Headline

डिएगो म्याराडोना: एक कुख्यात जीवन

Published

on

भड्किलो जीवन शैलिका कारण कुख्यात बनेका डिएगो म्याराडोना आफ्नो चरित्र बिपरित निकै शान्त तवरमा शुक्रवार ६० बर्ष पुगेका छन् । कोरोना भाइरस महामारीबाट बच्नका लागि म्याराडोना अहिले आफ्नै घरमा सेल्फ आइसोलेसनमा छन् ।

पछिल्लो दुई दशकमा दुई पटक ह्रदयघात हुनुका साथै हेपाटाइटिस संक्रमण पनि भइसकेका म्याराडोना आफ्ना बडिगार्डलाई कोरोनाको लक्षण देखिएपछि सेल्फ आइसोलेसनमा गएर सतर्कता अपनाएका हुन् । लागु पदार्थ कोकेन र रक्सीको अत्याधिक सेवनले बिस्तारै अहिले म्याराडोनाको स्वास्थ्यमा पनि असर गर्न थालिसकेको छ ।

“उनी स्वस्थ रहिरहन्छन् भन्ने कुरा असम्भव जस्तै थियो,” उनका पुर्व राष्ट्रिय टोली र अर्जेन्टिनी घरेलु फुटबलको महारथी क्लब बोका जुनियर्स समकालीन ह्युगो पेरोट्टीले केही महिनाअघि भनेका थिए । उत्कृष्ट प्रतिभा र गर्विलो इतिहासले उचाइ लिएको उनको करिअर तर अनैतिक र झण्डै समस्याग्रस्त जीवनतर्फ इँगित गर्दै पेरोट्टीले भने ।

राजधानी ब्युनोस आयरेसको निकै गरिव बस्तीमा १९६० अक्टोबर ३० का दिन जन्मिएका डिएगो अर्मान्डो म्याराडोना निकै चाडो बिशेष प्रतिभाको रुपमा अगाडी आए । त्यस यता क्यारिजम्याटिक र बिरोधाभासपूर्ण म्याराडोना धेरै पटक लडे तर निकै अद्वितीय र अपरिहार्यताका साथ खाडलबाट आकाश छुदै गए ।

२०१० को बिश्वकपको मुख्य आकर्षण म्याराडोना र मेस्सी नै थिए तर यो जोडी सफल हुन सकेन

उपेक्षापूर्ण र सरल, साहसी, निष्ठावान साथी र प्रतिशोधपूर्ण शत्रु म्याराडोनामा एक चुम्बकीय आकर्षण हुन्थ्यो ।

“१८ बर्षको उमेरमा म्याराडोना अफ्रिकामा हिड्न नै सक्दैन थिए । एउटा बिमान आकाश मै अड्कियो किनभने हजारौ मानिसहरु उनलाई हेर्न रनवे मै पुगेका थिए,” पेरोट्टी सम्झन्छन् । “यो १९८१ को कुरा हो जब संसारमा इन्टरनेट, मोबाइल फोन केही थिएन । उनले सबै मानिस र बाधा अड्चन पार गर्दै अगाडी हिडे । र मलाई लाग्छ उनले यसको मुल्य पनि चुकाए ।”

भगवान सरह पुजिएका

म्याराडोनाको जीवनमा पहिले उचाइ आयो । बोका जुनियर्सलाई अर्जेन्टिनी प्रथम श्रेणीको लिग जिताए लगत्तै उनले २१ बर्षको उमेरमै स्पेनिस महारथी बार्सिलोनासँग सम्झौता गरे । २५ बर्षको उमेरमा उनले व्यहारिक रुपमै अर्जेन्टिनालाई आफ्नो बलबुतामा १९८६ मा मेक्सिकोमा भएको बिश्वकप जिताए ।

इङ्गल्याण्डबिरुद्धको क्वार्टर–फाइनलमा उनले आफूभित्रको राक्षस र जिनियस दुवै बाहिर ल्याएर देखाए । पहिले उनले हातले गोल गरे जसलाई उनले पछि ह्याण्ड अफ गडको नाम दिए र त्यही अनुरुप चर्चा पनि कमाए । त्यसपछि मैदानको आफ्नो भागबाट बल लिएर बेगसँग कुद्दै इङ्गल्याण्डको डिफेन्स तोडी बिश्वकप इतिहासकै उत्कृष्ट मध्येको एक गोल गरे ।

१९८६ बिश्वकपको क्वार्टर–फाइनलमा इङ्गल्याण्डबिरुद्ध हातले गोल गर्दै म्याराडोना

त्यसपछि उनलाई अर्जेन्टिनामा यसरी भगवानको रुपमा पुजा गरियो की त्यसको कुनै सिमा नै रहेन । उनको समर्थकहरुको एक समुहले चर्च अफ म्याराडोना बनाएर उनलाई अदभुत सम्मान नै दिए । अर्को बर्ष म्याराडोनाले नापोलीलाई क्लब इतिहासको पहिलो इटालियन सिरी आ उपाधि जिताए । तीन बर्षपछि नापोलीलाई उनले अर्को घरेलु उपाधि जिताएर नेपल्समा पनि आफ्नो किर्तीको खम्बा गाडे ।

“‘आइ उड लाइक टु अल्वेज वाच डिएगो, ड्रिब्लिङ्ग फर अल एटर्नीटी’ (म अनन्तकालको लागि डिएगोले बल ड्रिबल गरेको सधै हेर्न चाहन्छु),” म्याराडोनालाई समर्पण गरेर लेखिएका रक ब्याण्ड राटोनेस पारानोइकोसका कैयौं गितहरुमध्येको एकमा भनिएको छ ।

तर म्याराडोनाको अवसान शुरु भइसकेको थियो ।

उनीहरुले मेरो खुट्टा काटिदिए

१९९० को बिश्वकप फाइनलमा पश्चिम जर्मनीसँग १–० ले पराजित हुदै उपाधि अर्जेन्टिनालाई उपाधि रक्षा गराउन नसकेपछि म्याराडोनाले आसुको बाढी नै बगाएका थिए । त्यसको एक बर्षपछि नै नापोलीमा उनको करिअर ध्वस्त हुन पुग्यो जब उनलाई कोकेन सेवन गरेको आरोपमा १५ महिनाको प्रतिबन्ध लगाइयो । उनी बार्सिलोनामा रहदा देखि नै कोकेन लिन थालेको हल्ला चलेको थियो ।

१९९४ मा अमेरिकामा भएको बिश्वकप म्यराडोनाले आफैलाई पुनरुत्थान गर्ने एउटा सही प्ल्याटफर्म थियो तर अर्को डोपिङ्ग टेस्टमा फेल भएपछि उनलाई फेरि अर्जेन्टिना फर्काइयो । “उनीहरुले मेरो खुट्टा काटिदिए,” बिश्वकपमा सहभागी हुन नपाएपछि म्याराडोनाले भनेका थिए ।

सन् १९९१ मा उनको अपार्टमेन्टबाट आधा किलो कोकेनसहित नियन्त्रणमा लिदै अर्जेन्टिनी पुलिस

यथार्थपरक रुपमा उनले अर्को दुई बर्ष बोका जुनियर्सबाट खेलेपनि उनको करिअर भने समाप्त भइसकेको थियो । २१ बर्षे करिअरमा उनले ६ सय ७९ म्याच खेल्दै ३ सय ४६ गोल गरेका थिए ।

प्रशिक्षकको रुपमा उनले त्यही किसिमको सफलता भने पाउन सकेनन् । लियोनेल मेस्सी रहेको अर्जेन्टिनी टोलीको प्रशिक्षण २०१० को लागि म्याराडोनाले सम्हालेपनि उनको टोली दक्षिण अफ्रिकामा जर्मनीसँग क्वार्टर–फाइनलमा ४–० ले हार्दै बाहिरिन पुग्यो । तर उनको नामले नै उनलाई कामको कमि नहुने निश्चित थियो । म्याराडोनाले युएई, अर्जेन्टिना र मेक्सिकोमा पनि क्लबहरु सम्हाले । अहिले उनी अर्को मेक्सिकन प्रथम श्रेणीको क्लब जिम्नाजिया सम्हालिरहेका छन् ।

लापरवाह

म्याराडोनाको धेरै जसो प्रशिक्षणकाल खराब स्वास्थ्यकै कारण अवरुद्ध बन्दै आएको छ । कतिपय खराबी त उनी आफैले निम्त्याएका हुन् । सन् २००१ मा आफूले सन्यास लिएको चार बर्षपछि बोका जुनियर्सको घरेलु मैदान बम्बोनेरामा उनले खचाखच भरिएको रँगशालामा आफ्नो कुलततर्फ इशारा गर्दै भनेः “मैले गल्तिहरु गरेको थिए र त्यसको मुल्य पनि चुकाए तर फुटबलको माया अहिले पनि उस्तै छ ।”

यो भनेको एक बर्ष अघि म्याराडोनालाई उरुग्वेको एउटा रिसोर्टमा छुट्टी मनाएर फर्किदै गर्दा पहिलो पटक ह्रदयघात भएको थियो । २००४ मा मात्र पाँच फिट पाँच इन्च कद भएका म्याराडोना १ सय किलो भन्दा बढी वजनका थिए र त्यही समय उनलाई अर्को ह्रदयघात हुन पुग्यो ।

दोश्रो ह्रदयघातले मृत्यु नजिक नै पुगेपछि उनले ग्यास्ट्रिक बाइपास सर्जरी गर्दै ५० किलो तौल घटाउने कठिन निर्णय लिए । उनको समस्या त्यही भने थामिएको थिएन । निरन्तर मदिरा सेवनका कारण हेपाटाइटिस संक्रमण भएपछि उनलाई २००७ मा दुई पटक हस्पिटल कुदाउनु परेको थियो । त्यसपछि उनलाई मनोपरामर्षविदहरुले नै उपचार गरेका थिए ।

मुखमा क्युबन सिगारको धुवा उडाइरहेका म्याराडोना आफ्नो सिग्नेचर पोजमा

तैपनि म्याराडोना कहिल्यै पनि गुमनाम भएनन् र हेडलाइन बनिरहे । यसको मुख्य कारण थियो ल्याटिन अमेरिकाका लेफ्टिस्ट क्रान्तिकारी नेताहरुसँगको सम्बन्ध । क्युबाका पुर्व राष्ट्रपति फिडेल कास्ट्रो र भेनेजुएलाका पुर्व राष्ट्रपति ह्युगो चाभेजसँग उनको बिशेष सम्बन्ध थियो । उनी धेरै जसो यी दुई नेताहरुलाई भेट्न जाने गर्थे जसले गर्दा उनलाई अमेरिकी सरकारले पनि रुचाउने गरेन ।

२५ बर्षसम्म म्याराडोनाले आफ्नो दुई सन्तान मात्र रहेको बताए । २४ बर्षसम्म उनको पत्नीको रुपमा रहेकी बाल्यकालदेखिको संगिनी क्लाउडिया भिलाफानेबाट उनकी दुई छोरी डाल्मा र जियानीना मात्र रहेको उनले बताउने गर्थे । तर क्लाउडियासँगको सम्बन्धबिच्छेदपछि भने उनको इटाली, क्युबा र अर्जेन्टिनामा अरु पाँच बच्चा रहेको स्विकारेका थिए ।

२०१३ पुर्व प्रेमिका भेरोनिका ओडेजाले म्याराडोनाको छोरा डिएगो फर्नान्डोलाई पनि जन्म दिएकी थिइन् । “तीनवटा अझै अनि त्यसपछि तपाईको ११ जनाको फुटबल टिम नै हुन्छ । तपाई गर्न सक्नुहुन्छ,” जियानिनाले म्यराडोनालाई इन्स्टाग्राममा चिढाउदै भनेकी थिइन् ।


(अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको यो लेख म्याराडोनाको निधनअघि तैयार पारिएको थियो ।)

Click to comment

Trending