Headline

अष्ट्रेलियाबिरुद्ध भारतको सान्त्वना जित, म्याक्सवेलको विकेटले खेल बदलियो

Published

on

हार्दिक पान्ड्या र रविन्द्र जडेजाको शतकीय साझेदारीमा भारतले अष्ट्रेलियामाथि तेश्रो तथा अन्तिम एकदिवसीयमा १३ रनको सान्त्वना जित हात पारेको छ ।

जितसँगै भारतको एकदिवसीयमा लगातार पाँच खेलेमा पराजयको श्रृंखला पनि अन्त्य भएको छ । पहिलो र दोश्रो एकदिवसीय फराकिलो अन्तरले जित्दै अष्ट्रेलिया यसअघि नै श्रंखला कब्जा गरिसकेको थियो । अब दुई टोली तीन खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा भिड्ने छन् ।

कप्तान बिराट कोहलीले क्यानबेरामा सबैभन्दा कम इनिङ्गसमा १२ हजार रन पुरा गर्ने किर्तिमान कायम गरेपनि पाँच विकेटको क्षतिमा १ सय ५२ रनको नाजुक अवस्थामा रहेको भारतलाई पान्ड्या र जडेजाले राम्रो योगफलतर्फ डोर्याएका थिए ।

दुई मध्यक्रमका ब्याट्स्म्यानले छैटौं विकेटका लागि १ सय ५० रनको साझेदारी गरेपछि भारतले ५० ओभरमा पाँच विकेटको क्षतिमा ३ सय २ रन बनायो । जवाफमा अष्ट्रेलिया ४९ दशमलव तीन ओभरमा २ सय ८९ रनमा अल आउट भएको थियो ।

नियमित ओपनर डेविड वार्नर चोटका कारण ट्वान्टी ट्वान्टी श्रृंखलाबाट पनि बाहिरिएपछि मार्नस लबुसान र कप्तान आरोन फिन्चबाट लक्ष्य पछ्याएको अष्ट्रेलियाले चाहे अनुरुपको शुरुवात पाएन । लबुसान (७) टि नटराजनको पहिलो एकदिवसीय विकेट बने भने स्टिभ स्मिथ (७) लाई सार्दुल ठाकुरले पेभिलियन फर्काए ।

फिन्चले मोइजेज हेन्रिकेस (२२) सँग ६१ रनको साझेदारी त गरे तर अष्ट्रेलियाले आफ्नो कप्तान सहित तीन विकेट गुमाउदा ५ विकेटको क्षतिमा १ सय ५८ रन मात्र बनाएको थियो । ग्लेन म्याक्सवेलले त्यसपछि दुई अद्र्धशतकीय साझेदारी कायम गर्दै अष्ट्रेलियालाई खेलमा कायमै राखे । उनले एलेक्स क्यारी (३८) सँग ५२ रन जोडे भने एस्टन अगरसँग अर्को ५८ रन बनाउदा अष्ट्रेलिया जित नजिक पुगेको थियो ।

अन्तिम ३४ बलमा मात्र ३५ रन चाहिएको अवस्थामा म्याक्सवेललाई जस्प्रित बुम्राहले बोल्ड गरेपछि भारत खेलमा फर्किएको थियो । ४८ औं ओभरमा नटराजनले अगर (२८) लाई पनि आउट गरेपछि अष्ट्रेलियाको आशा समाप्त भइसकेको थियो । अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा बुम्राहले तेश्रो बलमा जाम्पालाई एलबिडब्लु धरापमा पार्दै खेलको अन्त्य गरिदिएका थिए ।

३८ बलको सामना गरेका म्याक्सवेलले चार छक्का र तीन चौका सहित ५९ रन बनाए भने उत्कृष्ट फर्ममा रहेका फिन्चले ८२ बलमा सात चौका र तीन छक्का प्रहार गर्दै ७५ रन बनाए । उनले पहिलो एकदिवसीयमा शतक र दोश्रोमा पनि अद्र्धशतक बनाएका थिए । भारतका लागि ठाकुरले तीन विकेट लिएका थिए ।

दुई प्रमुख बलर प्याट कमिन्स र मिचेल स्टर्कको अनुपस्थितिमा खेलेको अष्ट्रेलियाले भारतलाई दवाबमै राख्दै इनिङ्गसको शुरुवातमा खुलेर खेल्न दिएन । शिखर धवनलाई (१६) लाई २६ रनमा गुमाएपछि कोहलीले इनिङ्गस सम्हाल्ने क्रममा शुभमन गिलसँग ५६ रनको साझेदारी गरे ।

२३ रन पुग्दा कोहलीले १२ हजार रन पुरा गर्ने क्रममा सचिन तेन्दुल्कर र अष्ट्रेलियन पुर्व कप्तान रिकी पोन्टिङ्गलाई पछि पारे । कोहलीले २ सय ४२ औं इनिङ्गसमा यो कोशढुँगा पुरा गरेका हुन् भने सचिनले ३ सय र पोन्टिङ्गले ३ सय १४ इनिङ्गस लगाएका थिए ।

तर कोहली बुधबार एकपटक फेरि तिब्र गतिका बलर जोस हेजलउडको शिकार बने । हेजलउडले कोहली ६३ रनमा खेलिरहदा कोहलीलाई विकेट किपर एलेक्स क्यारीको हातबाट क्याच आउट गराएका थिए । अम्पायरले आउट नदिएपनि अष्ट्रेलियाले रिभ्यु लिदा कोहली आउट भएको देखिएको थियो ।

यो श्रृंखलामा कोहली तीनै पटक हेजलउडको शिकार भएका हुन् । हेजलउडले कोहलीबिरुद्ध खेलिएका ७ खेलमा चार पटक आउट गरिसकेका छन् । कोहलीले ७८ बल खेल्दै पाँच चौका प्रहार गरे ।

कोहली आउट भएपछि इनिङ्गसलाई पहिलो सम्हाल्दै अन्त्यमा गति दिने क्रममा १८ ओभरमा १ सय ५० रनको साझेदारी गरेका थिए । यो भारतको लागि तेश्रो विकेटका लागि एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो साझेदारी हो ।

करिअरकै उच्च स्कोर बनाउने क्रममा पान्ड्याले ७६ बलमा ९२ रन बनाए । उनले सात चौका र एक छक्का प्रहार गरे भने पाँच चौका र तीन छक्का हिर्काएका जडेजाले ५० बलमा ६६ रन बनाए । अष्ट्रेलियाका लागि हेजलउडले दुई विकेट लिए । करिअरको दोश्रो एकदिवसीय खेलिरहेका सन एबोटले १० ओभरमा ८४ रन खर्चदै एक विकेट लिएका थिए ।

Click to comment

Trending