Headline

बिश्वकप छनोटः अर्जेन्टिना बराबरीमा रोकियो, मेस्सी दुई पटक चुके

Published

on

अर्जेन्टिनालाई पराग्वेले २०२२ कतार बिश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा बराबरीमा रोकेको छ । शुक्रबारको खेलमा अर्जेन्टिना १–१ गोलको बराबरीमा रोकिएपछि लगातार तीन खेलमा जित हात पार्नबाट बञ्चित भएको छ ।

अर्जेन्टिनाले यसअघि आफ्नो दुई खेलमा बोलिभिया र इक्वेडरलाई पराजित गरेको थियो । अर्को खेलमा इक्वेडरले बोलिभियालाई ३–१ ले हरायो । बराबरीका बावजुद अर्जेन्टिना ७ अंक सहित शिर्ष स्थानमा रहेको छ ।

एक खेल कम खेलेको ब्राजिलले पनि लगातार दुई खेल जितेको छ भने नेमारबिना उसले भेनेजुएलासँग खेल्न गइरहेको छ । एक हार बेहोरेको इक्वेडर पनि ६ अंक साथ तेश्रो स्थानमा रहेको छ ।

ला बोम्बोनेरामा भएको खेलमा एन्जेल रोमेरोले पेनाल्टीमा गोल गरेपछि पराग्वेले २२ औं मिनेटमै अग्रता लिएको थियो । तर ४१ औं मिनेटमा निकोलस गोञ्जालेजले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

५८ औं मिनेटमा जियोभानी ला सेल्सोले दिएको पासमा लियोनेल मेस्सीले गोल त गरे तर उक्त मुभको शुरुवातमा गोन्जालेजले फउल प्रहार गरेको निष्कर्षमा पुग्दै मान्यता दिइएको थिएन । मेस्सीले प्रहार गरेको सटिक फ्रि किकलाई पनि पराग्वे गोलकिपर एन्थोनी सिल्भाले उत्कृष्ट ढँगले बचाउ गरेका थिए ।

यसअघि भेनेजुएलालाई पराजित गर्नुका साथै पेरुसँग बराबरी खेलेको पराग्वे पनि छनोट चरणमा हालसम्म अपराजित रहेको छ । मँगलवार अर्जेन्टिनाले पेरुसँग र पराग्वेले बोलिभियासँग खेल्नेछ ।

Click to comment

Trending