Headline

म्याच फिक्सिङ्ग काण्डदेखि बालोन डि ओरः इटाली लेजेण्ड पाओलो रोस्सीको उतारचढावपूर्ण जीवन

Published

on

पहिले डिएगो म्याराडोना, त्यसपछि अर्जेन्टिनालाई २०१४ को बिश्वकप फाइनल पुर्याउने प्रशिक्षक आलेहान्द्रो साबेला र अहिले इटालीका बिश्वकप बिजेता लेजेण्ड फुटबलर पाओलो रोस्सी । बिश्वले एक महिनाको अन्तरमै फुटबलका तीन ठूला नाम गुमाएको छ ।

इटालीलाई १९८२ को बिश्वकप जिताउने रोस्सीको बुधबार राति निधन भयो । ६६ बर्षिय रोस्सी इटालीका सर्वकालीन महान फुटबलरमा गनिन्छन् ।

कस्तो थियो त रोस्सीको उतारचढावपूर्ण फुटबल करिअर ?

अशुभ शुरुवात

रोस्सीले १९७३ मा युभेन्टसबाट व्यवसायिक करिअरको डेब्यु गरे तर उनको शुरुवाती बर्षहरु चोटले बिथोलियो । उनलाई घुँडामा तीन वटा अपरेशन गर्नु परेको थियो । कोमोमा एक सिजन बिताएपछि दोश्रो डिभिजनको टोली भिसेन्जामा १९७६–७७ को सिजनमा उनी राइट विङ्गबाट सेन्टर फर्वार्डको रुपमा खेल्न थाले । यो यति फलदायी रह्यो की रोस्सी त्यो सिजनको सिरी बी को सर्वाधिक स्कोरर बन्दै क्लबलाई माथिल्लो श्रेणीमा पुर्याउन सफल भए ।

अर्को सिजन उनी सिरी आ को पनि सर्वाधिक गोलकर्ता बनेपछि प्रशिक्षक एन्जो बेर्जोटले उनलाई इटालीको १९७८ बिश्वकप टोलीमा समावेश गरे । अर्जेन्टिनामा सम्पन्न बिश्वकप रोस्सीका लागि राम्रो रह्यो । उनले प्रतियोगितामा तीन गोल गरे भने इटाली चौथो भयो ।

टोटोनेरो काण्ड

बिश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपनि रोस्सीलाई फेरि चोटको समस्याले सतायो । अर्को सिजन भिसेन्जो रेलिगेट भएपछि क्लबले उनका स्टार खेलाडीलाई अर्को सिरी आ टोली पेरुजियामा लोनमा पठायो । पेरुजीया बसाई उनको करिअरको लागि अभिशाप बन्न पुग्यो र यसको कारण थियो उनी टोटोनेरो म्याच फिक्सिङ्ग काण्डमा मुछिनु । उनलाई शुरुवातमा तीन बर्षको प्रतिबन्ध लगायो तर लगातार आफू निर्दोष रहेको दाबी गर्दै आउदा त्यसलाई दुई बर्षमा झारियो ।

प्रतिबन्धित रोस्सीले १९८० को युरो कप गुमाउन पुग्दा इटाली चौथो भएको थियो । तर अर्को सिजनको अन्त्यमा उनलाई युभेन्टसले फेरि क्लबमा भित्र्यायो र १९८१–८२ सिजनको सिरी आ उपाधि बिजेता टोलीको उनी हिस्सा बने भने १९८२ को बिश्वप टोलीमा पनि उनी छनोट भए ।

बिश्वकप उन्माद

आफ्नो लयमा नरहदा रोस्सी र इटालीले १९८२ को बिश्वकपमा निकै सुस्त शुरुवात गर्दै समुह चरणमा लगातार तीन बराबरी खेल्यो । अन्तिम १६ मा अर्जेन्टिनालाई २–१ ले पराजित गरे लगत्तै रोस्सीका लागि उनको करिअरकै सबैभन्दा सम्झनलायक तीन खेल आए । क्वार्टर–फाइनलमा स्टारहरुले भरिएको ब्राजिल टोलीबिरुद्ध ३–२ को जित हात पार्दा रोस्सीले ह्याट्रिक नै गरिदिए ।

सेमिफाइनलमा पोल्याण्डलाई २–० ले पराजित गर्दा पनि इटालीको दुवै गोल रोस्सीकै नाममा थियो भने फाइनलमा वेष्ट जर्मनीलाई ३–१ ले हराउदा पहिलो गोल उनले नै गरेका थिए । ३० दशकपछि पहिलो र इटालीको फुटबल इतिहासको तेश्रो बिश्वकक रोस्सीकै नाममा रह्यो । प्रतियोगितामा ६ गोल गरेका रोस्सीले गोल्डेन बुट, उत्कृष्ट खेलाडीले पाउने गोल्डेन बल र बर्षको बालोन डि ओर पनि जिते ।

हेजेल त्रासदी

बिश्वकपछि रोस्सीले मिचेल प्लाटिनी र बिग्निउ बोनिएकसँग साझेदारी गर्दै युभेन्टसमा अर्को उत्कृष्ट सिजन बिताए । यी तीन खेलाडी चम्किएपछि युभेन्टसले १९८३ को कोपा इटालिया, १९८३–८४ सिजनको इटालियन सिरी आ, युएफा विनर्स कप र १९८४ को युएफा सुपर कप जित्यो । रोस्सीले नै ६ गोल गर्दा युभेन्टस १९८३ को युरोपियन कपको फाइनल पुग्यो तर उपाधिका लागि भएको खेलमा उ जर्मन टोली ह्यामबर्गसँग हार्न पुग्यो ।

रोस्सीको युभेन्टसका लागि अन्तिम खेल भने फुटबल इतिहासकै त्रासदीपूर्ण घटनाले अमिलो बनायो । बेल्जियमको हेजेल रँगशालामा सम्पन्न १९८५ युरोपियन कप फाइनलमा लिभरपुलबिरुद्ध भिडिरहदा दर्शकहरुको तछाड–मछाडले वाल भत्किदा भागदौड मच्चिएपछि ३९ समर्थकहरुले आफ्नो ज्यान गुमाएका थिए । युभेन्टसले १–० ले फाइनल जित्दै पहिलो पटक युरोपियन कपको उपाधि जितेको थियो । रोस्सीले त्यसपछि एक–एक सिजन एसि मिलान र हेलास भेरोनामा बिताउदै १९८७ मा फुटबलबाट सन्यास लिए ।

Click to comment

Trending