Headline

कसरी उत्पन्न भयो बायर्न र युरोपका अन्य ठूला क्लबबीचको खाडल ?

Published

on

प्रदर्शन र परिणाममा असर हुन नदिएर नै टिमको पुर्नसंरचना गर्न सकिन्छ भन्ने प्रमाण छ । त्यो प्रमाणको नाम बायर्न म्युनिख हो । पुस्तान्तरले सृजित सम्भावित खाडलमा नपरेरै बायर्नले आफ्नो टोलीको संक्रमणकालीन अवस्थालाई निकै उत्कृष्ट ढँगले ‘ह्याण्डल’ गरेको छ ।

कति टिमहरु एउटै पुस्ताका खेलाडीहरुको भरमा चाहिने भन्दा लामो समय टिक्ने प्रयासमा हुन्छन् । यो परिस्थतिलाई उचित ढँगले नसम्हाल्ने हो भने टिम खाडलमा खस्ने खतरा हुन्छ । र क्लबलाई सेवा गरेका लेजेण्डहरुको उत्तराधिकारी एकै समुहमा खेल्नका लागि अनभ्यस्त हुने हुनाले संक्रमणकालको कारण परेको चिरामा नराम्ररी च्यापिदै जान्छन् ।

संक्रमणकालको सामान्य अभ्यासमा भेटेरानहरुलाई बाहिरको ढोका देखाइन्छ भने नयाँ खेलाडीहरुको सुस्त आगमन हुने गर्छ । कतै यो प्रकृयाले काम गर्छ, कतै गर्दैन । टिम पुरानै लयमा फर्कनु अघि नै एक, दुई या तीन सिजन बितिसकेको हुन्छ ।

सर्जि नाब्री, अल्फोन्सो डेभिस र जोशुवा किमिचजस्ता नयाँ खेलाडीहरुलाई टिमसँग घुलमिल गराउदै बायर्न थोमस मुलर, मानुएल नोयर र रोबर्ट लेवान्डोस्की लगायतका आफ्ना प्रमुख भेटेरानहरुलाई अझै पनि छरितो र उत्पादक बनाउन सफल भएको छ । अन्य युवा खेलाडीहरु पनि पर्याप्त ‘प्लेयिङ्ग टाइम’ पाउन सफल भएका छन् ।

पुस्ता हस्तान्तरणमा कुनै कठिनाईको सामना नगर्दै बायर्नले लगातार नवौं बुन्डेसलिगा उपाधिको दाबेदारी र च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने अभियान थालेको छ ।

बायर्नले तयार पारेको संरचनामै उसको यो सफलताको ‘सिक्रेट (गोप्य) फ्याक्टर’ छ । एक मेगा क्लब बन्नको लागि चाहिएको ब्राण्डिङ्ग, मार्केटिङ्ग र रेभिन्यु संयन्त्र बायर्नसँग छ । आफ्नो पहिलो टोलीको दिगो योजनालाई सुरक्षित राख्नका लागि बनेको बायर्नको सिस्टमले मैदानमा आएको परिणामको आधारमा प्रशिक्षकहरुको पनि राम्रो हेरचाह गर्ने गरेको छ ।

बायर्नले गरेको अभ्यासमै अन्य मेगा क्लबहरु पछि परेका छन् । नाम नै लिने हो भने यी मेगा क्लबहरु म्यानचेस्टर युनाइटेड र बार्सिलोना हुन् ।

इङ्गलिस प्रिमियर लिगमा पनि खराब प्रदर्शन गर्दै आइरहेको म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिगमा टर्किस क्लबसँगको हार उसको निरन्तरको असफलताको अर्को एक अध्याय हो ।

एलेक्स फर्गुसनले २०१३ मा अन्तिम पटक प्रिमियर लिग जिताएर क्लब छोडे यता युनाइटेड लगातार खस्कदै गएको छ । २०१७ को युरोपा लिग उपाधि फर्गुसनको बहिर्गमनपछि युनाइटेडले हात पारेको सबैभन्दा ठूलो उपलब्धि हो । तर ठूला क्लबहरुले खेल्न नरुचाउने प्रतियोगिताको उपाधि जित्दा युनाइटेडलाई खुशी शायद च्याम्पियन्स लिग खेल्न पाएको अवसरको मात्रै थियो ।

अहिले ओले गुनर सोल्सायरको व्यवस्थापनमा रहेको युनाइटेड ६ खेलपछि १५ औं स्थानमा रहेको छ । एक खेल बाकी नै रहेको अवस्थामा केही स्थान माथि चढ्न सकेपनि युनाइटेडको झर्दो ग्राफ निकै उदेक लाग्दो छ ।

यहा के हुन पुगेको छ भने ब्रान्डिङ्ग र मार्केटमा पैसा खर्च गर्ने पक्षमा युनाइटेड सबल नै देखिन्छ । उपाधि जितेपछि आउने करोडौं नगद पुरस्कारबाट बञ्चित भएपनि रेभिन्यु अनुसार क्लबलाई बरियता दिने डेलोइट फुटबल मनि लिगमा पनि युनाइटेड लगातार माथिल्लो तीन स्थान ओगट्दै नै आइरहेको छ । युनाइटेड यस्तो ग्लोबल कम्पनी हो जसले पैसाको मामिलामा धेरै क्लबहरुलाई पछाडी छोड्न सक्छ ।

तर फर्गुसनको सन्यासपछि टेक्निकल डिरेक्टर, प्रमुख स्काउट र समयको माग अनुसार ट्रान्सफर सिजनलाई शही ढँगले उपयोग गर्न सक्ने संरचना युनाइटेडमा खडा हुन सकेको छैन । युनाइटेडले आफूलाई बिश्वबिजेता जसरी बेचिरह्यो । युनाइटेड एक ब्राण्डको रुपमा मात्र पैसा कमाइरह्यो । र ब्राण्डकै रुपमा खेलाडीहरुमा अथाह पैसा खर्च गरिरह्यो । धेरै राम्रा खेलाडीहरु एकै क्लबमा फिट हुदैनन् र युनाइटेडले पूर्ण रुपमा सक्षम नरहेको प्रशिक्षकलाई सबै जिम्मा दिएर छोडिदिएको छ ।

युनाइटेडको समस्या बार्साभन्दा अलिकति मात्र फरक रहेको छ । पछिल्लो १५ बर्षमा प्राप्त सफलताहरुका कारण एकै किसिमको आम्दानी, इज्जत र अपेक्षा कायम रहनु बार्साको समस्या हो । फुटबल मनि लिगले भर्खरै प्रकाशित गरेको नयाँ सुचिमा बार्सा सबैभन्दा बढी रेभिन्यु निकाल्ने क्लब बन्यो । तर बोर्ड, टेक्निकल डिरेक्टर र प्रमुख प्रशिक्षकको परिवर्तनसँगै मेस्सी पाको हुदै गएपछि क्लब कस्तो देखिनेछ भनेर कसैले खाका नै तयार पार्न सकेन ।

जेरार्ड पिके, सर्जियो बुस्के, आन्द्रेस इनिएस्ता र जाभीजस्ता ला मासिया एकेडेमीबाट आएका एक पुस्ताका खेलाडीहरु ३० बर्षको भइसकेपछि के हुन्छ कसैले सोचेन ।

एक पुस्ताका उत्कृष्ट खेलाडीहरुको दममा पाएको सफलताले मात्तिएको बार्सिलोना योजनाबिहिन बन्दा अहिले मेस्सीजस्ता महान खेलाडी पनि असफलताको चाँगमा पुरिन थालेका छन् ।

युनाइटेड जस्तै बार्साले पनि प्रतिभावान खेलाडीहरुमा मनग्गे खर्च गर्यो । तर उनीहरु यस्ता प्रतिभावान खेलाडी निक्लिए जसले गर्दा बार्सा हाल पछिल्लो चार ला लिगा खेलमा जितबिहिन रहदै १२ औं स्थानमा छ । रोनाल्ड कोमन प्रशिक्षणमा रहनुका साथै जोसेप मारियो बार्तोमेउ अध्यक्ष कायम हुदा बार्सा युद्ध नै हुने गरि समुहगत रुपमा टुक्रिन पुग्यो ।

युनाइटेड र बार्सा आफैले बुनेको जालमा फसेका हुन् । उनीहरुले आफूलाई मार्केटमा सधैको बिजेता जसरी देखाइरहेका छन् । आफ्नो सुदृढ आर्थिक अवस्थालाई निरन्तरको बिजयी टोलीमा रुपान्तर गर्न दुवैले कुनै बलियो आधार नै तयार नपारी यसो गरिरहेका हुन् । पुर्नसंरचना मात्र नभएर क्लब नै ‘रिसेट’ गर्नुपर्ने अवस्था आएपछि दुवै बिश्व फुटबलमा नराम्ररी ‘एक्सपोज’ भएका छन् ।

संक्रमणकाललाई नजर अन्दाज गर्दै आफैलाई महान क्लबको रुपमा निरन्तर स्थापित गर्दा युनाइटेड र बार्सिलोना जस्तो उचाइ भएका क्लबहरुले एक सिजन पनि छुट्टी लिन मिल्दैन । तर सबै समस्याको निराकरण गर्दै टिमलाई ‘ट्रयाक’ मा ल्याउन शायद एक बर्ष वा त्यो भन्दा बढी लाग्ला ।

दुवै क्लबलाई अब हावाको बेगसँगै पुर्नसंरचना गर्न आवश्यक देखिन्छ । उनीहरुलाई आफु जुन घरमा बस्दै आएका छन् त्यहा बस्दै जिर्णोद्धार गर्नुपर्ने दवाब छ । यो कामले मुर्तरुप पाउनेमा शंका नै छ । पहिले नै योजनाबद्धरुपले अघि बढेको भए अहिलेको स्थितिबाट बाहिर आउन सकिन्थ्यो ।

बार्सा र युनाइटेडसँग त्यस्तो कुनै योजना नै छैन ।

बायर्नसँग छ ।

त्यसैले यी तीन मध्ये एक क्लब घरेलु लिगमा लगातार ८ पटकको बिजेता हुनुका साथै युरोपियन च्याम्पियन पनि हो । योजना नभएकै कारण अन्य दुई भने आफ्नो घरेलु लिगको अंक तालिकामा मिड टेबलमा समेत छैनन् ।

Click to comment

Trending