Headline

डफीको किर्तिमानी डेब्युमा न्युजिल्याण्डको सहज जित

Published

on

जेकब डफीले डेब्युमै शान्दार प्रदर्शन गरेपछि न्युजिल्याण्डले पाकिस्तानलाई पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा पाँच विकेटले पराजित गरेको छ ।

न्युजिल्याण्डका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका दाया हाते तिब्र गतिका बलर डफिले माथिल्लो र मध्यक्रमका चार विकेट लिएपछि पाकिस्तानले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५३ रनको सामान्य योगफल बनाएको थियो । जवाफमा टिम सिफर्टले अद्र्धशतक बनाउनुका साथै मध्यक्रमका ब्याट्स्म्यानहरुले उल्लेखनीय योगदान दिएपछि न्युजिल्याण्डले १८ दशमलव पाँच ओभरमा १ सय ५६ रन बनायो ।

सिफर्टले तेश्रो विकेटका लागि ग्लेन फिलिप्स (२३) सँग ४४ र चौथो विकेटका लागि पुर्व हँगकँग खेलाडी मार्क च्यापम्यानसँग ४५ रन जोडेका थिए । सिफर्टले ४३ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५७ रन बनाए भने च्यापम्यानले २० बलमा ३४ रन बनाए । उनको इनिङ्गसमा चार चौका र एक छक्का सामेल थियो ।

जेम्स निशम (१५) र मिचेल स्यान्टनर (१२) ले एक आपसमा तीन छक्का प्रहार गर्दै न्युजिल्याण्डलाई जित दिलाएका थिए । पाकिस्तानका लागि हरिस रउफले तीन र शाहिन शाह अफ्रिदीले दुई विकेट लिएका थिए ।

यसअघि, डफिले पहिलो दुई ओभरमा तीन विकेट लिएपछि नियमित कप्तान बाबर आजमको अनुपस्थितिमा खेलेको पाकिस्तानले ३९ रनमै पाँच विकेट गुमाएको थियो । त्यसपछि शदाब खानले केही राम्रा शटहरु खेल्दै टिमलाई सम्मानजनक योगफल तर्फ धकेल्ने प्रयास गरेका थिए ।

शदाबले इमाद वसिम (१९) सँग छैटौं विकेटका लागि ४० रनको साझेदारी गरे भने सातौं विकेटका लागि फहिम असरफसँग ३५ रन जोडे । उनले ३२ बलमा तीन छक्का र दुई चौकाको मद्दतमा ४२ रन जोडे । असरफले पनि उति नै चौका र छक्का प्रहार गर्दै १८ बलमा ३१ रन बनाए ।

चार ओभरमा ३३ रन खर्चदै चार विकेट लिएका डफीको यो न्युजिल्याण्डको डेब्युमा अहिलेसम्मकै उत्कृष्ट बलिङ्ग प्रदर्शन हो । शुक्रबार स्कट कुगेलेजिनले पनि तीन विकेट लिएका थिए ।

Click to comment

Trending