Headline

अन्तर्राष्ट्रिय फुटबलको पुनरागमनमा जितको आशा

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीले बङ्गलादेशसँग दुई मैत्रीपूर्णमा सामना गर्दै झण्डै एक बर्षमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्दैछ । २०१९ नोभेम्बर १९ मा कुवेत विरुद्ध विश्वकप तथा एसिया कप छनोट खेलमा १–० ले पराजित भए यता सिनियर टोलीले कुनै प्रतिस्पर्धात्मक खेल खेलेको छैन ।

कोरोना भाईरसको प्रभाव बढ्दै गएका कारण एएफसीले स्थगित गरेको विश्वकप २०२२ तथा एसिया कप २०२३ को छनोटपछि बङ्गलादेशको राष्ट्रिय टोलीको हालत पनि उस्तै छ । १४ नोभेम्बर २०१९ मा अन्तिम पटक ओमानको सामना गरेको बङ्गलादेशले त्यस यता अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।

कोरोना भाईरसले गर्दा अनिश्चितकालका लागि स्थगित हुनु अघि छैटौं चरण सम्म चलेको घरेलु फुटबल लिगका कारण बङ्गलादेशलाई केही फाईदा भने हुनेछ । नेपाली खेलाडीहरुले भने घरेलु फुटबलमा सात महिनाको अवधिमा अन्तिम पटक २०७६ चैत्रमा नकआउट प्रतियोगिता आहा रारा गोल्डकप खेलेका थिए ।

नेपाल र बङ्गलादेश अन्तिम पटक २०१८ मा बङबन्धु रङ्गशालामा भएको साफ च्याम्पियनशिपको समुह चरणमा भिडेका थिए । जसमा नेपालले बङ्गलादेशलाई २–० ले हराएको थियो । बिमल घर्ती मगर र नवयुग श्रेष्ठको गोलको मद्दतमा उसकै घरमा हराएको नेपालले त्यस यता बङ्गलादेशको सिनियर टोलीसँग खेलेको छैन् ।

त्यस खेलमा नेपालका प्रशिक्षक रहेका बालगोपल महर्जन संयोगवस यो पटक पनि नेपालको बागडोर सम्हाल्दै छन् । राष्ट्रिय टोलीका प्रशिक्षक योहान कालिन कोरोना भाईरसका कारण स्विडेनबाट फर्कन नसक्ने भए पछि अखिल नेपाल फुटबल संघले महर्जनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

बालगोपालले नोभेम्बर १३ र १७ तारिखमा हुने दुवै खेलका लागि आफ्नो टोली तयार भएको र दुवै खेल प्रतिस्पर्धातमक रुपमा खेल्ने विस्पोर्टजलाई बताएका छन् ।

“हामी बङ्गलादेश जितका लागि जान लागेका हौँ । लामो समयको अन्तराल पछि खेल्दै छौँ केही कठिनाई त अवश्य नै होला तर पनि हाम्रो मुख्य लक्ष्य भनेको जित नै हो,“ महर्जनले भने ।

दशरथ रंगशालामा अभ्यासका क्रममा खेलाडीलाई निर्देशन दिंदै नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन ।

उनले यस खेलले फिफा वरियतामा पनि असर पार्ने हुँदा आफ्नो टोलीले सक्दो प्रदर्शन गर्ने पनि बताएका छन् । “यो भ्रमण खेलाडी र सिँगै नेपाली टिमका लागि नै निकै महत्वपूर्ण छ र फिफा वरियतामा पनि असर पार्ने हुँदा हामी प्रतिस्पर्धात्मक रुपमै खेल्ने छौँ,“ उनले थपे ।

नेपालले कोरोनाले गर्दा आठ खेलाडी गुमाइसकेको छ । कोरोनाका कारण घरेलु लिगका खेलहरु नभएकाले नेपाली टोलीमा भने फिट्नेसको समस्या रहेको छ । कप्तान किरण चेमजोङका अनुसार पनि कोरोना र टोलीले अभ्यास गर्न पाएको कम समयका कारण फिट्नेसको चिन्ता रहेको बताए ।

“अहिलेको अवस्थामा कोरोना भाईरससँग हामी सतर्क हुनु पर्छ । हामीले अहिले सात–आठ खेलाडीहरु गुमाइसकेका छौँ,“ किरणले भने । “तर मुख्य समस्या भनेको अहिलेको अवस्थामा फिट्नेस नै हो तर हामीले हाम्रो मानसिकता निकै बलियो राख्नु पर्छ ।

“हामी हार्न जान लागेका होइनौं र मलाई लाग्छ हामी बङ्गलादेशलाई ठुलो चुनौती दिन्छौँ,“ किरणले भने ।

नेपालले बालगोपाल महर्जनको नेतृत्वमा पुरानै ४–४–२ को फर्मेसनमा खेल्न सक्ने छ ।          

बङ्गलादेशको टोलीमा भने आज सम्म कोरोना संक्रमित खेलाडी भेटिएका छैनन् । 

प्रशिक्षक जेमी डे ले पनि खेलाडीहरु सबै फिट भएको र खेलको लागि तयार भएको विस्पोर्ट्जलाई बताएका छन् । 

डे का अनुसार नेपाल विरुद्धको खेल मैत्रिपूर्ण भन्दा पनि आफ्नो खेलाडीलाई लयमा फर्काउनु रहेको छ ।

“कोभिडले खाएको यो लामो समय पछि हामी मैदानमा फर्किदै छौँ र हामी तयार पनि छौँ । नेपाल विरुद्धको खेल हाम्रो खेलाडीलाई लयमा फर्काउनुको साथ–साथै बङ्गलादेशमा फुटबल फर्काउन पनि मद्दत गर्ने छ,“ डे ले भने ।

बङ्गलादेशले आफ्नो ३६ खेलाडीको टोलीमा चार नयाँ अनुहारलाई मौका दिएको छ । कजी रिहान तारिक नाजमुल होसेन, एमएस बब्लु  र सुमोन रेजा बङ्गलादेशको टोलीमा परेका नयाँ खेलाडीहरु हुन् । 

नेपाललाई खतरा हुन सक्ने खेलाडी काजी रिहान तारिक हुन् ।

फिनल्याण्डको सबै उमेरको राष्ट्रिय टोलीमा खेलिसकेका रिहानले सिनियर टोलीका लागि भने बङ्गलादेश रोजेका थिए । बङ्गलादेशका कप्तान जमाल भुयानका अनुसार पनि उनले प्रशिक्षणमा राम्रो गरिरहेको बताए ।

“रिहान क्लब फुटबलमा धेरै नदेखिए पनि राम्रो गरिरहेका छन । आशा गरौ उनी टोलीमा पर्ने छन्,“  कप्तान जमालले भने ।

प्रशिक्षक जेमी डे का अनुसार पनि रिहानले ट्रेनिङमा देखाउने व्यवहार र खेलले नै उनी टोलीमा अटाउने बताएका छन् । 

डे ले ४–२–३–१ को फर्मेसनमा खेलाउन सक्छन् ।

 

कस्तो हुन सक्ला नेपालको शुरुवाती एघार ?

प्रशिक्षक-बालगोपाल महर्जन

कस्तो हुन सक्ला बङ्गलादेशको शुरुवाती एघार ?

प्रशिक्षक-जेमी डे

 

हेड टु हेडमा को अगाडि ?

नेपाल र बङ्गलादेश पहिलो पटक मर्डेका कपमा सन १९८३ मा आमने समाने भएका थिए । नेपाल उक्त खेलमा १–० ले पराजित भएको थियो । त्यो समयदेखि नेपाल र बङ्गलादेश १९ पटक एकअर्का विरुद्ध खेलिसकेका छन् । 

पछिल्ला पाँच खेल हेर्ने हो भने नेपालले तीनमा जित, एकमा बराबरी र एकमा पराजय भोगेको छ । नेपाल र बङ्गलादेशले कुल १९ खेल खेलिसक्दा भने नेपालले ६ मा मात्र जित निकालेको छ भने एक खेल बराबरीमा टुङ्गिएको छ ।

Click to comment

Trending