Headline

डर्टमन्डको ११ बर्ष यता कै खराब हार, लेवान्डोस्कीले बायर्नलाई जोगाए

Published

on

बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगमा ११ बर्ष यताकै खराब हार व्यहोर्दै स्टुटगार्टसँग ५–१ को लज्जास्पद पराजय भोगेको छ ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफसम्म १–१ गोलको बराबरी गरेपनि डर्टमन्डले दोश्रो हाफमा चार गोल खाएको थियो । प्रशिक्षक लुुसियन फाभ्रेले २००९ पछि घरेलु मैदानमा पाएको सबैभन्दा लज्जास्पद हार आफ्नो उपाधि लक्ष्यका लागि निकै बिध्वंसात्मक रहेको स्विकारेका छन् ।

डर्टमन्डले २००९ मा बायर्न म्युनिखसँग पनि घरेलु मैदानमा ५–१ को हार व्यहोरेको थियो । डर्टमन्ड १९ अंकका साथ पाचौं स्थानमा झरेको छ भने शनिबार नै डिफेन्डिङ्ग च्याम्पियन बायर्न बराबीमा रोकिएपनि त्यसको फाइदा उठाउन सकेन । बायर्न र आरबी लाइपजिगको समान २४ अंक रहेको छ ।

बायर लेभरकुसनको २२ र चौथो स्थानको उल्फ्सबर्गको २१ अंक रहेको छ । लेभरकुसनले आइतबारको खेलमा होफेन्हाइमलाई पराजित गर्ने हो भने उसले शिर्ष स्थानमा एक अंकको अग्रता बनाउने छ ।  “हाम्रो लागि सबै कुरा गलत हुन पुग्यो । हामीले हरेक मिनेटमा आफ्नै खुट्टामा बञ्चरोले हानिरहेका थियौं,” डर्टमन्ड डिफेन्डर म्याट हमेल्सले भने ।

स्टुटगार्टको जितमा कंगोलि सिलास वामांगिटुकाले दुई गोल गरेका थिए । आफ्ना स्टार स्ट्राइकर एर्लिङ्ग हालान्डा कम्मरको चोटका कारण जनवरीसम्म खेल्न नसक्ने हुदा डर्टमन्डले पछिल्लो दुई लिग खेलमा मात्र एक अंक बटुलेको छ ।

बायर्न अवे खेलमा युनियन बर्लिनसँग १–१ गोलको बराबरी रोकिएको थियो । बर्लिनले चौथो मिनेट मै ग्रिस्का प्रोमेलको गोलमार्फत अग्रता लिएको थियो । ६७ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्न सिजनकै पहिलो हारबाट जोगिएको थियो ।

बायर्न यसअघि पनि लाइपजिगसँग ३–३ गोलको बराबरीमा रोकिएको थियो । लेवान्डोस्कीको १० लिग खेलमा यो १३ औं गोल हो । च्याम्पियन्स लिगमा लगातार १७ खेलमा अपराजित रहेको बायर्नले यो सिजन बुन्डेसलिगामा तीन बराबरी खेलेको छ तर पराजय भने व्यहोरेको छैन ।

Click to comment

Trending