Headline

‘इक्वल पे’ ले उत्साहित महिला खेलाडीहरुलाई अब अवसरको खाँचो

Published

on

अमेरिकी महिला टोलीकी कप्तान मेगन रापिनोले पुरुष र महिला खेलाडीहरुलाई एकै सरह तलब दिनु पर्ने व्यवस्था बनाउनु पर्ने भन्दै अमेरिकी फुटबल संघलाई मुद्दा हालेकी थिइन ।

अदालतको निर्णय उनको पक्षमा नगएपनि रापिनोले महिला फुटबलमा ‘इक्वल पे’ (पुरुष समान तलब) हुनु पर्ने आवाज बुलन्द बनाएकी थिईन । उनले अमेरिकि महिला टोलीका लागि मात्रै यो मुद्दा उठाए पनि यसले विश्व खेलकुद मै हंगामा ल्याएको थियो । धेरै देशका महिला खेलाडीहरुले पुरुष सरह तलब दिन आफ्नो संघलाई जोड पनि दिए र केही सफल पनि भए ।

ब्राजिल, न्युजिल्याण्ड, नर्वे, इङ्ल्याण्ड र अष्ट्रेलिया जस्ता देशहरुले ‘इक्वल पे’ को व्यवस्था ल्याइसकेको अवस्थामा नेपाली फुटबलको प्रमुख निकाय अखिल नेपाल फुटबल संघले पनि नेपाली महिला खेलाडीहरुलाई पुरुष खेलाडी सरह तलब दिने भएको छ । यस्को मतलब नेपाली फुटबलमा तलबको हिसाबमा बल्ल लैंगिक बिभेदको अन्त्य भएको छ ।

नेपाली फुटबल ईतिहासमै मात्र नभएर सिंगो खेलकुद मै पहिलो पटक आएको यो कदम निकै प्रशंसायोग्य छ । नेपाली महिला फुटबलकी पुर्व कप्तान रेनुका नगरकोटे  पनि एन्फाले चालेको यो कदमलाई लिएर निकै साकारात्मक रहेको बताउछिन् ।

“मलाई पहिले त विश्वास नै लागेको थिएन । बढे पनि एक दुई हजार बढ्ला जस्तो लागेको थियो । दिउसो समाचार नहेरेर पनि होला एकै पटक रातमा हेर्दा त सबैले बधाई दिदै गरेको देख्दा त अचम्म नै लाग्यो । एन्फालाई यो हामीले यती सम्म गरिदिएकोमा पनि धन्यवाद दिनै पर्छ,” रेनुका भन्छिन् ।

महिला फुटबलकी स्टार खेलाडी सबित्रा भण्डारी पनि एन्फाले चालेको यो कदमले सम्पूर्ण महिला टोली खुशी भएको बताउछिन् । “जे होस हामी खुशी छौँ र यो कदम चालेकोमा एन्फालाई धन्यवाद त दिनै पर्छ,” भण्डारीले जोषिलो आवाजमा भनिन् ।

एन्फाले तलब पुरुष सरह बढाए पनि महिला राष्ट्रिय टोलीलाई पुरुष सरहको मौका र खेल समय दिएको देखिदैन । वर्षमा अन्तराष्ट्रिय प्रतियोगिता भएन भने आर्मीले आयोजना गर्ने प्रधानसेनापती कप र जिल्लाका खेलहरु खेल्न पाउने यी खेलाडीहरुले अब भने एन्फाले आयोजना गर्ने भनिएको माघ ७ बाट सुरु हुने महिला लिगबाट केही आशा भने राख्न पाउनेछन् ।

“खासमा भन्नु पर्दा तलब भनेको अहिले चित्त बुझाउने बाटो मात्र भएको छ । अवसर र खेल समयहरु हेर्दा त हामी पुरुष राष्ट्रिय टोली भन्दा त निकै पछि छौँ,” रेनुकाले भनिन् । “अहिलेको अवस्थामा त्यती सम्भव नभए पनि माघबाट लिग आयोजना हुने जस्तो कुरा रहेको छ तर पनि लिग छोटो समयको हुने वा एक चरणको मात्र हुने हो भने पनि हामीलाई यो घर बसेको समयले खेल्न निकै गार्हो हुनेछ,” उनले थपिन ।

एन्फाले कोरोना भाईरस पछि पुरुष राष्ट्रिय टोलीलाई मैदान फर्काए पनि महिला खेलाडीलाई भने घरमै राखेको भन्दै आलोचना पनि भएका छन् ।

“पुरुष प्रधान देश भएकाले पनि होला हामी यही तलब बढेकोमा मात्रै खुशी भएका छौँ तर अवसरको कुरा गर्ने हो भने आठ महिनाको लकडाउन हुँदा सम्म न हामीले अभ्यास गर्न पायौँ न त क्लोज क्याम्पमा नै राखियो,” सावित्रा भन्छिन ।

रेनुका पनि यो बिषयमा सहमत छिन्: “एन्फाले हामीलाइ पुरा लकडाउन भरि के कस्तो पनि सोधेको थिएन । हामी सधै बाहिर जस्तो यहाँ छैन भन्दै सोचेर बस्छौ तर बहिर जस्तो बनाउन खोज्दैनौँ । अहिले तलब बढाएको कुराले मनोबल बढेको छ अझै केही राम्रो कामहरु होस् भन्ने अपेक्षा राखौ ।”

अघिल्लो वर्ष मसिंरमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) र आर्मीले आयोजना गरेको प्रधानसेनापति कप खेले पछि नेपाली महिला खेलाडी प्रतियोगिता विहिन रहँदै आएका छन् तर एन्फाले आउने माघ ७ देखी राष्ट्रिय महिला लिग गराउन तयारी गरिरहेको छ  । यदि  महिला लिग माघमै सुरु हुने हो भने नेपालमा कोरोना महामारी पछि सुरु हुने पहिलो प्रतियोगिता महिला लिग नै हुने छ ।

Click to comment

Trending