IPL

कोहलीको अर्धशतकमा बेंगलोरले चेन्नाईलाई दियो सामान्य लक्ष्य

Published

on

कप्तान बिराट कोहलीको अर्धशतकको बाबजुद इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४४औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नाई सुपर किंग्सलाई १४६ रनको सामान्य लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको बेंगलोरले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १४५ रनको सामान्य योगफल बनायो ।

बेंगलोरको तर्फबाट कप्तान बिराट कोहलीले सर्वाधिक ५० रन बनाए भने एबी डि भिलियर्सले पनि ३९ रनको पारी खेले । ४३ बलमा समान एक चौका र एक छक्का प्रहार गरेका कोहली र ३६ बलमा चार चौका प्रहार गरेका डि भिलियर्सले तेश्रो विकेटका लागि ८२ रनको साझेदारी गरे ।

कोहली र डि भिलियर्स बाहेक ओपनरद्वय देवदत्त पडिकल र आरोन फ़िञ्चले क्रमश २२ र १५ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बेंगलोरलाई सस्तैमा रोक्ने क्रममा साम कुर्रानले सर्वाधिक तीन विकेट लिए भने दिपक चाहारले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए । कुर्रानले तीन ओभरमा १९ रन मात्र खर्चिए ।

आजको खेलमा बेंगलोरले एक तथा चेन्नाईले दुई परिवर्तन गरेका छन् । बेंगलोरले इसरु उडानाको स्थानमा मोइन अलीलाई तथा चेन्नाईले शार्दुल ठाकुर र जश ह्याजलउडको स्थानमा मोनु कुमार र मिचेल स्यन्टनरलाई सुरुवाती ११ मा खेलाउने भएको छ ।

आजको खेलमा पराजित भएको खण्डमा चेन्नाई प्रतियोगिताबाट बाहिरिने छ भने जित निकालेमा प्लेअफको आशा कायम राख्नका लागि ठुलो अन्तरको जित अवश्य पर्नेछ । बेंगलोरले भने आजको खेलमा जित हात पार्न सक्यो भने लगभग प्लेअफमा पुग्नेछ ।

यस अघि भएको पहिलो लेगमा बेंगलोरले चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १६९ रन बनायो भने १७० रनको लक्ष्य सहित ब्याटिङमा आएको चेन्नाईले २० ओभरमा आठ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।

Click to comment

Trending