Headline

विलियम्सन र सिफर्टको शतकीय साझेदारीमा न्युजिल्याण्डलाई श्रृंखला

Published

on

मोहम्मद हफिजले करिअरकै उच्च प्रदर्शन गर्दै ५७ बलमै ९९ रन बनाएपनि न्युजिल्याण्डले पाकिस्तानमाथि दोश्रो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा ८ विकेटको सहज जित हात पारेको छ ।

ह्यामिल्टनमा पहिलो ब्याटिङ्ग गरेको पाकिस्तानको इनिङ्गस हफिजकै वरिपरि घुम्यो । उनले १० चौका र पाँच छक्काको मद्दतमा ९९ नटआउट बनाएपनि अन्य ब्याट्स्म्यानहरुले उल्लेखनीय योगदान गर्न नसक्दा पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउदै १ सय ६३ रनको सामान्य योगफल मात्र बनाउन सक्यो ।

जवाफमा टिम सिफर्ट र कप्तान केन विलियम्सनले शान्दार शतकीय साझेदारी गरेपछि न्युजिल्याण्डले १९ दशमलव दुई ओभरमा मात्र एक विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्यो । मार्टिन गप्टिल (२१) लाई ३५ रनमा गुमाएपछि सिफर्ट र विलियम्सनले दोश्रो विकेटका लागि नटआउट १ सय २९ रनको साझेदारी गरेका थिए ।

पहिलो ट्वान्टी ट्वान्टीमा पनि अद्र्धशतक बनाएका सिफर्टले ६३ बलमा ८४ रन बनाए भने विलियम्सनले ४२ बलमा ५७ रनको योगदान दिए । सिफर्टले तीन छक्का प्रहार गरे भने दुवै ब्याट्स्म्यानको इनिङ्गसमा समान ८ चौका रहेको थियो ।

यसअघि ५६ रनमा चार विकेट गुमाएको पाकिस्तानलाई सम्हाल्ने क्रममा हफिजले पाचौं विकेटका लागि खुशदील शाह (१४) सँग ६३ रनको साझेदारी गरेका थिए । टप अर्डरमा मोहम्मद रिजवानले २० बलमा २२ रन बनाएका थिए ।

म्यान अफ द म्याच टिम साउदीले न्युजिल्याण्डका लागि सर्वाधिक चार विकेट लिए । चार ओभरमा साउदीले मात्र २१ रन खर्चिएका थिए ।

Click to comment

Trending