IPL

बेन स्टोक्सको शतकमा राजस्थानको रोमान्चक जित

Published

on

बेन स्टोक्सले अविजित शतक तथा सन्जु सामसनले अविजित अर्धशतक प्रहार गरे पछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ४५औं खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्स माथि आठ विकेटको रोमान्चक जित हात पारेको छ ।

आजको जित पछि १२ खेलमा १० अंक सहित राजस्थान छैठौं स्थानमा उक्लिएको छ भने हारका बाबजुद मुम्बई १४ अंकका साथ अंक तालिकाको पहिलो स्थानमा यथावत छ ।

जितका लागि १९६ रनको विशाल लक्ष्य लिएर ब्याटिङमा आएको राजस्थानले १८ दशमलब दुई ओभर खेल्दै दुई विकेटको नोक्सानीमा जित दर्ता गरायो ।

राजस्थानको जितमा ओपनर बेन स्टोक्सले ६० बल खेल्दै १४ चौका र तीन छक्काको मद्धतमा सर्वाधिक १०७ रन बनाए भने सन्जु सामसनले पनि ३१ बलमा चार चौका र तीन छक्का सहित ५४ रनको पारी खेले । आईपीएलमा स्टोक्सको यो दोश्रो शतक हो । ४४ रनमा दुई विकेट गुमाएको राजस्थानलाई सहज जित दिलाउने क्रममा स्टोक्स र सामसनले तेश्रो विकेटका लागि १३ दशमलब चार ओभरमा अविजित १५२ रनको साझेदारी गरे ।

मुम्बईका जेम्स प्याटिनसनले दुई विकेट हात पारे भने अन्य बलरहरु विकेट बिहिन रहे ।

१० खेल खेलेको मुम्बई १४ अंक सहित अंक तालिकाको पहिलो स्थानमा रहेको छ भने आठ अंक रहेको राजस्थान अंक तालिकाको पुछारमा छ ।

यस अघि हार्दिक पान्ड्याले तुफानी पारी खेल्दै अर्धशतक प्रहार गरे पछि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १९६ रन बनायो ।

मुम्बईको तर्फबाट छैठौं नम्बरमा ब्याटिङ गर्न आएका पान्ड्याले २१ बलको सामना गर्दै अविजित ६० रन बनाए । तुफानी पारी खेलेका उनले दुई चौका र सात छक्का प्रहार गरे । पान्ड्याले कार्तिक त्यागीको अन्तिम ओभरमा तीन छक्का र दुई चौका प्रहार गर्दै मुम्बईलाई विशाल योगफल सम्म पुर्याय ।

त्यस्तै मुम्बईका अन्य ब्याट्सम्यानहरुमा सुर्य कुमार यादवले २६ बलमा ४० रन, ओपनर इशान किशानले ३७ रन तथा सौरभ तिवारीले २५ बलमा ३४ रनको योगदान दिए ।

राजस्थानका श्रेयस गोपाल र र जोफ्रा आर्चरले समान २-२ विकेट लिए भने कार्तिक त्यागीले पनि आफ्नो नाममा एक विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि भएको पहिलो लेगमा मुम्बईले राजस्थानलाई ५७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको मुम्बईले चार विकेटको नोक्सानीमा १९३ रन बनायो भने जवाफी ब्याटिङ गरेको राजस्थानले १८ दशमलब एक ओभरमा आफ्ना सबै विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो ।

Click to comment

Trending