लब सि एस मरिटिमो पुगे । सि एस मरिटिमोमा राम्रो प्रदर्शन गरिरहेका २७ वर्षिय अबिजादी अहिले एसियाका उत्कृष्ट गोलरक्षक हुन भन्दा फरक नपर्ला ।

अफ्रिका – अन्द्रे ओनाना

२०१९ च्याम्पियन्स लिगमा आयाक्सको गोल्डेन जेनेरेसन’ मानिएको टोलीको गोलरक्षक आन्द्रे ओनाना अहिले अफ्रिकाका उत्कृष्ट गोलरक्षक हुन । युरोपको प्रमुख लिगहरुमा अन्य गोलरक्षकहरु पनि छन् तर पनि ओनाना अहिले अफ्रिकाले पाएको राम्रो गोलरक्षक मध्येका एक हुन् । राष्ट्रिय टोलीमा क्यामरुनको गोल पोस्ट सम्हाल्ने यि ओनानाको प्रदर्शन निकै प्रशंसायोग्य पनि छ ।

आज पनि सेनेगल र यो सिजन चेल्सी पुगेका गोलरक्षक एडुवार्डो मेन्डी मात्र उनको नजिक आउन सक्ने एक मात्र गोलरक्षक हुन् । २४ वर्षमा आयक्सका लागि २ सय भन्दा बढी खेल खेलिसकेका ओनानाले क्यामरुनका लागि १८ क्याप जितेका छन् । ओनाना युवा गोलरक्षक भए पनि उनीमा उत्कृष्ट गोलरक्षकमा हुने सबै गुणहरु रहेका छन् । अफ्रिकामा ओनाना पछि अबको वर्षमा राम्रो गोलरक्षक बन्ने क्षमता भएका गोलरक्षक भने मोरोक्कोका यासिन बुनु हुन् ।

युरोप – यान ओब्लाक

एट्लेटिको म्याड्रिडको गोलपोस्ट उनले देखाएको स्थिरताका लागि ओब्लाकले यो स्थान पाएका हुन् । युरोपका मुख्य लिगहरुमा धेरै नै गोलरक्षक विश्वस्तरिय भए पनि ओब्लाक उत्कृष्टताको सहि हकदार हुन् । मानुएल नोयोर, थिबो कोर्टुवा र डेभिड डे जिया जस्ता उत्कृष्ट गोलरक्षकहरुको माझ पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका ओब्लाक निकै मेहनती गोलरक्षक हुन् ।

नोयोर आफुमा निकै प्रभावशाली गोलरक्षक भए पनि एट्लेटिकोका लागि ओब्लाकले देखाएको स्थिरता निकै प्रशंसनीय छ । स्विपिङ गोलरक्षकको पोजिसनमा नोयोर सरह शक्तिशाली नभए पनि अन्य गोलकिपिङ विधाहरुमा ओब्लाकलाई पछि पार्न सक्ने गोलरक्षकहरु कमै छन् ।

यो सिजन १२ खेलमा मात्रै ५ गोल खाएको एट्लेटिको म्याड्रिडका लागि ओब्लाक नायक पनि हुन् । स्लोभेनियाका नम्बर एक गोलरक्षक ओब्लाक निकै ’अन्डररेटेड’ भएका कारण पनि उनी अहिलेको अवस्थामा युरोपका उत्कृष्ट गोलरक्षक हुन् ।

उत्तर अमेरिका – केलोर नाभास

फुटबल त्यति लोकप्रिय नरहेको उत्तर अमेरिकामा फिफा बरियतामा तीन देश मात्र शिर्ष २० मा अटाउने गर्छन् । यस महदेशमा मेक्सिको, अमेरिका र कोस्टा रिका मात्र फुटबलका लागि लोकप्रिय मानिन्छन् । पछिल्ला बर्षहरुमा अमेरिकाले निकै राम्रा खेलाडीहरु जन्माए पनि यो सुचीका लागि उत्तर अमेरिकाका उत्कृष्ट गोलरक्षक हुन् कोस्टा रिकाका केलोर नाभास । रियल म्याड्रिड र पिएसजीबाट खेलेका नाभासले तीन च्याम्पियन्स लिग र एक ला लिगा जितेका छन् । २०१८ मा कोस्टा रिकालाई विश्वकपसम्म डोर्याउन प्रमुख भुमिका खेलेका नभास अहिले पनि विश्वस्तरीय गोलरक्षक हुन् ।

पिएसजीलाई २०२० को च्याम्पियन्स लिग फाईनल पुयाएउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका नाभास उत्तर अमेरिकाका एक मात्र उत्कृष्ट गोलरक्षक हुन् । मेक्सिकोका गुलेर्मो ओचोवा र अमेरिकाका ज्याक स्टेफान उत्तर अमेरिकामा राम्रा गोलरक्षक मानिए पनि यि दुवै गोलरक्षकले नाभासले जस्तो प्रदर्शन गर्न सकेका छैनन् ।

दक्षिण अमेरिका-एलिसन बेकर

लिभरपुलका लागि २०१९–२० सिजनमा प्रिमियर लिग र २०१८–१९ को सिजनमा च्याम्पियन्स लिग जितेका एलिसन बेकर दक्षिण अमेरिकाका उत्कृष्ट गोलरक्षक हुन् । उनले लिभरपुलको लागि देखाएको प्रदर्शनले नै उनलाई दक्षिण अमेरिकाको उत्कृष्ट गोलरक्षक बन्न मद्धत गरेको छ ।

लिभरपुल डिफेन्सिभ रुपमा जती नै राम्रो भए पनि उनी नभएको समयमा निकै अस्थित देखिन्छ । उनले खेलमा पार्ने प्रभावले लिभरपुललाई हरेक खेलमा जित निकाल्न मद्धत गर्छ ।

ब्राजिलका नम्बर एक गोलरक्षक एलिसनमा फुटबल मैदानमा हुनु पर्ने सम्पूर्ण गुण रहेको छ । ब्राजिलकै एन्डरसन पनि उत्कृष्टताको नजिक भए पनि एलिसनले जितेका उपाधिहरु हेर्दा उनी पनि निकै पछाडि देखिन्छन् । उरुग्वेका फर्नान्डो मुस्लेरा र अर्जेन्टिनाका एमिलिनो मार्टिनेज पनि दक्षिण अमेरिका उत्कृष्ट मध्येका एक हुन् ।

अष्ट्रेलिया र ओसियाना- म्याथ्यु रायन

अष्ट्रेलियामा फुटबल त्यती लोकप्रिय नभए पनि प्रिमियर लिगमा ब्राइटनमा खेल्ने म्याथ्यु रायन भने अष्ट्रेलिया र ओसियानाका उत्कृष्ट गोलरक्षक हुन् । अष्ट्रेलियाले एएफसी प्रतियोगिताहरु खेले पनि महादेशको आधारमा भने रायननै उत्कृष्ट गोलरक्षक हुन् ।

अष्ट्रेलियाका लागि लगतार आठ वर्ष नम्बर एक रोजाईका गोलरक्षक रायनलाई यो विधामा कसैले पछि पार्न सक्दैन । अन्य गोलरक्षकहरुको सेभहरु मात्रै राम्रो भए पनि रायनको पास र रिफ्लेक्सहरु उत्कृष्ट छन् । रायन प्रिमियर लिगले खेलाउने फ्यान्टासी प्रिमियर लिगमा पनि सर्वधिक छानिएका गोलरक्षक मध्येका एक हुन् ।

अन्टार्टिका-पेंग्विन

अन्टार्टिका मानव बस्ती नभएको महादेश हो । नेशनल जियोग्राफिक, डिस्कभरी, एनिमल प्लानेट जस्ता च्यानलहरुमा अन्टार्टिकाको बारेमा देखाइदा पेग्विनहरुले फुटबल खेलेको देखाइन्छ । त्यसैले यो महादेशमा सबै खेलाडी पेंग्विन मात्रै हुन् भने उत्कृष्ट गोलरक्षक पनि पेंग्विन नै ।

प्लिज डन्ट माइन्ड ! जोक न हो !

 

Click to comment

Trending