IPL

हैदराबाद माथि पन्जाबको सनसनीपूर्ण जित 

Published

on

अन्तिम १३ बलमा सनराईजर्स हैदराबादले छ विकेट गुमाउंदा इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३औं खेलमा किंग्स ११ पन्जाबले १२ रनको सनसनीपूर्ण जित दर्ता गराएको छ । ११औं खेलमा पन्जाबको यो पाँचौं जित हो भने ११ खेल नै खेलेको हैदराबादको यो सातौं हार हो ।

जितका लागि १२७ रनको झिनो लक्ष्य लिएर ब्याटिङ गर्न आएको हैदराबादले १९ दशमलब पाँच ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ११४ रन बनाउन सक्यो ।

१०० रनको अवस्थामा चौथों विकेट गुमाएको हैदराबादले १४ रन जोड्दा बाँकी छ विकेट गुमाउन पुग्दा लज्जास्पद हारको सामना गर्न पुगेको हो ।

पन्जाबलाई जित दिलाउने क्रममा अर्शदिप सिंहले अन्तिम ओभरमा तीन विकेट लिए भने क्रिस जोर्डनले १९औं ओभरमा दुई विकेट हात पारे । सिंह र जोर्डनले समान ३-३ विकेट आफ्नो नाममा दर्ता गराउन सफल भए ।

हैदराबादक ओपनर कप्तान डेभिड वार्नरले २० बलमा सर्वाधिक ३५ रन बनाए भने विजय शंकरले पनि २६ रनको पारी खेले । त्यस्तै जोनी बेरिस्टोले १९ रन, मनिष पाण्डे १५ रन तथा अब्दुल सामद सात रन बनाएर पेभेलियन फर्किए भने त्यस पछिका कुनै पनि ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् भने तीन जनाले रनको खाता पनि खोल्न भ्याएनन् ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १२६ रन मात्र बनाउन सक्यो ।

६६ रनको अवस्थामा दोश्रो विकेट गुमाएको पन्जाबले त्यस पछि ६० रन भन्दा जोड्न नसक्दा सानो योगफलमा रोकिन पुग्यो । पन्जाबको तर्फबाट सर्वाधिक रन बनाएका निकोलस पुरणले चौथों नम्बरमा ब्याटिङ गर्न आएका २८ बलमा दुई चौका प्रहार गर्दै अविजित ३२ रन बनाए ।

पन्जाबको लागि ओपनरद्वय कप्तान केएल राहुल र मन्दिप सिंहले क्रमश २७ र १७ रन बनाए भने तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका क्रिस गेल पनि २० रन मात्र बनाएर आउट भए । ग्लेन म्याक्सवेल पनि १२ रन बनाएर पेभेलियन फर्किए भने त्यस पछिका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पन्जाबलाई सानो योगफलमा समेट्ने क्रममा रशिद खान, जेसन होल्डर र सन्दिप शर्मा समान २-२ विकेट हात पारे । किफायती बलिङ गरेका रशिदले चार ओभरमा मात्र १४ रन खर्चिए ।

Click to comment

Trending