Headline

लेकर्सको उपाधिसँगै जोर्डन–लेब्रोन सर्वकालिन महान बहसमा आएको नयाँ ट्विस्ट

Published

on

दुई बर्षअघि लेब्रोन जेम्स क्लिभल्याण्ड क्याभेलियर्स छोड्दै २०१३ देखि प्लेअफमा समेत स्थान नबनाएको निम्न स्तरको लस एन्जलस लेकर्स गएपछि आलोचकहरुले उनको कदम एलएको जीवनशैलि, व्यापारिक रुचि र त्यहाँको राम्रो मौसम मात्रै भएको महसुस गरेका थिए ।

लेकर्स २०१३ मा समेत प्ले अफको पहिलो चरणबाटै बाहिरिएको थियो ।

तर दुई बर्ष भित्रै लेब्रोनले त्यो कदम अर्को एनबिए उपाधि जित्नका लागि लिएको साबित गरिदिए । यस दौरान लेकर्ससँग उपाधि जित्दा माइकल जोर्डन (एमजे) र उनीबीच सर्वकालिन महान बास्केटबल खेलाडी को भन्ने बहसमा अर्को एक तथ्यांक मात्र थपिएको छैन । अब यो बहसको शर्तहरुमा समेत व्यापक परिवर्तन आइसकेको छ ।

यो सिजनको एनबिए फाइनल्स एमभिपि लेब्रोनले सोमबार गेम सिक्समा २८ अंक, १४ रिबाउण्ड र १० असिस्टसहित ट्रिपल डबलको प्रदर्शन गरेपछि लेकर्सले मायामी हिटलाई १०६–९३ ले हराउदै ४–२ ले किर्तिमानी १७ औं पटक एनबिए च्याम्पियनसिप जित्यो ।

मायामी हिट (२०१२ र २०१३) र क्याभेलियर्स (२०१६) का लागि सहित व्यक्तिगत रुपमा चौथो उपाधिसँगै लेब्रोनले चौथो फाइनल्स एमभिपि पनि आफ्नो नाममा लेखाए ।

जोर्डन समर्थकहरुलाई लेब्रोनको चौथो उपाधिले अलिकति पनि बिचलित बनाउने छैन । ६ फाइनलमा जोर्डनले ६ उपाधि जितेका छन् र कुनै पनि फाइनल गेम सिक्स भन्दा पर गएको थिएन । जोर्डनको तुलनामा लेब्रोन फाइनल्समा ४–६ ले पछाडी छन् तर १० फाइनल्स खेल्नु आफैमा एक उपलब्धि हो ।

लेब्रोनले बिश्व बास्केटबलकै प्रतिष्ठित ल्यारी ब्राउन ट्रफि जिताएका लेकर्स उनको व्यवसायिक करिअरमा तेश्रो फ्रान्चाइज हो । र उनले मात्र लेकर्सलाई त्यहासम्म डोर्याएका होइनन् भनेर दाबी गर्दै गल्ति नगर्दा पनि हुन्छ । उनी आउनुअघि लेकर्सले मात्र ३५ खेल जितेको थियो ।

ब्लकबस्टर ट्रेडमा एन्थोनी डेभिस एक सिजन ढिला आए तर लेब्रोनको उपस्थितिका कारण नै लेकर्स आकर्षक टोली बनेको थियो । एमजे–लेब्रोन महानता बहसमा यो लेब्रोनलाई उत्कृष्ट देखाउने यो अतिरिक्त बुँदा हो । तीन फरक टिमका लागि चार एनबिए उपाधि जित्दा लेब्रोन कि त ‘सेन्ट्रल फिगर’ रहे अथवा ‘को–सेन्ट्रल फिगर’

ड्वेन वेड र क्रिस बोस (रे एलेन, सेन बेटियर र अन्यको उपस्थितिको पनि सम्मान गर्दै) सँग सम्मिलित हुदै लेब्रोनले मायामीलाई सुपरटिम बनाउदै दुई पटक उपाधि जिते । क्लिभल्याण्ड फर्किदै उनले उत्कृष्ट पुनरागमन रच्दै क्याभेलियर्सलाई निकै सशक्त गोल्डेन स्टेट वारियर्सबिरुद्ध ३–१ ले पछि परेको स्थितिबाट उपाधि जिताए ।

र अहिले शिथिल रहेको लेकर्ससँग पनि उपाधि जिते ।

माइकल जोर्डनले यो सब गरेनन् ।

तर यो भन्दैमा जोर्डन निकै पछि परेको भन्न मिल्दैन । जोडर्नसँग यो सबै गर्ने मौका नै थिएन । उनले सिकागो बुल्सका लागि मात्र खेले । ३८ र ३९ बर्षको उमेरमा वाशिँगटन विजार्ड्सका लागि उनले खेलेको दुई सिजन बिर्सनलायक नै थियो ।

बुल्स व्यवस्थापनसँग जोर्डनको ३६ को आकडा भएपनि उनी रहदा नै फ्राञ्चाइज निकै बिज्ञताका साथ चलेको थियो भने प्रशिक्षण पनि उत्कृष्ट नै रहेको थियो । जोर्डनका कट्टर दुश्मन, बुल्स महाप्रबन्धक जेरी क्रौजले जोर्डन, स्कटी पिपेन र प्रशिक्षक फिल ज्याक्सनको समन्वयका लागि उत्कृष्ट सहयोगी खेलाडीहरुको जमात खडा गरेका थिए ।

जोर्डनले पहिलो तीन एनबिए उपाधि जित्दा होरेस ग्रान्ट, बि जे आर्मस्ट्रङ्ग, बिल कार्टराइट र जोन प्याक्सनको सहयोग निकै महत्वपूर्ण रहेको थियो । दुई बर्ष बेसबलमा आफूलाई प्रयोग गरेपछि डेनिस रडम्यान, टोनी कुकोच, लुक लँगली र स्टिभ करसँगै फुल टाइम जोर्डन बुल्समा फर्किए ।

लेब्रोनसँग क्लबमा त्यो किसिमको स्थायित्व र प्रतिभावान खेलाडी साथमा रहेको भए उनले पहिलो स्थानमा त क्लिभल्याण्ड नै छोड्नु पर्ने थिएन । व्यवस्थापन बिग्रिएको कारण नै उनले छोड्नु परेको थियो ।

मायामीमा उनले महान खेलाडीहरुको साथ मात्र पाएनन् । त्यहा प्याट रिलेद्वारा स्थापित उत्कृष्ट बास्केटबल संस्कृति पनि थियो । चार बर्ष चार फाइनल्स खेलेपछि लेब्रोनले आफूले सिकेका कुराहरु लिएर क्लिभल्याण्ड फर्किए । नर्थ–इस्ट ओहायोको समर्थकहरुका लागि उनले अन्तत उपाधि दिलाई छोडे । उनलाई आफू क्लिभल्याण्डका समर्थकहरुको ऋणी भएको कारण उपाधि जिताउन पर्छ भन्ने थियो ।

तर क्लिभल्याण्डले यसलाई राम्ररी ग्रहण गर्न सकेन । लेब्रोनले क्याभेलियर्सलाई एक उपाधि मात्र जिदाउदा पनि समर्थकहरुले त्यो युगको खुशीयाली मनाउदै थिए । यद्दपि कुनै एक बिन्दुमा बास्केटबलका इतिहासबिदहरुले कसरी कम से कम पनि आफ्नो युगका महान खेलाडीबाट क्लिभल्याण्डले ११ सिजनमा दुई फरक स्पेलमार्फत एक उपाधि मात्र जित्न सक्यो भनेर आश्चर्यका साथ इतिहासको पाना पल्टाउनेछन् ।

एमजे–लेब्रोन बहसको सन्दर्भमा भने अब यो पुरै कुरालाई हेर्ने नयाँ दृष्टिकोण आएको छ किनभने लेब्रोन पाचौं अथवा त्यो भन्दा बढी उपाधि थप्नका लागि अझै पनि सक्षम छन् । अर्को सिजनको लागि पनि लेकर्स दाबेदारको रुपमा कायम नै रहनेछ र यो उपाधि एक बर्ष चाडो आएको हो भन्न सकिन्छ । यही डिसेम्बरमा लेब्रोन ३६ बर्षको भएपनि उनीमा अझै धेरै बाकी रहेको स्पष्ट देखिन्छ ।

लामो समयदेखि लेब्रोनलाई कमजोर इस्टर्न कन्फेरेन्सको फाइदा उठाएको आरोप लाग्दै आएको थियो । बहसको यो एउटा पाटो अब समाप्त भएको छ । लेकर्स वेस्टको मालिक बनेको छ ।

रातारात लेकर्सको पुनसंरचना गर्दै लेब्रोनले जोर्डनको फाइनल्सको ‘पर्फेक्ट रेकर्ड’ लाई नितान्त नौलो दृष्टिकोणबाट (जुन जोर्डनले गर्न सक्दैनन् ) काउन्टर दिन सक्छन् (जुन स्पष्ट रुपमा लेब्रोन आफैले कहिल्यै गर्न सक्दैनन्) ।

लेब्रोन जहा गए त्यही उपाधि जितेका छन् । एउटा टिम खोज्नुस, लेब्रोनले उपाधि जितेर देखाइदिन्छन् ।

प्रतिभा, मानसिकता र नेतृत्वदायीताले लेब्रोन टिमको असन्तुलन र अनिश्चिततालाई परास्त गर्दै नयाँ संरचनाको निर्माण गर्न सक्छन् । उनी ‘एक्स फ्याक्टर’ हुन् ।

के यो संस्थागत रुपमा उत्कृष्ट ढँगले सञ्चालित बुल्स व्यवस्थापनको सहयोगमा जोर्डनले फाइनल्समा राखेको ६–० को किर्तिमानभन्दा राम्रो हो ?

जस्तो सुकै भएपनि यो पुरानो बहसमा आएको एक नयाँ ट्विस्ट हो ।

Click to comment

Trending