Headline

नेमारको लोभलाग्दो खेल

Published

on

ब्राजिलियन स्टार स्ट्राइकर नेमारले आफ्नो उत्कृष्ट प्रदर्शन दिएपछि पेरिस सेन्ट जर्माइनले बुधबारका लागि स्थगित भएको इस्तानबुल बसकसेहिरबिरुद्धको खेलमा ५–१ को जित हात पारेको छ ।

अघिल्लो संस्करणको सेमिफाइनलिस्ट आरबी लाइपजिग र म्यानचेस्टर युनाइटेड रहेको कठिन समुह एचमा नेमार टोलीलाई प्रि–क्वार्टरफाइनल तर्फ डोर्याउन दृढ देखिन्थे । उनले ह्याट्रिक गर्नुका साथै फ्रेञ्च स्टार किलियन एमबाप्पेले अर्को दुई गोल गरेपछि पिएसजीले उत्कृष्ट जित हात पार्यो ।

पिएसजी र आरबी लाइपजिगको समान १२ अंक रुह्यो भने फ्रेञ्च लिग वान डिफेन्डिङ्ग च्याम्पियन गोल अन्तरको आधारमा समुह बिजेता बन्यो । मङ्गलवार सहायक रेफ्रिले इस्तानबुलका सहायक प्रशिक्षक पिएरे वेबोलाई रँगभेद टिप्पणी गरेपछि १५ औं मिनेटमा स्थगित भएको थियो ।

बुधबार त्यही समयबाट खेल सुचारु गर्नुअघि सबै खेलाडीसँगै तीन रेफ्रिहरुले पनि रँगभेदबिरुद्ध घुँडा भुइमा राखेर ऐक्यबद्धता जनाएका थिए ।

तर नेमारको प्रदर्शन रँगभेदको घटनालाई नै बिर्साउने किसिमको थियो । इस्तानबुल डिफेन्डर पोंकलाई नटमेग गर्दै लगेको बलमा गोल गरेपछि नेमारले पिएसजीलाई २१ औं मिनेटमा अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा काउन्टर अट्याकमा नेमारको प्रहारमा इस्तानबुल गोलकिपर गुनोकको हात पुगेपनि गोल हुनबाट बचाउन भने सकेनन् ।

दोश्रो हाफमा एन्जल डि मारियासँग वान टु पास खेल्दै बक्स बाहिरबाट गरेको प्रहार दर्शनीय गोलमा परिणत भएको थियो । उनको ह्याट्रिक गोल पहिलो गोलको कार्बन कपी जस्तै थियो । एमबाप्पेले ६२ औ मिनेटमा आफ्नो दोश्रो गोल गर्दा नेमारले नै पेनाल्टी जितेका थिए ।

बुधबार ह्याट्रिक पुरा गर्दा नेमार च्याम्पियन्स लिग इतिहासमा दुई फरक क्लबका लागि २० भन्दा बढी गोल गर्ने एक मात्र खेलाडी पनि बनेका छन् । उनले यसअघि बार्सिलोनाका लागि २० भन्दा बढी च्याम्पियन्स लिग गोल गरेका थिए ।

Click to comment

Trending