IPL

फर्गुसनको घातक बलिङमा सुपर ओभरमा हैदराबाद माथि कोलकाताको रोमान्चक जित 

Published

on

सुपर ओभरमा लोकी फर्गुसनले दुई रन दिएर दुई विकेट लिए पछि इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो नवौं चरणको खेलमा कोलकाता नाइटराईडर्सले सनराईजर्स हैदराबाद माथि रोमान्चक जित दर्ता गराएको छ ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको हैदराबादले मात्र दुई रन बनाउन सक्यो । फर्गुसनले घातक बलिङ गरे पछि सुपर ओभरको पहिलो बलमा नै कप्तान डेभिड वार्नर बोल्ड भए । दोश्रो बलमा अब्दुल सामदले दुई रन लिए पनि तेश्रो बलमा बोल्ड हुन पुगे । जवाफी ब्याटिङ गरेको कोलकाताले चार बलमा जित हात पार्यो ।

जितका लागि १६४ रनको सामान्य लक्ष्य सहित ब्याटिङमा उत्रिएको हैदराबादले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १६३ रन बनायो ।

हैदराबादको लागि ओपनरद्वय जोनी बेरिस्टो र केन विलियमसनले राम्रो सुरुवात दिए । उनीहरुले पहिलो विकेटका लागि छ दशमलब एक ओभरमा ५८ रन जोडे । तर १९ बलमा २९ रन बनाएका विलियमसन र २८ बलमा ३६ रन बनाएका बेरिस्टोको विकेटको पतनसँगै हैदराबादको पारी पनि ध्वस्त हुन सुरु गर्यो ।

हैदराबादका प्रियम गर्ग चार, मनिष पाण्डे छ तथा विजय शंकर सात रन बनाएर आउट हुँदा हैदराबाद हार नजिक पुग्यो ।

तर कप्तान डेभिड वार्नर र अब्दुल सामदले हैदराबादको पारी सम्हाले । १९औं ओभरको अन्तिम बलमा आउट भएका सामदले १५ बल खेल्दै दुई चौका र एक छक्काको मद्धतमा २३ रन बनाए ।

जितका लागि हैदराबादलाई अन्तिम ओभरमा १८ रन चाहिएको अवस्थामा कप्तान वार्नरले लगातार तीन चौका प्रहार गर्दै खेललाई जित तर्फ लगे । अन्तिम दुई बलमा चार रन चाहिएको अवस्थामा तीन रन मात्र जोड्न सक्दा खेल सुपर ओभरमा पुग्यो । आजको खेलमा चौथों नम्बरमा ब्याटिङ गर्न आएका वार्नरले ३३ बल खेल्दै पाँच चौकाको मद्धतमा अविजित ४८ रनको पारी खेले ।

किफायती बलिङ गरेका लुकी फर्गुसनले कोलकाताको तर्फबाट सर्वाधिक तीन विकेट हात पारे । चार ओभर बलिङ गरेका उनले मात्र १५ रन खर्चिए ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १६३ रन मात्र बनाउन सक्यो ।

कोलकाताका ओपनर शुबमन गिलले ३७ बल खेल्दै सर्वाधिक ३६ रन बनाए भने अर्का ओपनर राहुल त्रिपाठीले पनि २३ रन मात्र जोड्न सके । त्यस पछिका ब्याट्सम्यानहरु नितिश राना २९, आन्द्रे रसेल नौं रनमा पेभेलियन फर्किए ।

पारीको अन्तिम बलमा आउट भएका कप्तान ओइन मोर्गनले २३ बलमा ३४ रन बनाए भने अविजित रहेका दिनेश कार्तिकले १४ बलमा २९ रनको पारी खेले । । १४ दशमलब छ ओभरमा कुल स्कोर १०५ रन हुँदा पाँच विकेट गुमाएर धराशायी भएको कोलकाताको पारी सम्हाल्ने क्रममा मोर्गन र कार्तिकले पाँचौं विकेटका लागि अन्तिम पाँच ओभरमा ५८ रनको साझेदारी गर्दै सम्मानजनक स्कोर सम्म पुर्याय ।

हैदराबादका टि नटराजनले चार ओभरमा ४० रन खर्चिएर सर्वाधिक दुई विकेट लिए भने विजय शंकर चार ओभरमा २० रन तथा रशिद खानले चार ओभरमा नै २८ रन दिएर आफ्नो नाममा समान १-१ विकेट दर्ता गराए ।

कोलकाता र हैदराबाद दुबैले आजको खेलमा २-२ परिवर्तन गरेका छन् । हैदराबादले बासिल थम्पी र अब्दुल समादलाई तथा कोलकाताले कुलदिप यादव र लोकी फर्गुसनलाई सुरुवाती ११ मा स्थान दिएका छन् ।

समान ८-८ खेल खेलेका कोलकाता र हैदराबाद अंक तालिकामा क्रमश आठ र छ अंकका साथ अंक तालिकाको चौथों र पाँचौं स्थानमा रहेका छन् । कोलकाताले समान ४-४ खेलमा जित र हार व्यहोरेको छ भने हैदराबादले पाँच खेलमा पराजय भोग्दा तीन खेलमा मात्र जित दर्ता गराउन सफल भएको छ ।

यस अघि भएको पहिलो लेगमा कोलकाताले हैदराबादलाई सात विकेटले पराजित गरेको थियो । मनिष पाण्डेको अर्धशतकमा हैदराबादले २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा मात्र १४२ रन बनाउन सक्यो भने ओपनर शुबमन गिलको अविजित ७० रन तथा ओइन मोर्गनको अविजित ४२ रनको मद्धतमा खराब सुरुवातका बाबजुद कोलकाताले १८ ओभर खेल्दै तीन विकेटको नोक्सानीमा जित हात पारेको हो ।

Click to comment

Trending