IPL

एकै खेलमा दुई सुपर ओभर, मुम्बई माथि पन्जाबको सनसनीपूर्ण जित

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो नवौं खेलमा किंग्स ११ पन्जाबले मुम्बई इन्डियन्सलाई दोश्रो सुपर ओभरमा पराजित गर्दै १३औं संस्करणमा तेश्रो जित हात पारेको छ ।

दोश्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको मुम्बईले ११ रन बनाउन सक्यो भने १२ रनको लक्ष्य लिएर ब्याटिङमा आएको पन्जाबले चार बल खेल्दै जित दर्ता गर्यो ।

पहिलो सुपर ओभरमा पन्जाबले पाँच रन मात्र बनाउन सक्यो भने पाँच रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको मुम्बईले पनि पाँच रन नै बनाउंदा खेल दोश्रो सुपर ओभरमा पुग्यो ।

जितका लागि १७७ रनको चुनौती लिएर ब्याटिङ गर्न आएको पन्जाबले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १७६ रन बनाउन सके पछि खेल सुपर ओभरमा गएको हो ।

पन्जाबको लागि कप्तान केएल राहुलले सर्वाधिक ७७ रन बनाए । ओपनिङमा आएका राहुल १७ दशमलब तीन ओभरमा जस्प्रित बुम्राको बलमा बोल्ड हुनु अघि ५१ बलको सामन गर्दै सात चौका र तीन छक्का प्रहार गरे । आजको खेलमा राहुलले यस सिजन आफ्नो व्यक्तिगत रन संख्या पनि पाँच सय कटाए ।

राहुल पेभेलियन फर्किंदा पन्जाबलाई जितका लागि १५ बलमा २४ रन आवस्यक रहेको अवस्थामा दिपक होडा र क्रिस जोर्डनले छैठौं विकेटका लागि मात्र २३ रन जोड्न सक्दा खेल सुपर ओभरमा गयो । अन्तिम बलमा दुई रन चाहिए पनि आठ बलमा १३ रन प्रहार गरेका जोर्डन रन आउट हुँदा पन्जाब रोमान्चक जित दर्ता गर्नबाट बन्चित रह्यो । अविजित रहेका होडाले १६ बलमा २३ रन बनाए ।

पन्जाबका अन्य ब्याट्सम्यानमा मायंक अगरवाल ११, क्रिस गेल २१ बलमा २४ रन, निकोलस पुरण १२ बलमा २४ रन, ग्लेन म्याक्सवेल दुई बल खेल्दै डक आउट भए ।

मुम्बईका जस्प्रित बुम्राले किफायती बलिङ गर्दै चार ओभरमा २४ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे भने राहुल चाहारले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराउन सफल रहे ।

यस अघि काइरन पोलार्ड र नाथन काउल्टर नाइलले अन्तिम २१ बलमा ५७ रन जोडे पछि खराब सुरुवातका बाबजुद खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मुम्बईले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १७६ रन बनायो ।

मुम्बईको तर्फबाट ओपनर क्विन्टन डि ककले ४३ बल खेल्दै समान ३-३ चौका र छक्काको मद्धतमा ५३ रन बनाए । त्यस्तै कुर्नाल पान्ड्याले पनि ३० बलमा ३४ रन जोडे ।

१६ दशमलब तीन ओभरमा छ विकेट गुमाएको मुम्बईको लागि अविजित रहेका काइरन पोलार्डले १२ खेल्दै एक चौका र चार छक्काको मद्धतमा ३४ तथा नाथन काउल्टर नाइलले पनि १२ बल नै खेल्दै चार चौका सहित २४ रन बनाए । पोलार्ड र निलले मात्र तीन दशमलब तीन ओभरमा अविजित ५७ रन जोड्दै मुम्बईलाई ठुलो योगफल सम्म पुर्याए ।

पन्जाबका मोहम्मद शामी र आर्शदिप सिंहले समान २-२ विकेट हात पारे ।

यस अघि भएको पहिलो लेगमा मुम्बईले पन्जाबलाई ४८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १९१ रन बनायो भने जवाफी ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा मात्र १४३ रन बनाउन सक्यो ।

Click to comment

Trending