Headline

युरोपियन राउण्ड–अपः इब्राको दुई गोल, लिभरपुलको नयाँ किर्तिमान, स्पेनमा सोसिडाड टपमा

Published

on

ज्लाटन इब्राहिमोभिचले आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै दुई गोल गरेपछि एसि मिलानले इटालियन सिरी आ को शिर्ष स्थानमा दुई अंकको अग्रता बनाएको छ ।

पहिलो लेगमा महत्वपूर्ण हुन सक्ने खेलमा मिलानले आइतबार राति नापोलीलाई ३–१ ले हरायो । ३९ बर्षिय इब्राहिमोभिचले यो सिजन ६ लिग खेलमा १० गोल गरिसकेका छन् । यद्दपि दोश्रो हाफमा चोटका कारण मैदान बाहिरिएका मिलान उनको अबको स्थितिका बारेमा भने सशंकित रहेको छ ।

इब्राहिमोभिचलाई ह्यामिस्ट्रिङ इन्जुरी भएको छ भने उनले अब आउने खेलहरु गुमाउने वा नगुमाउने हेर्न बाकी रहेको छ । इब्राहिमोभिचले २० र ५४ औं मिनेटमा गोल गरेपछि मिलानले दुई गोलको अग्रता बनायो । ड्रायस मेर्टेन्सले ६५ औं मिनेटमा नापोलीका लागि गोल त फर्काए तर येन्स पेटर हगले अतिरिक्त समयको पाचौं मिनेटमा तेश्रो गोल गरिदिएका थिए ।

सिरी आ अन्तर्गत आइतबार नै भएको खेलमा सासुलो हेलास भेरोनालाई २–० ले हराउदै मिलानसँग दुई अंकको दुरी कायम गर्न सफल रह्यो । मिलानको २० र सासुलोको १८ अंक भएको छ । १७ अंकसाथ तेश्रो स्थानमा रहेको एएस रोमाले पार्मालाई ३–० ले पराजित गर्यो ।

गत सिजन युभेन्टससँग मात्र एक अंकले उपाधि दौडमा चुकेको इन्टर मिलान टोरिनोलाई ४–२ ले हराउदै १५ अंक साथ पाचौं स्थानमा उक्लियो । चौथो स्थानको युभेन्टको १६ अंक रहेको छ ।

लिभरपुलद्वारा लेस्टरको आशामा तुषारापात

लेस्टरको शिर्ष स्थानमा उक्लने आशामाथि तुषारापात गर्दै लिभरपुल ३–० को शानदार जितसहित इङ्गलिस प्रिमियर लिगको दोश्रो स्थानमा उक्लिएको छ । नवौं चरणको खेलपछि टोटेन्ह्यामसँगै समान २० अंक रहेको लिभरपुल मात्र गोल अन्तरले पछाडी रहेको छ ।

लेस्टरमाथि फराकिलो जित दर्ता गर्ने क्रममा जोनी इभान्सले २१ औं मिनेटमा कर्नर बललाई डिफेन्ड गर्ने क्रममा आफ्नै पोस्टको दिशा दिएका थिए । हाफ टाइम भन्दा चार मिनेट अगाडी लिभरपुलले देखाएको उत्कृष्ट ३० पासको टिम गेमलाई सफल बनाउने क्रममा डियोगो जोटाले एन्ड्रयु रोबर्ट्सनको क्रसलाई हेडर मार्फत गोलमा परिणत गरेका थिए ।

रोबर्टो फर्मिनोले ८६ औं मिनेटमा गोल गरेपछि लेस्टरको लागि खेल समाप्त भएको थियो । यो जितसँगै लिभरपुलले घरेलु मैदानमा लगातार ६४ खेलमा अपराजित रहेको नयाँ किर्तिमान समेत कायम राख्यो । लेस्टर १८ अंक साथ चौथो स्थानमा रहेको छ ।

आइतबार नै आर्सनल र लिड्स युनाइटेडले गोल रहित बराबरी खेलेका थिए भने एभर्टनले फल्ह्यामलाई ३–२ ले पराजित गर्यो ।

१० खेलपछि शिर्ष स्थानमा रहनुको कुनै अर्थ छैन

काडिजलाई १–० ले हराउदै स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लिएको रियल सोसिडाडका प्रशिक्षक इमानोल अल्गुसीलले १० खेलमै माथि उक्लदैमा खुशीयाली मनाउनु अर्थहीन रहेको बताएका छन् ।

अद्नान जानुजाजको क्रसमा एलेक्जेण्डर इसाकले गोल गर्दै सोसिडाडलाई लगातार छैटौं जित दिलाएका थिए । दुई खेल बढी खेलेको सोसिडाडको २३ अंक रहेको छ भने दोश्रो स्थानको एट्लेटिको म्याड्रिडको २० अंक छ ।

“म लगातार ६ खेल जितेको बारेमा नसोचि अर्को खेलमा केन्द्रित हुने भएको कारण मलाई यो उपलब्धिले उचाइमा पुगे जस्तो काउकुती लागेको छैन । १० खेलपछि शिर्ष स्थानमा रहदैमा कुनै अर्थ राख्छ भन्ने छैन, त्यसमाथि हामीले दुई खेल बढी खेलेका छौं,” अल्गुसीले बताए ।

Click to comment

Trending