Headline

जेम्सको ट्रिपल डबलसँगै लेकर्सलाई एक दशकपछि एनबिए उपाधि

Published

on

लेब्रोन जेम्सको ट्रिपल डबल प्रदर्शनसँगै लस एन्जलस लेकर्सको एनबिए उपधिको १० बर्षदेखिको पर्खाइ अन्त्य भएको छ । फाइनल्सको गम सिक्समा लेकर्सले सोमबार बिहान भएको खेलमा मायामी हिटलाई १०६–९३ ले पराजित गर्दै ४–२ ले उपाधिमा कब्जा गर्यो ।

लेकर्सको लागि उपाधि बिशेष पनि किन रह्यो भने उसले यसै बर्ष हेलिकप्टर दुर्घट्नामा आफ्नो लेजेण्ड खेलाडी कोबी ब्रायन्टलाई गुमाएको थियो । लेकर्सले कोबीलाई सबैभन्दा उत्कृष्ट ढँगले श्रद्धाञ्जली अर्पण गरेको छ ।

“हामीले उनलाई (कोबीलाई) निराश बनाएनौं । यो बियोगले हामीलाई सताएदेखि नै हामी उनको लागि उपाधि जित्न चाहन्थ्यौं । यसले हाम्रो लागि धेरै अर्थ राखेको छ र हाम्रो लागि निकै कठिन समय पनि हो । कोबी हामी सबैको लागि अभिभावक थिए र यो उपाधि उनलाई समर्पण गर्दछौं,” लेकर्सको उपाधि यात्राको केन्द्रमा रहेका एन्थोनी डेभिसले भने ।

लेकर्सलाई १७ औं एनबिए उपाधि दिलाउने क्रममा जेम्सको नाममा सोमबार २८ अंक, १४ रिबाउण्ड र १० असिस्ट रह्यो । प्लेअफमा किर्तिमानी २ सय ६० औं खेल खेलेका उनले चौथो पटक फाइनल्स एमभिपि पनि जिते । अर्का अमेरिकी लेजेण्ड माइकल जोर्डनको नाममा किर्तिमानी ६ फाइनल्स एमभिपि रहेको छ ।

“हामी मात्र सम्मान चाहन्छौं,” खेल समाप्त भएपछि ट्रफि ग्रहण गर्दै जेम्सले भने । “रब (लेकर्सका महाप्रबन्धक पेलिंका) आफ्नो सम्मान चाहन्छन् । प्रशिक्षक भोजेल (फ्रांक) आफ्नो सम्मान चाहन्छन् । हाम्रो संस्था सम्मान चाहन्छ, लेकर्स नेसन सम्मान चाहन्छ र म पनि आफ्नो सम्मान चाहन्छु ।”

डेभिसले पनि उत्कृष्ट प्रदर्शन दिने क्रममा १९ अंकको योगदान दिए भने १५ रिबाउण्ड पनि लिएका थिए । उनले पहिलो पटक एनबिए उपाधि जितेका हुन् ।

लेब्रोनको भने यो चौथो उपाधि हो । उनले तीन फरक टोलीका लागि उपाधि जित्ने किर्तिमान पनि कायम गरे । लेब्रोनले २०१२ र २०१३ मा हिट, २०१६ मा क्लेभल्याण्ड क्याभेलियर्सका लागि एनबिए उपाधि जितिसकेका थिए ।

लेकर्स भने बोस्टन सेल्टिक्ससँगै सर्वाधिक एनबिए जित्ने टिमको किर्तिमानको बराबरीमा रहेको छ ।

Click to comment

Trending