Headline

बिश्व फुटबलमा चर्चित देशहरुको ‘निकनेम’ र त्यसको कारण

Published

on

फुटबलमा लामो समयदेखि राज गर्दै आइरहेका टिमहरु जति प्रख्यात छन् उति नै प्रख्यात उनीहरुको उपनाम (निकनेम) पनि छ । अन्तर्राष्ट्रिय मिडियामा ती टिमहरुको बारे समाचार आउदा अथवा कुनै पनि सामग्री बन्दा उनीहरुको उपनाम एक न एक पटक जोडिएकै हुन्छ ।

उपनामले एक हिसाबले टिमलाई एक छुट्टै पहिचान त दिन्छ नै सुन्नेलाई अतिरिक्त कौतुहलता पनि जागेर आउछ । कति फुटबल समर्थकहरुलाई त यो निकनेम बुझ्न नै कठिन हुने गर्छ । आज हामी त्यस्तै फुटबल समर्थकहरुको कौतुहलता मेटाउदै निकनेम पछाडीको अर्थ खुलस्त पार्नेछौं ।

इटाली (अज्जुरी)

सन् २००६ मा इटालीले चौथो पटक बिश्वकप जित्दा उ ब्राजिलपछि सबैभन्दा बढी उपाधि जित्ने टोली बनेको थियो । ब्राजिलले पाँच पटक बिश्वकप जितेको छ । इटालीको राष्ट्रिय फुटबल टोलीलाई ‘अज्जुरी’ पनि भनिने गर्छ र यो नाम पटक पटक लिने गरिन्छ । शायद यो उपनाम बिश्व फुटबलमा सबैभन्दा बढी चर्चित छ ।

अज्जुरी भनेको इटालियन भाषमा निलो रँग हो । इटालीको मुख्य जर्सि निलो भएकोले उसको फुटबल टिमलाई अज्जुरी भनिने गरिएको हो । इटालीको दोश्रो जर्सी सेतो रँगको हुने गर्छ तर टिमको पहिचान निलो जर्सिमा छ ।

अर्जेन्टिना (आल्बिसेलेस्टे)

इटालीको निकनेम भन्न जति सजिलो छ अंग्रेजीको हिज्जे हेर्ने हो भने अर्जेन्टिनाको उपनाम भन्न केही क्षण सोच्नै पर्छ । अर्जेन्टिनी टिमलाई ‘आल्बिसेलेस्टे’ पनि भन्ने गरिन्छ । स्पेनिस बोलिने गरेको अर्जेन्टिनामा यसको नाम लेखिदा (Albiceleste) हुन्छ । त्यसैले बोल्दा केही समय हिज्जेमा ध्यान दिनुपर्छ ।

अन्तर्राष्ट्रिय मिडियामा अज्जुरी (Azzurri) लेख्न जति सजिलो हुन्छ, आल्बिसेलेस्टे लेख्नलाई हिज्जे कण्ठ पार्नै पर्छ । आल्बिसेलेस्टेको मतलब स्पेनिसमा आकाशे निलो र सेतो हो । यो अर्जेन्टिनाको झण्डाको रँग हो र अर्जेन्टिनी फुटबल टिमको प्रमुख जर्सीको पनि । अर्जेन्टिनी टिम जस्तै यसको जर्सी पनि निकै लोकप्रिय छ । यसको श्रेय म्याराडोनालाई जान्छ भने उनको लिगेसीलाई लियोनेल मेस्सीले पनि कायमै राखेका छन् ।

नेदरल्याण्ड्स (ओरान्ये)

नेदरल्याण्ड्सको राष्ट्रिय फुटबल टोलीको उपनाम उक्त देशको झण्डा अनुरुप छैन । नेदरल्याण्ड्सको झण्डाको रँग सेतो, निलो र रातो हो तर पनि राष्ट्रिय टोलीले सुन्तला रँगको जर्सी लगाउने गर्छ । सुन्तलालाई डच भाषमा ‘ओरान्ये’ (Oranje) भनिन्छ । यसमा अंग्रेजीको तुलनामा मात्र जी लेटरको फरक छ तर उच्चारण गरिदा भने पूर्ण रुपमा फरक छ ।

नेदरल्याण्ड्सको जर्सी सुन्तला रँगको हुनुको कारण त्यहाको शाही परिवार हो । नेदरल्याण्ड्सको शाही परिवारको रँगको प्रतिक सुन्तला रँगको भएर नै देशको फुटबल टोलीको जर्सी उक्त रँगको हुन गएको हो ।

इङ्गल्याण्ड (द थ्रि लायन्स)

इङ्गल्याण्ड राष्ट्रिय फुटबल टोलीको जर्सीमा भएको लोगोमा तीन वटा सिँहको आकृति प्रयोग गरिएको छ । यो आकृति १२ औं शताब्दीको दौरान इङ्गल्याण्डमा शासन गरेका प्लान्टाजेनेट शासकहरुको कोटमा हुने गथ्र्यो । यसलाई नै पछि इङ्गल्याण्डको फुटबल टिमको जर्सीमा प्रयोग गरियो र राष्ट्रिय टोलीलाई ‘द थ्रि लायन्स’ पनि भनियो ।

जापान (ब्लु सामुराई)

जापानी राष्ट्रिय फुटबल टोलीको जर्सीको रँग निलो हुनु पछाडी कुनै बिशेष कारण नै छैन । जापानले जब १९५४ मा बिश्वकप छनोट खेल्न थाल्यो त्यो समय जापानमा न कुनै व्यवसायिक लिग थियो न त व्यवसायिक खेलाडी नै । त्यसैले टोक्यो बिश्वबिद्यालयको सिँगो टोलीले नै जापान देशको प्रतिनीधित्व गर्दै बिश्वकप छनोट खेलेका थिए ।

टोक्यो बिश्वबिद्यालयको फुटबल जर्सी निलो थियो र यही कारणले पछि पनि यसले मान्यता पाएको हो । जापानले पहिलो बिश्वकप १९९८ मा खेलेको थियो । सामुराई शब्द भने जापानमा १२ औं देखि १९ औं शताब्दीसम्म शासन गरेका सामुराई योद्धाहरुको नाममा प्रयोग गरिएको हो ।

अष्ट्रेलिया (सकरुज)

अमेरिका र क्यानडामा जस्तै अष्ट्रेलियामा पनि फुटबललाई बोली चालीमा ‘सकर’ भन्ने गरिन्छ । अष्ट्रेलियामा फुटबल भनेको ‘रुल्स फुटबल’ हो जुन रग्बी भन्दा केही परिमार्जित हुन्छ । अष्ट्रेलियाले यो सञ्चालनको लागि आफ्नै नियम बनाएको छ । क्रिकेट र रग्बीपछि फुटबल अष्ट्रेलियामा तेश्रो रोजाइमा रहने गरेको खेलकुद हो ।

अष्ट्रेलियन फुटबल टिमलाई ‘सकरुज’ भन्ने कारण त्यहा मात्रै पाइने जनावर कँगारु हो । यो सकर र कँगारुज शब्दहरुलाई मिसाए कँगारुज बनाइएको हो । अष्ट्रेलियाको क्रिकेट टिमलाई कँगारुज भनिन्छ भने रग्बी टिमलाई ‘वालबिज’ भनिन्छ । वालबिज अष्ट्रेलिया र पपुवा न्यु गिनीमा मात्र पाइने अर्को जनावर हो जुन दुरुस्त कँगारु जस्तै देखिन्छ ।

दक्षिण अफ्रिका (बफाना बफाना)

२०१० को बिश्वकपमा सबैभन्दा चर्चित उपनाम ‘बफाना बफाना’ नै थियो । दक्षिण अफ्रिकाले आफ्नै देशमा आयोजना गरेको बिश्वकपमा दोश्रो चरणमा प्रवेश गर्न नसकेपनि फ्रान्सलाई स्तब्ध पार्दै सनसनी मच्चाएको थियो । आदिवासी दक्षिण अफ्रिकीहरुको परम्परागत बाजा ‘भुभुजेला’ सँगै उक्त बिश्वकपमा दक्षिण अफ्रिकाको उपनाम पनि निकै चर्चित बन्यो ।

बफाना बफाना को अर्थ दक्षिण अफ्रिकी भाषामा ‘गो बोइज’ हुन्छ । दुई पटक यसको उच्चारण गर्दै दक्षिण अफ्रिकीहरुले आफ्नो टिमलाई हौस्याएका हुन् । त्यही शब्दलाई नै दक्षिण अफ्रिकी राष्ट्रिय फुटबल टोलीको उपनाम दिइएको हो ।

ब्राजिल (सेलेकाओ)

बिश्व फुटबलमा अहिले पनि सबैभन्दा सफल राष्ट्र ब्राजिलको उपनाम ‘सेलेकाओ’ हो । कुनै समय पोर्चुगलको अधीनमा रहेको ब्राजिलको भाषा पोर्चुगिज नै हो । १६ औं शताब्दीमा शुरु भएको पोर्चुगिज शासन १८२२ मा आएर समाप्त हुँदा ब्राजिलमा प्रयोग हुने गरेको पोर्चुगिज भाषामा पनि थुप्रै परिमार्जन भइसकेको छ ।

ब्राजिलि फुटबल टोलीलाई दिइएको उपनाम सेलेकाओ भने शुद्ध पोर्चुगिज भाषा नै हो । पोर्चुगिजमा सेलेकाओको अर्थ हुन्छ सेलेक्सन, अर्थात छनोट । राष्ट्रिय टोलीमा छनोट भएको कारण ब्राजिली टोलीलाई सेलेकाओ भनिएको हो । पोर्चुगिज टोलीलाई पनि सेलेकाओ नै भनिन्छ तर ब्राजिललाई भनिने जसरी चर्चित भने हुन सकेन । पोर्चुगलले पहिले नै धेरै बिश्वकप जितेको भए शायद यो नाम उसकै हुने थियो ।

Click to comment

Trending