Headline

कालिनको राजीनामा पछि बिचमै रोक्किएको परिवर्तनको प्रकृया

Published

on

नेपाली राष्ट्रिय टोलीले २०१९ को मार्च २१ मा कुवेतबिरुद्ध आफ्नो बर्षको पहिलो खेल खेल्यो । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकको रुपमा योहान कालिनका लागि पनि त्यो पहिलो खेल नै थियो ।

कालिन प्रशिक्षक रहदा नेपालले ११ अन्तर्राष्ट्रिय खेल खेल्यो जसमा चाइनिज ताइपेइबिरुद्धको एक मात्र सफल परिणाम थियो । तर यो नै उनको कार्यकालको पूर्ण समिक्षा होइन ।

कालिनका लागि नेपाली फुटबल नौलो थिएन । २०१३–२०१४ को शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबलाई दोस्रो सम्म बनाएका कालिनलाई नेपाली फुटबल प्रदर्शन र घरेलु संरचनाका आधारमा कुन स्तरमा छ कसैले सुझाइ राख्नु पर्दैन थियो । दुई बर्षअघि बङ्गलादेशमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्ससँग भोगेको ३–० को हारपछि नेपाली फुटबल कता मोडिने हो यसको टुङ्गो थिएन ।

२०१६ मा बङ्गबन्धु गोल्डकप, दक्षिण एसियाली खेलकुदको स्वर्ण र एएफसी सोलिड्यारीटी कपको उपाधि जितेपछि समर्थकहरुमा नेपाली टोलीलाई लिएर उत्साह सँगै अपेक्षा पनि उत्तिकै थियो । त्यही अपेक्षाको बोझलाई हलुका बनाउन कर्मा छिरिङ्ग शेर्पाको नयाँ नेतृत्वले कालिनलाई टोलीको जिम्मेवारी सुम्पियो ।

बलियो टोली कुवेतसँग भएको मैत्रिपूर्ण खेलमा नेपालले गोलरहित बराबरी खेल्यो । कुवेतमै भएको खेलमा नेपालले बलियो घरेलु टोलीलाई रोक्नु ठूलै उपलब्धि थियो । उनको शुरुवात एक हिसाबले उत्कृष्ट नै रह्यो । यो परिणाम कालिन आफ्नै लागि पनि खेलाडीको स्तर मापन गर्ने राम्रो माध्य बन्यो ।

अधिकांश नयाँ तथा युवा खेलाडी उतारिएको खेलमा नेपालले प्रशंसा त बटुल्यो नै, कालिनबाट भने थप अपेक्षा गरियो । कुवेतलाई बराबरीमा रोकेको नेपाली टोली ३ महिना पछि मलेशियासँग भने २–० ले पराजित हुन पुग्यो । नेपालमा लिग नभएको अवस्थामा कालिन आफै मोफसलमा भएका बिभिन्न प्रतियोगितामा गएर खेलाडीको छनोट गरेका थिए ।

कालिनले खेलाडी बिकासका लागि मैत्रीपूर्ण खेल खेलाउनु पर्ने दबाब दिदा एन्फाले चाइनिज ताइपेईविरुद्ध एक खेलको प्रबन्ध गर्यो । विश्वकप र एसियन कप छनोट आउनु अघिको खेलमा नेपालले १–१ को बराबरी खेलेको थियो । विश्वकप छनोटमा सिधै दोश्रो चरणमा स्थान बनाएको नेपाली टोलीले आफ्नो पहिलो खेल कुवेत सँग खेल्दै थियो ।

पहिले पनि कुवेतलाई बराबरीमा रोकेको नेपालले कम्तिमा पनि बराबरी गर्ने आशा गरिएको थियो तर नेपालको प्रदर्शन बिर्सनलायक रह्यो । कालिनले पहिलो पटक नेपाली टोलीको प्रशिक्षक रहदाको दवाब बुझे । नेपालले ७ गोल खायो र कालिनले भनेः “हामीले धेरै मेहेनत गर्नु पर्ने देखिन्छ । रोक्नुपर्ने गोलहरु रोक्न सकेनौँ । अब राम्रो तयारी गर्नुपर्ने आवश्यकता छ ।”

विश्वकप छनोटकै अर्को खेलमा नेपालले चाइनिज ताइपेइलाई २–० ले हरायो । कुवेतसँगको फराकिलो हारले लागेको चोटमा केही मलम त लाग्यो तर नेपालको लागि अगाडी चुनौतिको चाँग थियो ।

नेपालको अर्को प्रतिद्वन्दी थियो बिश्वकपको स्थानका लागि दावेदार अष्ट्रेलिया । कुवेतसँग फराकिलो अन्तरले पराजित नेपालले गोलको भारी बोकेर फर्किने अपेक्षा गरिएपनि मेलबर्नमा पाँच गोल मात्रै खाएर फर्कियो । नेपालले विश्वकप छनौटका दौरान खेलेको सबैभन्दा राम्रो खेल त्यही देखिन्थ्यो । रक्षात्मक खेल खेलाएका कालिनलाई त्यो परिणाम स्विकार्य थियो ।

“खेल हारे पनि म खेलाडीहरु देखी खुशी छु । उनीहरुले देखाएको प्रदर्शनलाई सम्मान गर्छु,” कालिनले खेल पछी भनेका थिए । पाँच दिन पछि नै जोर्डन पुगेको नेपालले ३–० को पराजय बेहोर्यो । यसअघि ९ गोल खाएको जोर्डनलाई ३ गोलमा रोकेको कारणले नै नेपाली टोली आलोचनाबाट बचेको थियो ।

कुवेतसँग दोश्रो लेगको खेल खेल्नका लागि भुटान जानु अघि उनले केही कठिन निर्णय पनि लिए । एक दिन अघि नाइट क्लब चाहारेको भन्दै कालिनले बिमल घर्ती मगर, अञ्जन बिष्ट, दिनेश राजबंशी र सन्तोष तामाङलाई टिमबाट निकालिदिए ।

यसअघि पनि सिनियर खेलाडीहरुलाई टिममा नराख्ने निर्णय गरेका कालिनले नेपालमा रहदा आफूले के गर्न चाहेको स्पष्ट पारेका थिए । उनी नेपाली टोलीलाई राम्रो बनाउन कुनै पनि मुल्य चुकाउन तयार थिए ।

राष्ट्रिय टोलीमा रक्षात्मक खेलदेखि बिपरित पोस्टमा दवाब कायम गरेर खेल्नै शैलिको प्रयास उनले टिममा ल्याएको सानै भए पनि महसूस गर्न मिल्ने परिवर्तन थियो । नेपालले विश्वकप छनोटको दोस्रो चरणको खेल खेल्नु अघि म्यानमारसँग मैत्रिपूर्ण खेल पनि खेल्यो । त्यसमा पनि हारको सामना गर्यो ।

आफू भन्दा माथिल्लो स्तरको टोलीसँग खेल्न गाह्रो त हुन्छ नै तर नेपालले कालिन रहदा गोल गर्न भने सकेन । भुटानमा कुवेतबिरुद्ध एस्ट्रो टर्फमा नेपालले पासिङ र आक्रमक शैलीमा खेल्न सफल भएको थियो । पहिलो लेगमा सात गोल खाएको नेपालले दोश्रोमा मात्र एक गोल खायो ।

कोरोना भाइरसको चपेटामा बिश्व नै परेपछि नेपालले खेल्ने अष्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनबिरुद्धका घरेलु खेलहरु स्थगित हुदा कालिनले नेपाली फुटबलमा थप केहि गर्न पाएनन् ।

हाल स्विडेनमा रहेका कालिनले उतैबाट राजीनामा दिएका छन् । शायद कालिनले नेपालको विश्वकपको सबै खेलहरु सक्कएको भए केही निष्कर्ष निस्कने थिए । यो यस्तो कार्यकाल थियो जहाँ प्रयोग प्रशस्त भए, परिणाम थोरै निस्किए र परिवर्तनको प्रकृया बिचमै रोकियो ।

एन्फाले अब नयाँ प्रशिक्षक नियूक्त गर्दै त्यो प्रकृयालाई निरन्तरता दिनेतर्फ सोच्नु पर्नेछ ।

तस्बिर: विवेक सुवेदी / एन्फा 

Click to comment

Trending