Headline

युएफा नेसन्स लिगः चेल्सी स्टारहरु चम्कदा फ्रान्स र जर्मनी बिजयी

Published

on

बिश्वकप बिजेता फ्रान्स र जर्मनी चेल्सीका उत्कृष्ट खेलाडीहरुको प्रदर्शनमा युएफा नेसन्स लिगमा जित हात पार्न सफल भएका छन् ।

चेल्सी मिडफिल्डर एनगोलो कान्टेले करिअरको मात्र दोश्रो अन्तर्राष्ट्रिय गोल गर्दा फ्रान्सले डिफेन्डिङ्ग च्याम्पियन र युरो कप बिजेता पोर्चुगललाई १–० ले पराजित गर्यो । ५३ औं मिनेटमा रिबाउण्डमा आएको बलमा गोल गर्दै कान्टेले गोल गरेपछि फ्रान्सले आफ्नो समुहको अंक तालिकामा शिर्ष स्थानमा कब्जा गर्यो ।

मङ्गलवार पेरिसमा स्विडेनसँग खेल्नुअघि फ्रान्सले पोर्चुगलमाथि तीन अंकको अग्रता बनाएको छ र हेड टु हेडमा अगाडी रहेको कारण अब उसले शिर्ष स्थान पाउने पक्का भइसकेको छ ।

लाइपजिगमा फर्किएका अर्का चेल्सी खेलाडी टिमो वेर्नरले दुई गोल गरेपछि जर्मनीले युक्रेनलाई ३–१ ले हरायो । चार बर्ष आरबी लाइपजिगका लागि खेलेका वेर्नर गत समर ट्रान्सफरमा लण्डन गएर फर्किए तर समर्थकहरुको अनुपस्थितिमा पनि रेड बुल एरिनामा उनले उत्कृष्ट प्रदर्शन दिए ।

पछिल्लो १२ खेलमा अपराजित रहेको जर्मनी आफ्नो समुहमा स्पेन भन्दा एक अंकले अघि रहेको छ । शनिबार नै स्विट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको स्पेनले जर्मनीसँग मँगलवार खेल्नेछ ।

युक्रेनले १२ औं मिनेटमै रोमन यारेमचुकको गोल मार्फत अग्रता लिएको थियो तर त्यो ११ मिनेटमात्र टिकेको थियो । जर्मनीका लागि लिरोय सानेले बराबरी गोल गरेका थिए । वेर्नरले त्यसपछि ३३ औं र ६४ औं मिनेटमा गोल गर्दै जर्मनको जित सुनिश्चित पारेका थिए ।

आफ्नो सबै पहिलो चार खेलमा पराजय ब्यहोरेको स्विडेनले भने अन्त्यमा केही लय समात्दै अवे खेलमा बिश्वकप उपबिजेता क्रोएसियालाई २–१ ले हरायो । स्विडेनको दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । ३६ औं मिनेटमा डेजान कुलुसेभ्स्कीले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

मार्कस ड्यानिएल्सनले पहिलो हाफको अन्त्यतिर कर्नरबाट आएको बलमा गोल गर्दै स्विडेनको दोश्रो गोल गरे । ८ मिनेट बाकी हुँदा ड्यानिएल्सनले नै आत्मघाती गोल गरेपछि क्रोएसियाले एक गोल फर्काएको थियो ।

Click to comment

Trending