राष्ट्रिय

कालिन नेपाल फर्कने सम्भावना न्युन 

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिन हाल आफ्नो देश स्विडेनमा रहेका छन् । नेपालमा कोरोनाका कारण पहिलो पटक लकडाउन शुरु भएको केहि समय पछि नै आफ्नो देश फर्किएका कालिनको नेपाल फर्कने सम्भावना निकै न्युन रहेको अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा बताउछन् ।

कोरोनाका कारण स्विडेनले नेपालमा यात्रा गर्नका लागि प्रतिबन्ध लगाएको देशहरु मध्येको एक हो । यो कारणले गर्दा पनि कालिन नेपाल लकडाउन समाप्त हुदा पनि आउन नसकेका हुन् ।

नेपाली फुटबल टोलीले बङ्गलादेशमा दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल्दै फुटबल फर्किसक्दा कालिन भने उतै छन् । उनको अनुपस्थितीमा बालगोपाल महर्जनले नेपाली टोलीको प्रशिक्षकको भूमिका निर्बाह गरेका थिए ।

नेपालले विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा तीन खेल खेल्न बाँकी रहेको छ । तीन वटै खेल कोरोनाकै कारण एसियाली फुटबल महासंघ (एएफसी) ले २०२१ मा  हुने गरि छनोट चरणका खेलहरु स्थगित गरेको छ । एएफसीले मार्च सम्ममा बाँकी खेल सक्नका लागि फुटबल संघहरुलाई निर्देशन दिइसकेको छ ।

त्यस्तै यस प्रकारको प्रतियोगिताका लागि प्रो–लाइसेन्स भएको प्रशिक्षक आवश्यक पर्दछ । जसका कारण कालिन नेपाल नफर्किएको अवस्थामा नेपाललाई छनोट खेलहरु खेल्नका लागि पनि कठिन हुने देखिन्छ । एन्फा अध्यक्ष शेर्पाले कालिन तत्काल नेपाल आउने सम्भावना नरहेको बताउछन् । “कोरोनाका कारण उनी तत्काल नेपाल आउने सम्भावना छैन । हामी उनी कहिले सम्ममा नेपाल आउन सक्ने छन् भन्ने बारे कुरेर बसिरहेका छौं,” शेर्पाले बताए ।

उनी फेब्रुवरीसम्ममा पनि नेपाल आउन सक्ने सम्भावना नरहेको खण्डमा नयाँ प्रशिक्षक नियुक्त गर्नु हुन्छ भन्ने प्रश्नमा उनी भन्छन्ः “हामीले यहि गर्ने भन्ने विषयमा केहि निर्णय लिइसकेका छैनौं । तर यस विषयमा हाम्रो छलफल र कालिनसँग पत्राचार निरन्तर जारी छ ।”

विस्पोर्टजलाई प्राप्त जानकारीअनुसार कालिनले केहि महिना अघि नै एन्फालाई आफु नेपाल आउन सक्ने सम्भावना नरहेको कारण नयाँ प्रशिक्षक नियुक्त गर्न सुझाएका थिए । त्यसका लागि आवश्यक परेको खण्डमा आफु राजीनामा दिन तयार रहेको पनि उनले बताएका थिए ।

विस्पोर्ट्जले सम्पर्क गर्दा कालिनले यो नितान्त आफ्नो र एन्फाको विषय भएको हाल केहि प्रतिक्रिया दिन नमिल्ने जनाएका थिए । एन्फाले कालिनलाई दुई बर्षको लागि भन्दै २०१९ को फेब्रुवरीमा प्रशिक्षक नियुक्त गरेको थियो । उनीसँगको सम्झौता २०२१ को फेब्रुअरीमा सकिन्छ ।

नेपालले कालिन प्रशिक्षक नियुक्त भए पछि ९ खेल खेल्दै एकमा मात्र जित हात पारेको थियो भने दुई खेलमा बराबरी गरेको थियो । नेपालले विश्वकप र एसियाकप छनोट अन्तर्गत चाइनिज ताइपेईलाई २–० ले पराजित गर्दा कुवेत र चाइनिज ताइपेईसँगको मैत्रीपूर्ण खेलमा क्रमश ०–० र १–१ को बराबरी गरेको हो । त्यस्तै नेपालले मलेसियाको जोहर बाहरु क्लबसँगको मैत्रीपूर्ण खेलमा पनि २(० को जित हात पारेको थियो ।

कालिनको प्रशिक्षणमा नेपालले पहिलो खेल कुवेतसँगको अन्तराष्ट्रिय मैत्रीपूर्ण रहेको थियो । उक्त खेलमा गोल रहित बराबरी खेलेको नेपालले दोश्रो खेलमा भने १–० को हार ब्यहोरेको थियो । त्यस्तै म्यानमारसँगको मैत्रीपूर्ण खेलमा नेपालले ३–० को फराकिलो हार भोगेको थियो ।

नेपालले विश्वकप छनोट अन्तर्गत खेलेका पाँच खेल मध्ये चारमा पराजय भोग्दा एक खेलमा भने चाइनिज ताइपेईलाई पराजित गर्न सफल भएको थियो । नेपालले विश्वकप छनोटमा कुवेतको घरेलु मैदानमा ७–० र अष्ट्रेलियाको घरेलु मैदानमा ५–० को लज्जास्पद हार ब्यहोरेको थियो ।

त्यस्तै जोर्डनसँग उसको घरेलु मैदानमा ३–० ले पराजित भएको थियो भने कुवेतसँग भुटानमा भएको घरेलु खेलमा १–० ले पराजित भएको थियो ।

Click to comment

Trending