IPL

केन विलियमसनको अर्धशतकका बाबजुद चेन्नाईसँग हैदराबादको नमिठो हार

Published

on

केन विलियमसनको अर्धशतकको बाबजुद इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दोश्रो लेगको पहिलो खेलमा सनराईजर्स हैदराबाद चेन्नाई सुपर किंग्ससँग २० रनले पराजित भएको छ ।

आठौँ खेलमा चेन्नाईको तेश्रो जित हो भने आठ खेल नै खेलेको हैदराबादको यो पाँचौ हार हो । आजको जितसँगै चेन्नाई अंक तालिकाको छैठौं स्थानमा पुगेको छ भने हैदराबाद पाँचौं स्थानमा यथावत छ । हैदराबाद, चेन्नाई र राजस्थान रोयल्सको समान ६-६ अंक रहे पनि नेट रन रेटका आधारमा क्रमश पाँचौं, छैठौं र सातौं स्थानमा रहेका छन् ।

जितका लागि १६८ रनको मध्यम लक्ष्य लिएर ब्याटिङ गर्न आएको हैदराबादले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा मात्र १४७ रन बनाउन सक्यो ।

हैदराबादको तर्फबाट केन विलियमसनले सर्वाधिक ५७ रन बनाए । कर्ण शर्माको बलमा आउट हुनु अघि चौथों नम्बरमा ब्याटिङ गर्न आएका उनले ३९ बलको सामना गर्दै सात चौका प्रहार गरे । उनी बाहेक अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन नसक्दा हैदराबादले खेलमा हारको सामना गर्न पुग्यो ।

हैदराबादका ओपनर डेभिड वार्नर नौं, मनिष पाण्डे चार तथा अर्का ओपनर जोनी बेरिस्टो २३ रन बनाएर आउट भए भने प्रियम गर्ग १६, विजय शंकर १२ र रशिद खान १४ रन बनाउँदै पेभेलियन फर्किए ।

चेन्नाईका कर्ण शर्मा र ड्वायन ब्राभोले सर्वाधिक २-२ विकेट हात पारे भने साम कुर्रान, रविन्द्र जडेजा, शार्दुल ठाकुर र पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १६७ रनको सामान्य योगफल तयार पार्यो ।

चेन्नाईका कप्तान महेन्द्र सिंह धोनी आजको खेलमा ब्याटिङमा परिवर्तन गर्दै फाफ डु प्लेसिस र साम कुर्रानलाई ओपनिङमा पठाए । तर तेश्रो ओभरको पहिलो बलमा नै डु प्लेसिस सन्दिप शर्माको बलमा गोल्डेन डकआउट हुन पुगे । पाँचौं ओभरमा पहिलो पटक ओपनिङमा ब्याटिङ गर्न आएका कुर्रान पनि २१ बलमा ३१ रन बनाएर शर्माको नै शिकार बन्न पुगे ।

आजको खेलमा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका शेन वाटसन र अम्बाती रायुडूले तेश्रो विकेटका लागि ६४ बलमा ८१ रनको साझेदारी गर्दै चेन्नाईको पारी सम्हाले । तर एक ओभरको अन्तरालमा ३८ बलमा एक चौका र तीन छक्काको मद्धतमा ४२ रन बनाएका वाटसन र २३ बलमा तीन चौका र दुई छक्का सहित ४१ रन बनाएका रायुडू आउट हुँदा चेन्नाई १६ दशमलब दुई ओभरमा चार विकेटको नोक्सानीमा १२० को अवस्थामा आयो ।

त्यस पछि ब्याटिङमा आएका कप्तान महेन्द्र सिंह धोनी १३ बलमा २१ रन बनाएर आउट भए भने ड्वायन ब्राभो पनि गोल्डेन डक आउट हुन पुगे । अविजित रहेका रविन्द्र जडेजाले १० बलमा तीन चौका र एक छक्का सहित २५ रन तथा दिपक चाहारले दुई रनको योगदान दिए ।

हैदराबादका सन्दिप शर्माले किफायती बलिङ गर्दै चार ओभरमा १९ रन खर्चिएर दुई विकेट हात पारे भने खलिल अहमद र टि नटराजनले महँगो साबित भए पनि समान २-२ विकेट नै आफ्नो नाममा दर्ता गराए ।

यस अघि सम्पन्न पहिलो लेगमा चेन्नाई हैदराबादसँग सात रनको झिनो अन्तरले पराजित हुन पुगेको थियो । १६५ रनको विजयी लक्ष्य पक्ष्याएको चेन्नाईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा मात्र १५७ रन बनाउन सक्यो र खेल सात रनले हार्न पुग्यो ।

Click to comment

Trending