Headline

बिग ब्यास लिगमा बनेका १० किर्तिमान

Published

on

अष्ट्रेलियन बिग ब्यास लिग फ्रान्चाइज ट्वान्टी ट्वान्टी क्रिकेटमा आईपिएलपछि दोश्रो सर्वाधिक लोकप्रिय प्रतियोगिता पर्ने गर्दछ । यो सिजनको बिग ब्यास लिग डिसेम्बर १० देखि शुरु हुदैछ । होबार्टको बेलेरिभ ओभलमा हुने उद्घाटन खेलमा डिफेन्डिङ्ग च्याम्पियन सिड्नी सिक्सर्सले घरेलु टोली होबार्ट हुरिकेन्सको सामना गर्नेछ ।
पर्थ स्कोर्चर्स बिग ब्यास लिगको सबैभन्दा सफल टोली हो । तीन पटक उपाधि जितेको पर्थले पाँच वटा फाइनल खेलिसकेको छ ।

यस बाहेक बिग ब्यास लिगमा बनेका किर्तिमानहरु के के छन् त ?

सबैभन्दा बढी रन

ब्रिसबेन हिटका कप्तान तथा आक्रमक ब्याट्स्म्यान क्रिस लिनले बिग ब्यासमा सबैभन्दा बढी रन बनाउने किर्तिमान कायम गरेका छन् । शुरुवात देखि नै ब्रिसबेनका लागि खेलेका लिनले ७७ खेलमा २३ सय ३२ रन बनाएका छन् । १ सय ५० दशमलव ३५ को स्ट्राइक रेट रहेका लिनको नाममा एक शतक र १८ अद्र्धशतक रहेको छ ।
अष्ट्रेलियाका वर्तमान कप्तान आरोन फिन्च यो सुचीमा दोश्रो स्थानमा रहेका छन् । मेलबर्न रेनेगेड्सका लागि खेल्दै उनले २२ सय ५२ रन बनाएका छन् ।

सबैभन्दा बढी विकेट

भेटेरान पेस बलर बेन लफ्लिनले ८८ खेलमा १ सय १० विकेट लिदै यो किर्तिमान कायम गरेका छन् । लफ्लिनले एडिलेड स्ट्राइकर्स, ब्रिसबेन र होबार्टका लागि खेलिसकेका छन् । उनी लगातार दुई सिजन ब्रिसबेनका लागि खेल्ने छन् ।

उनको सबैभन्दा उत्कृष्ट बलिङ्ग प्रदर्शन २०१७–१८ को संस्करणमा २६ रनमा चार विकेट रहेको छ । यो लफ्लिनले एडिलेडका लागि बनाएको किर्तिमान हो । सिड्नी सिक्सर्स र सिड्नी थन्डरका लागि खेलिसकेका सन अबोट यो सुचिमा दोश्रो स्थानमा रहेका छन् । उनले ७७ खेलबाट ९९ विकेट लिएका छन् ।

सर्वाधिक व्यक्तिगत योगफल

वर्तमान बिश्व क्रिकेटका उत्कृष्ट अलराउण्डरमध्येका एक मार्कस स्टोइनिसले बिग ब्यासको एकै खेलमा सबैभन्दा बढी रन बनाउने किर्तिमान आफ्नो नाममा लेखाएका छन् । गत सिजन सिड्नी सिक्सर्सबिरुद्धको खेलमा ओपनिङ्ग ब्याटिङ्ग गर्दै स्टोइनिसले ७९ बलमा १ सय ४७ रन बनाएका थिए ।

यस क्रममा उनले ८ छक्का र १३ चौका प्रहार गरेका थिए । स्टोइनिसले डार्सि शर्टको १ सय २२ रनको किर्तिमानलाई छायामा पारेका थिए । शर्टले होबार्टका लागि खेल्दै ब्रिस्बेनबिरुद्ध उक्त किर्तिमान बनाएका थिए ।

उत्कृष्ट व्यक्तिगत बलिङ्ग

लसिथ मालिङ्गाले बिग ब्यासको अहिलेसम्मकै उत्कृष्ट बलिङ्ग प्रदर्शन गरेका छन् । २०१२–१३ को सिजनमा मेलबर्न स्टार्सका लागि खेल्दै मालिङ्गाले मात्र ७ रन खर्चदै ६ विकेट लिएका थिए । पर्थ स्कोर्चर्सबिरुद्धको खेलमा मालिङ्गाले पेभिलियन फर्काएका ब्याट्स्म्यानहरुमा स्टोइनिस, मार्कस नर्थ र हिल्टन कार्टराइट पनि रहेका थिए ।
मालिङ्गाको उत्कृष्ट बलिङ्गमा पर्थ ६९ रनमै अल आउट भएको थियो । बर्षाले खेल बिथोलिन पुग्दा मेलबर्नले डकवर्थ लेविस नियम अनुसार २४ रनले खेल जितेको थियो ।

सबैभन्दा बढी पाँच विकेटको प्रदर्शन

ड्यनियल क्रिष्चियनले बिग ब्यास इतिहासमा सबैभन्दा बढी पाँच विकेट लिएका छन् । ब्रिसबेन र होबार्टका लागि खेल्दै उनले दुई पटको यो उपलब्धि हात पारेका थिए । २०१२–१३ को सिजनमा उनले ब्रिस्बेनका लागि खेल्दै सिड्नी थन्डर बिरुद्ध २६ रन खर्चदै पाँच विकेट लिएका थिए भने २०१६–१७ संस्करणमा उनले होबार्टका लागि एडिलेडबिरुद्ध १४ रन दिदै दोश्रो पटक यो प्रदर्शन गरेका थिए ।

सबैभन्दा बढी ५० माथिको स्कोर

मेलबर्न रेनेगेड्स कप्तान आरोन फिन्चले सबैभन्दा बढी ५० रन भन्दा बढी रनको इनिङ्गस बिग ब्यासमा खेलेका छन् । ६३ खेलमा फिन्चले २० पटक ५० वा त्यो भन्दा बढी रनको इनिङ्गस खेलेका छन् । उनले १८ पटक अद्र्धशतक बनाएका छन् भने दुईवटा शतक पनि प्रहार गरेका छन् ।

सबैभन्दा बढी छक्का

बिग ब्यास लिगका सर्वाधिक स्कोरर लिनको नाममा नै सबैभन्दा बढी छक्का प्रहार गरेको किर्तिमान रहेको छ । उनले १ सय ४६ पटक छक्का प्रहार गरेका छन् । दोश्रो स्थानमा रहेका फिन्च लिनभन्दा ६३ छक्काले पछाडी छन् ।

सबैभन्दा बढी शतक

बिग ब्यासमा अहिलेसम्म एक जना ब्याट्स्म्यानले दुई भन्दा बढी शतक प्रहार गर्न सकेका छैनन् र हालसम्म पाँच जनाको नाममा यो किर्तिमान रहेको छ । न्युक राइट (मेलबर्न स्टार्स), क्रेग सिमन्स (पर्थ स्कोर्चर्स), आरोन फिन्च (मेलबर्न रेनेगेड्स), उस्मान खवाजा (सिड्नी थन्डर) र डार्सि शर्ट (होबार्ट हुरिकेन्स) को नाममा यो किर्तिमान रहेको छ ।

एकै सिजन सबैभन्दा बढी रन
मेलबर्न स्टार्सका अलराउण्डर मार्कस स्टोइनिसले एकै सिजन सबैभन्दा बढी रन बनाउने ब्याट्स्म्यानको किर्तिमान कायम गरेका छन् । उनले गत सिजन १७ खेलमा ७ सय ५ रन बनाएका थिए । उनले एक शतक र पाँच अद्र्धशतक पनि पुरा गरेका थिए ।

एकै सिजन सबैभन्दा बढी विकेट

ड्यानियल स्याम्सले एकै सिजन सबैभन्दा बढी विकेट लिने किर्तिमानमा आफ्नो नाम लेखाएका छन् । गत सिजन सिड्नी थन्डरका लागि खेल्दै उनले १७ म्याचबाट ३० विकेट लिएका थिए ।

Click to comment

Trending