Euro 2020

युरो कप छनोटः स्कटल्याण्डले तोड्यो २२ बर्षदेखिको खडेरी, नर्थ मेसेडोनिया पहिलो पटक युरोमा

Published

on

बिश्व फुटबलको मुख्य प्रतियोगिताको सहभागितामा २२ बर्ष देखिको पर्खाइलाई अन्त्य गर्दै स्कटल्याण्ड २०२१ को युरो कपको लागि छनोट भएको छ ।

बिहिबार निकै संघर्षपूर्ण छनोटमा स्कटल्याण्डले सर्बियालाई टाइ ब्रेकरमा पराजित गर्यो भने बिश्व फुटबलको सानो टोली नर्थ मेसेडोनिया पनि जर्जियालाई हराउदै इतिहासमै पहिलो पटक युरो कपका लागि छनोट भयो ।

बर्षको शुरुवाताका लागि तय गरिएको प्लेअफ कोरोना भाइरसका लागि स्थगित भएपछि सञ्चालनमा आउदा हँगेरी र स्लोभाकिया पनि आ–आफ्नो खेल जित्दै छनोट भएका छन् । युरो कप २०२१ को जुन र जुलाईका लागि स्थगित गरिएको हो ।

पछिल्लो पटक १९९८ मा फ्रान्समा भएको बिश्वकपमा सहभागिता जनाएको स्कटल्याण्ड १० वटा छनोट खेलहरुमा असफल भएको थियो भने सर्बियासँगको प्लेअफमा पनि झण्डै पराजित भएको थियो ।

बेलग्रेडमा भएको खेलमा स्कटल्याण्ड रायन क्रिष्टीको गोल मार्फत दोश्रो हाफको शुरुवातमै अग्रता लिन सफल भएको थियो । तर लुका जोभिचले ९० औं मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । थप आधा घण्टामा कुनै गोल नभएपछि स्कटल्याण्डले टाई ब्रेकरमा ५–४ को जित हात पार्यो ।

स्कटिस गोलकिपर डेभिड मार्सलले एलेक्जेण्डर मित्रोभिचको प्रहार रोकेपछि स्कटल्याण्डले लामै समय खुशीयाली मनाएको थियो । ९ खेलमा अपराजित रहेको स्कटल्याण्डले अब युरो कपको समुह डिमा इङ्गल्याण्ड, चेक रिपब्लिक र क्रोएसियासँग खेल्नेछ ।

नर्दन आयरल्याण्ड असफल

अतिरिक्त समयमा स्लोभाकियासँग घरेलु मैदानमै २–१ ले पराजित भएपछि नर्दन आयरल्याण्डले भने स्कटल्याण्ड जस्तो खुशीयाली मनाउन पाएन । नर्दन आयरल्याण्डले २०१६ को युरो कप खेलेको थियो ।

जुराज कुच्काले स्लोभाकियालाई अग्रता दिलाएपनि मिलान स्क्रिनियरको आत्मघाती गोलमा नर्दन आयरल्याण्डले खेलमा बराबरी गरेको थियो । तर मिकल डोरिसले १ सय १० औं मिनेटमा गोल गरेपछि स्लोभाकियाको भाग्य चम्कियो । स्लोभाकियाले समुह इ मा पोल्याण्ड, स्पेन र स्विडेनसँग खेल्नेछ ।

पछिल्लो केही बर्ष यता उत्कृष्ट फुटबल खेल्न सफल आइसल्याण्ड भने हँगेरीसँग २–१ ले पराजित हुदा लगातार दुई युरो खेल्ने मौकाबाट बञ्चित हुन पुग्यो । २०१८ को पनि बिश्वकप खेलेको आइसल्याण्ड लगातार तीन मुख्य प्रतियोगिता खेल्ने थयो ।

जिल्फी सिगुर्ड्सनले ११ औं मिनेटमा फ्रि किकमा गोल गर्दै आइसल्याण्डलाई अग्रता दिलाएका थिए । आइसल्याण्डले लामै समय अग्रतालाई बचाइ राख्यो तर ८८ औं मिनेटमा लोइक नेगोले बराबरी गोल गरे । अतिरिक्त समयको दोश्रो मिनेटमा डोमिक जोबोस्ज्लाईले गोल गर्दै हँगेरीलाई युरोमा पुर्याए ।

दुई पटकको बिश्वकप उपबिजेता हँगेरीले २०१६ को युरोमा छनोट हुदा ३० बर्ष देखिको प्रमुख प्रतियोगितामा सहभागिताको खडेरीलाई तोडेको थियो । हँगेरीले २०२१ युरोको समुह एफमा बिश्वकप बिजेता फ्रान्स, जर्मनी र युरो कप डिफेन्डिङ्ग च्याम्पियन पोर्चुगलको सामना गर्नेछ । समुह एफ ग्रुप अफ डेथ रहेको छ ।

पान्डेभले जर्जियालाई डुबाए

भेटेरान ३७ बर्षिय स्ट्राइकर गोरान पान्डेभले ५६ औं मिनेटमा गोल गर्दा नर्थ मेसेडोनिया पहिलो पटक ठूलो प्रतियोगिताका लागि छनोट भयो । इन्टर मिलानका लागि सन् २०१० को च्याम्पियन्स लिग जितेका पान्डेभ हाल अर्को इटालियन टोली जेनोआबाट खेलिरहेका छन् भने आफ्नो देशको लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता पनि हुन् ।

फिफा बरियतामा ६५ औं स्थानमा रहेको बाल्कन राष्ट्र मेसेडोनियाले समुह सि मा नेदरल्याण्ड्स, अष्ट्रिया र युक्रेनको सामना गर्नेछ ।

२४ टिम सम्मिलित युरो कप यसपटक युरोपका १२ शहरहरुमा खेलाइनेछ भने सेमिफाइनल र फाइनल लण्डनको वेम्ब्ली स्टेडियममा हुनेछ ।

Click to comment

Trending