Headline

प्रशिक्षकहरुलाई बर्खास्त गर्नमा पनि बिश्व च्याम्पियन ब्राजिल

Published

on

कोरोना भाइरसको महामारीका कारण ब्राजिलमा बेरोजगारी दर ह्वात्तै बढेको छ । तर पाँच पटकको बिश्वकप बिजेता ब्राजिलले अर्को एउटा किर्तिमान पनि कायम गरेको छ – सबैभन्दा बढी प्रशिक्षकहरुलाई बर्खास्त गर्ने ।

ब्राजिलको प्रथम श्रेणी फुटबलमा अहिले निरन्तर प्रशिक्षकहरु चार म्याचको खराब नतिजापछि नै बर्खास्त हुन थालेका छन् । यो बर्ष ब्राजिलमा सबैभन्दा धेरै प्रशिक्षकहरु बर्खास्त भएका छन् । सिजनको २३ औं चरणको खेलहरु चलिरहदा २२ प्रशिक्षकहरुले आफ्नो जागिर गुमाइसकेका छन् ।

प्रशिक्षकलाई बर्खास्त गर्ने दौडमा अंक तालिकाको पुछारतिर रहेका क्लबहरु मात्र छैनन् । तीन हप्ता अघि ब्राजिलियन प्रथम श्रेणी बिजेता र दक्षिण अमेरिकी क्लब फुटबल च्याम्पियन फ्लेमिङ्गोले पनि आफ्ना प्रशिक्षक डोमेनेक टोरेन्टलाई बर्खास्त गर्यो ।

म्यानचेस्टर सिटी व्यवस्थापक पेप ग्वार्डियोलासँग लामो समयका लागि सहायकको रुपमा काम गरेका टोरेन्टले क्लब सम्हालेको जम्मा तीन महिना भएको थियो । फ्लेमिङ्गो ब्राजिलियन लिगको अंक तालिकामा मात्र एक अंकले तेश्रो स्थानमा रहे पनि स्पेनिस टोरेन्ट बर्खास्ता गरिएका थिए ।

रोजेरो सेनीले टोरेन्टको स्थान लिए तर यसै साता फ्लेमिङ्गोलाई उनले दक्षिण अमेरिकी च्याम्पियन्स लिग कोपा लिबेर्टाडोरेसमा बाहिरिनबाट बचाउन सकेनन् । अर्जेन्टिनी क्लब रेसिङ्गसँग पेनाल्टीमा पराजित भएपछि फ्लेमिङ्गो उपाधि रक्षाबाट बाहिरिएको थियो ।

फ्लेमिङ्गोले बर्खास्त गरेका डोमेनेक टोरेन्ट

माथिल्लो श्रेणीमा रहेका २० क्लबमध्ये पाँच क्लबहरुले मात्र आफ्नो प्रशिक्षक परिवर्तन गरेका छैनन् । भर्खरै गरिएको एक अध्ययनमा ब्राजिलको प्रथम श्रेणीको लिगले संसारमा सबैभन्दा बढी प्रशिक्षक बर्खास्ता गर्ने गरेको छ ।

जर्मन स्पोर्ट युनिभर्सिटी कोलोनले २०१३ देखि २०१८ सम्मको अवधिमा ब्राजिलियन लिगले गर्ने गरेको प्रशिक्षकहरुको बर्खास्तगीको बिषयमा अध्ययन गरेको थियो ।

ब्राजिलमा हरेक सिजन औषतमा ३७ दशमलव १ प्रतिशत प्रशिक्षकहरु बर्खास्त हुने गरेका छन् भने त्यस पछाडी अर्जेन्टिना (२१ प्रतिशत), बेलायत (१० प्रतिशत) र फ्रान्स (४ दशमलव ९) प्रतिशत रहेका छन् ।

फुटबल संस्कृतिमा परिवर्तन

अध्ययनका अनुसार लगातार चार खेलमा पराजित हुने हो भने मात्रै पनि क्लबहरु प्रशिक्षक बर्खास्त गर्ने तयारी थाल्छन् । कोपा लिबेर्टाडोरेसबाट बाहिरिने हो भने त झन बर्खास्त हुने सम्भावना ५ सय ६० प्रतिशत रहने गर्छ ।

“क्लबहरुले चार म्याचको प्रदर्शनलाई नै बिश्लेषण गर्ने आधार मान्दै प्रशिक्षकको भविष्य निर्धारण गर्ने गरेको तथ्यले के थाहा हुन्छ भने ब्राजिलियन क्लबहरुमा ‘शर्ट–टर्म लजिक’ हावी हुन थालेको छ,” अध्ययनले निष्कर्ष निकालेको छ ।

अध्ययन भएका अवधिमा ठूला क्लबहरु मध्ये फ्लेमिङ्गोले प्रति सिजन १ दशमलव ९ प्रशिक्षक प्रयोग गरेको छ भने साओ पाओलो र पाल्मेरासले १ दशमलव ६ ।
आफ्ना खेलाडीहरुलाई निकै छोटो अवधिमै युरोपमा बेच्ने गरेको कारण ब्राजिलमा प्रशिक्षकको काम निकै कठिन हुने गरेको छ । गत जनवरीमा आफ्ना स्पेनि डिफेन्डर पाब्लो मारीलाई आर्सनलमा बेचे यता फ्लेमिङ्गको परिवर्तित क्लब भइसकेको छ ।

“हामीले हाम्रो संस्कृतिमा परिवर्तन ल्याउन आवश्यक छ । क्लबका अध्यक्षहरु किन प्रशिक्षक नियुक्त गर्ने र बर्खास्त गर्ने गरिरहेका छन् भन्ने ज्ञान हुनुपर्छ,” ब्राजिलियन फुटबल कमेन्टेटर पाउलो भिनिसियस कोएलो भन्छन् ।

क्लबहरुले बसालेको संस्कृति बिपरित भने ब्राजलियन राष्ट्रिय टोलीमा यस्तो नभएको लामो समय भइसक्यो । २०१८ को बिश्वकपमा बेल्जियमसँग हार्दै क्वार्टर–फाइनलमा पराजित भएपनि राष्ट्रिय टोलीका प्रशिक्षक टिटे २०१६ देखि आफ्नो पदमा कायम छन् । उनले केही समयअघि २०२२ सम्मको लागि नयाँ सम्झौता समेत गरेका छन् ।

१९७८ मा क्लाउडियो काउटिन्होपछि बिश्वकपमा हार वा जित ब्यहोरेपनि आफ्नो पदमा कायमै रहने टिटे अपवादको रुपमा रहेका छन् । टिटेका सहायक क्लेबर जेभियर प्रशिक्षकहरुको आउने जाने श्रृंखला कायम रहनु ब्राजिलियन फुटबल सबैभन्दा ठूलो समस्या रहेको बताउदै आएका छन् ।

कहिले यता, कहिले उता

ब्राजिलको प्रथम श्रेणी फुटबलमा एउटै क्लबमा लामो समय बसिरहने गरेको औषत जम्मा ६५ दिन रहेको छ । तर बर्खास्त भएका प्रशिक्षकहरु भने लामो समयसम्म बेरोजगार भने रहने गरेका छैनन् । औषतमा १० प्रशिक्षकहरुले हरेक सिजन दुई फरक क्लबहरुलाई प्रशिक्षण दिने गरेका छन् ।

रोजेरो सेनीले तीन बर्षको अन्तरालमा चार पटक क्लब परिवर्तन गरिसकेका छन्

गोलकिपरको रुपमा १ सय ३२ गोल गर्ने बिश्व किर्तिमान कायम गरेका फ्रि किक र पेनाल्टी स्पेसियलिस्ट पुर्व साओ पाओलो खेलाडी सेनी एक राम्रा उदाहरण हुन् । उनी आफ्नो पुरानो क्लबमा प्रशिक्षण गर्न भनेर २०१७ मा नयाँ करिअरको शुरुवात गरे तर ६ महिना र ३७ दिन मात्रै टिके ।

त्यसपछि उनले फोर्टालेजाको बागडोर सम्हाल्दै टिमलाई प्रथम श्रेणीमा पुर्याए र क्रुजेरो क्लबमा पुगे । तीन महिनापछि नै उनलाई क्रुजेरोले बर्खास्त गर्यो र फेरि फोर्टालेजाले बोलाउदा खुशी साथ गए । फ्लेमिङ्गोले टोरेन्टलाई बर्खास्त गरेपछि सेनीले फोर्टालेजा पनि छोड र फ्लेमिङ्गोको मुख्य प्रशिक्षक भए ।

उनले फ्लेमिङ्गो कहिले छोड्ने छन् अथवा कहिले बर्खास्त हुने छन् यसलाई धेरै समय नलाग्न पनि सक्छ । “प्रशिक्षकहरु छोटो अवधिमै नियुक्त र बर्खास्त हुनु भनेको खेलाडीको बिकास र टिमको गुणस्तरका लागि निकै नराम्रो हो,” ब्राजिलका १९७० का बिश्वकप बिजेता फर्वार्ड टोस्टाओ एक कोलममा लेख्छन् ।

“लिगले यसलाई नियमन गर्नुपर्छ तर क्लबहरु यो हुन दिन चाहदैनन् ।”

Click to comment

Trending