Headline

लिड्सलाई हराउदै चेल्सी शिर्ष स्थानमा, युनाइटेडको वेष्ट ह्याम माथि उत्कृष्ट पुनरागमन

Published

on

लिड्स युनाइटेडलाई ३-१ ले हराउदै चेल्सी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

चेल्सीको जितमा ओलिभर जिरुड,कर्ट जोउमा र क्रिष्चियन पुलिसिचले गोल गरेका थिए । लिड्सका लागि भने प्याट्रिक बामफोर्डले एक गोल गरेका थिए ।

खेलमा पहिलो गोल लिड्सले गरेको थियो । खेलको चौथोँ मिनेटमै लिड्सले प्याट्रिक बामफोर्डको गोलमा अग्रता लिएको थियो । केल्भिन फिलिप्सले दिएको थ्रु पासलाई सदुपयोग गर्दै बामफोर्डले लिड्सलाई १-० को अग्रता दिलाएका थिए । गोल खाए पछि लगातार आक्रमण गरेको चेल्सीले त्यसको पाँच मिनेट पछि राम्रो मौका गुमाउन पुग्यो । मेसन माउण्टले प्रहर गरेको क्रसलाई टिमो वर्नरले गोललाइनबाटै पनि गोल गर्न सकेनन् । एक गोलले पछि परेको स्थितीमा पनि राम्रो मुभ बनाएको चेल्सीले २७ औँ मिनेटमा बराबरी गोल फर्काएको थियो । चेल्सीका लागि रिएस जेम्सको क्रसमा ओलिभर गिरुडले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ १-१ को बराबरीमा सक्किएको खेलमा दोस्रो हाफमा भने लिड्स माथि चेल्सी भारी बन्न पुग्यो । चेल्सीले ६१ औँ मिनेटमा दोस्रो गोल गर्दै खेलमा २-१ को अग्रता लिना सफल भएको थियो । मेसन माउण्टको क्रसमा कर्ट जोउमाले सिधै हेडेइङ गोल गरेका थिए । दोस्रो हाफमा लगतार मुभ बनाएको चेल्सीका लागि टिमो वर्नरले सोचे अनुरुप प्रदर्शन गर्न नसके पनि ९० मिनेट पछि थपिएको इन्जुरी टाइममा भने वर्नरको पासमा क्रिष्चियन पुलिसिचले गोल गर्दै चेल्सीलाई ३-१ को जित दिलाएका थिए ।

अर्को खेलमा भने म्यानचेस्टर युनाइटेडले १-० ले पछि परेको स्थितीलाई उल्टाउदै वेष्ट ह्याम माथि ३-१ को जित हात पारेको छ ।

वेष्ट ह्यामका लागि टोमस सुचेकले एक गोल गरेका थिए भने युनाइटेडले दोस्रो हाफमा तीन गोल फर्काएको थियो । युनाइटेडका लागि पाउल पोग्बा,म्यासन ग्रिनवुड र मर्कस रासफर्डले गोल गरेका थिए ।

खेलमा पहिलो गोल पहिलो हाफको ३८ औँ मिनेटमा वेष्ट ह्यामले गरेको थियो । कर्नरबाट आएको बललाई डेक्लेन राइसले टाउकोले हल्का फ्लिक गर्दिए पछि मिलेको पासलाई सुचेकले गोल गरेका थिए । खेलमा पहिले १५ औँ मिनेटमा पनि राम्रो गोल गर्ने मौका गुमाएको वेष्ट ह्यामले पहिलो हाफमा राम्रो प्रदर्शन गरेको थियो ।

तर वेष्ट ह्यामका लागि दोस्रो हाफ भने त्यती राम्रो रहेन । दोस्रो हाफमा वेष्ट ह्यामले आफ्नै गल्तीका कारण तीन गोल खान पुगेको थियो । दोस्रो हाफ सुरु हुने समयमा पहिलो हाफमा बेन्चमा बसेका ब्रुनो फर्नानडेज मैदानमा उत्रिए पछि युनाइटेडको खेल नै पुरै परिवर्तन भएको थियो । युनाइटेडले ६५ औँ मिनेटमा बराबरी गोल गरेको थियो । उनले ब्रुनो फर्नानडेजको पासमा गरेको प्रहारलाई रोक्ने वेष्ट ह्यामका गोलरक्षक फाबियान्स्कीले कुनै मौका नै पाएनन् ।

त्यको तीन मिनेट पनि बित्न नपाउदै युनाइटेडले फेरी अर्को गोल गर्‍यो । यो पटक भने युनाइटेडका लागि म्यासन ग्रिनवुडले गोल गरेका थिए । युनाइटेडले तेस्रो तथा बिजयी गोल भने ७८ औँ मिनेटमा गरेको थियो । युनाइटेडका लागि मार्कस रासफोर्डले गरेको प्रहार गोलमा प्ररिणत हुँदा युनाइटेडले लगातर पाँच अवे खेलमा जित निकाल्न सफल भएको हो ।

यस्तै अन्य खेलहरुमा बर्नली र एवर्टनले १-१ को बराबरी खेलेका छन् भने म्यानचेस्टर सिटीले फुलह्यामलाई २-० ले हराएको छ ।

खेलहरुसँगै २२ अंकका साथ चेल्सी शिर्ष स्थानमा रहेको छ भने एक खेल काम खेलेका टोटनह्याम र लिभरपुल दोस्रो र तेस्रो स्थानमा रहेका छन् । युनाइटेड वेष्ट ह्यामलाई हराउदै चौँथो स्थानमा उक्लिएको छ ।

Click to comment

Trending