Headline

कस्तो छ नेपाली क्रिकेटका लागि बिश्वकप छनोटको बाटो ?

Published

on

कोरोना भाइरसपछि बिश्वमा क्रिकेट गतिविधि ठप्प भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसि) ले बुधबार क्रिकेट बिश्वकप लिग टु अन्तर्गतका बाकी रहेका सम्पुर्ण खेल तालिका सार्वजनिक गर्यो ।

नयाँ तालिका अन्तर्गत गत फेब्रुवरीमा ओमान र अमेरिकासँग घरेलु मैदानमै त्रिदेशीय श्रंखला खेलेको नेपालले अब २०२१ मार्चमा ओमानमै अमेरिका सम्मिलित अर्को श्रंखला खेल्नेछ । कोरोनाका कारण २०२३ सम्मका लागि लिग टुका खेलहरु धकेलिएकाले २०१८ मा नेपालले पाएको चार बर्षे एकदिवसीय मान्यता अब २०२३ को बिश्वकप छनोटसम्म कायम रहनेछ ।

लिग टु नेपाल लगायत सहभागी अन्य सातै देशका लागि बिश्वकपको खुड्किलो हो । तर यस्तै खुड्किलो अन्य तीन प्रतियोगिता पनि हुन् जसका बारेमा जान्न आवश्यक छ । लिग टु मात्र नभएर क्रिकेट बिश्वकप च्यालेञ्ज लिगका १२ र टेस्ट खेल्ने १२ राष्ट्रसँगै नेदरल्याण्ड्स पनि सम्मिलित सुपर लिग आईसिसिले २०२३ एकदिवसीय बिश्वकप सम्मका लागि बनाएको एक संरचना हो ।

यही संरचना अनुरुप २०२३ को बिश्वकपका लागि जम्मा दुई टोलीले मात्र स्थान पाउने छन् । यसको मतलब २४ टोली अहिले बिश्वकपमा सहभागिताको दाबेदारीमा रहेका छन् । तर कसरी ?

कस्तो छ आईसिसिले २०२३ बिश्वकपको लागि तयार पारेको संरचना ?

सुपर लिग

आयोजकको हिसाबले भारत बाहेक अन्य कुनै पनि राष्ट्रले सन् २०२३ को बिश्वकपमा स्थान पक्का गरिसकेका छैनन् । सुपर लिगमा १२ टेस्ट राष्ट्रसँगै नेदरल्याण्ड्स पनि रहेको छ । २०१७ को वल्र्ड क्रिकेट लिग बिजेता भएको हैसियतले नेदरल्याण्ड्स सुपर लिगमा छ ।

सुपर लिग हालको लागि आईसिसिले बनाएको अनुत्रममा पहिलो श्रेणीको क्रिकेट हो भनेर बुझ्दा हुन्छ । सुपर लिगको कार्यक्रम अन्तर्गत हरेक टोलीले एक अर्कासँग तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नै पर्नेछ । यसको समाप्तिपछि पुछारको पाँच टोलीहरु २०२३ मै जुन–जुलाईमा जिम्बाब्वेमा हुने एकदिवसीय बिश्वकप छनोट खेल्नु पर्नेछ ।

सुपर लिगमा भारतसँगै अष्ट्रेलिया, इङ्गल्याण्ड, पाकिस्तान, जिम्बाब्वे, आयरल्याण्ड, बङ्गलादेश, दक्षिण अफ्रिका, नेदरल्याण्ड्स, श्रीलंका, न्युल्यिाण्ड, वेष्ट इण्डिज र अफगानिस्तान रहेका छन् । हाल अष्ट्रेलिया ४० अंकसहित शिर्ष स्थानमा रहेको छ भने बङ्गलादेश, नेदरल्याण्ड्स, श्रीलंका, न्युजिल्याण्ड, वेष्ट इण्डिज र अफगानिस्तानले यस अन्तर्गत एक खेल पनि खेलेका छैनन् ।

लिग टु

२०१८ को बिश्वकप छनोटपछि नेपाल, स्कटल्याण्ड र युएईले अर्को चार बर्षको लागि एकदिवसीय मान्यता पाउदा आईसिसिले टेस्ट नखेल्ने राष्ट्रहरुको लागि वल्र्ड क्रिकेट लिग डिभिजन क्रिकेट र वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपसँगै चार दिवसीय इन्टर कन्टिनेन्टल कप पनि रद्द गर्ने निर्णय गरिसकेको थियो ।

क्रिकेटको सर्वोच्च निकायले तीन प्रतियोगिताहरुको स्थानमा सात टिम सम्मिलित सुपर लिग र १२ टिम सम्मिलित च्यालेञ्ज लिगको अवधारणा अगाडी सारेको हो । लिग टुमा २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय पाएका तीन टोली र २०१९ को डिभिजन टुमा पहिलो चार स्थान हात पारेका नामिबिया, ओमान, अमेरिका र पपुव न्युगिनी जोडिएका हुन् । लिग टुमा हरेक राष्ट्रहरुले ३६ वटा एकदिवसीय खेलिसकेपछि पहिलो तिन स्थान हात पार्ने टोलीले बिश्वकप छनोटमा स्थान बनाउने छन् ।

लिग टुको अंक तालिकामा १६ अंकका साथ ओमान शिर्ष स्थानमा रहेको छ भने अमेरिकाको १० अंक छ । स्कटल्याण्डको ९, नामिबियाको ८, युएईको ७ र चार खेल खेलेको नेपालको चार अंक रहेको छ । पपुवा न्यु गिनीले शुरुवाती सबै ८ खेलमा पराजय व्यहोरेको छ ।

च्यालेञ्ज लिग

च्यालेञ्ज लिगलाई अहिले दुई समुहमा बिभाजन गरिएको छ । २०१८ र २०१९ सम्म भएका डिभिजन टु देखि फाइभसम्मका टोलीहरु च्यालेञ्ज लिगमा रहेका छन् ।

क्यानडा, सिँगापुर, कतार, डेनमार्क, मलेसिया र भनुवातु लिग ए मा छन् भने लिग बि मा युगान्डा, हँगकँग, इटाली, जर्सी, केन्या र बर्मुडा रहेका छन् । क्यानडा र हँगकँग २०१९ को डिभिजन टु को पुछारका दुई टोलीहरु हुन् ।

एक अर्कासँग तीन खेल गर्दै कुल १५ म्याच खेलिसके पछि दुवै समुहबाट शिर्ष स्थानमा रहने टोली बिश्वकप छनोटको प्ले अफका लागि छानिनेछन् । च्यालेञ्ज लिग ए को शिर्ष स्थानमा अहिले क्यानडा रहेको छ भने बी मा युगान्डा रहेको छ । २०२३ मै हुने ६ टिम सम्मिलित प्लेअफमा लिग टुको पुछारमा रहने चार टोलीले पनि बिश्वकप छनोटमा स्थान बनाउने अर्को मौका पाउनेछन् ।

नेपालको अवस्था कस्तो ?

नेपाली क्रिकेट अहिले टोली र प्रशासनको रुपमा पनि संक्रमणकालीन अवस्थामा रहेको छ । पारस खड्काको राजीनामापछि ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालिरहेका छन् भने यी दुई बाहेक शरद भेषावकरमात्र बाकी रहेका सबैभन्दा सिनियर खेलाडीको रुपमा रहेका छन् । भेटेरान बाया हाते स्पिनर बसन्त रेग्मी आफ्नो करिअरको अन्तिम खुड्किलोमा आइपुगेका छन् ।

बिनाद भण्डारी, सुभाष खकुरेल, करण केसी, सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिँह ऐरि म्याच एक्सपोजरको आधारमा त्यसपछिका सकृय सिनियर खेलाडी भइसेकका छन् । अधिकांश युवा क्रिकेटरहरु सामेल रहेका हालका राष्ट्रिय खेलाडीहरुको समुहलाई बलियो बनाउन निकै चुनौतिपूर्ण छ । त्यसमाथि नेपाल अहिले प्रशिक्षक विहिन नै छ ।

नेपालको लागि एक मात्र राम्रो संकेत के हो भने हाल युवा खेलाडीहरुले खेल्ने गरेको क्रिकेटको स्तर पारस, शरद, ज्ञानेन्द्र अथवा अन्य कुनै पनि सिनियर खेलाडीहरुले खेल्दै आएको भन्दा धेरै माथि छ । नेपालमै चल्दै आएका फ्रान्चाइज क्रिकेटले एउटा स्तर माथि पुर्याएको छ ।

चुनौति नेपाललाई अहिले रहेको खेलाडीको पुललाई नै छोटो अन्तरालमै मजबुत बनाउनु हो जुन कार्य निकै कठिन छ । यसको लागि नेपाली क्रिकेट सर्वोच्च निकाय नेपाल क्रिकेट संघ निकै सकृय हुन आवश्यक छ । तर क्यान अझै पनि आंशिक निलम्बनमै रहेको छ भने मैदान बाहिर उसको ठोस उपलब्धि केही पनि देखिएको छैन ।

लिग टुमा चार खेल मात्र खेलेको नेपालको लागि बाटो निकै लामो छ । अन्य टिमको तुलनामा ब्याटिङ्गमा निकै कमजोर रहदै आएको नेपालले केही सिमित खेलाडीहरुको चामत्कारिक प्रदर्शनका आधारमा मात्रै उपलब्धिहरु हात पार्दै आएको छ ।

पहिलेको तुलनामा नेपाललाई पारस, ज्ञानेन्द्र वा शरदमात्र नभएर आरिफ, रोहित कुमार पौडेल, सोमपाल, करण वा भण्डारीले खेलहरु जिताउन थालेका छन् । तर कसैको पनि प्रदर्शन एकै सरहको छैन । नेपाललाई यो समस्याबाट मुक्त गर्न जरुरी देखिन्छ ।

आईसिसिले २०२३ पछि अर्को बिश्वकपका लागि कस्तो संरचना अपनाउने हो टुँगो नभएकाले सबैभन्दा पहिले त नेपाल बिश्वकप छनोटमा पुग्ने तर्फ नै केन्द्रित हुन आवश्यक देखिन्छ ।

१० टिम सम्मिलित बिश्वकप छनोटबाट मात्र दुई टोलीले भारतको टिकट काट्ने भएकाले नेपाललाई छनोट प्रतियोगिता नै फलामको चिउरा चपाए सरह हुने देखिन्छ । त्यसैले बिश्वकपमा छनोटका लागि मात्रै छनोट हुदै नेपालले आफूलाई आईसिसिको भावी योजना भित्र अट्ने गरि आफ्नो स्थान सुरक्षित गर्ने तर्फ सोच्नु पर्नेछ ।

Click to comment

Trending