IPL

मध्यक्रम नचल्दा चेन्नाई १० रनले पराजित 

Published

on

९९ रनको अवस्थामा दोश्रो विकेट गुमाएको चेन्नाई सुपर किंग्सका मध्यक्रमका ब्याट्सम्यान नचल्दा इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो छैठौं खेलमा कोलकाता नाइट राईडर्ससँग १० रनको झिनो अन्तरले पराजित भएको छ ।

छ खेलमा चेन्नाईको यो चौथों हार हो भने पाँच खेल खेलेको कोलकाताको तेश्रो जित हो ।आजको जितसँगै कोलकाता अंक तालिकाको तेश्रो स्थानमा उक्लिन सफल भएको छ ।

जितका लागि १६८ रनको लक्ष्य लिएर ब्याटिङमा आएको चेन्नाईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा मात्र १५७ रन बनाउन सक्यो ।

एक समय जित तर्फ लम्केको चेन्नाईका मध्यक्रमका ब्याट्सम्यानहरु चल्न नसक्दा चेन्नाईले हारको सामना गर्न पुग्यो । ओपनरहरु शेन वाटसन र फाफ डु प्लेसिसले पहिलो विकेटका लागि तीन दशमलब चार ओभरमा ३० रन जोडे । डु प्लेसिस १७ रन बनाएर शिबम मावीको बलमा आउट हुन पुगे ।

त्यस पछि ब्याटिङमा आएका अम्बाती रायुडूले वाटसनसँग मिलेर दोश्रो विकेटका लागि ६९ रन जोड्दै चेन्नाईको पारी सम्हाल्ने प्रयास गरे पनि एक ओभरको अन्तरालमा २७ बलमा ३० रन बनाएका रायुडू र ४० बलमा ५० रन बनाएका वाटसन आउट भए पछि चेन्नाई सम्हालिन सकेन ।

चेन्नाईका अन्य ब्याट्सम्यानहरुमा कप्तान महेन्द्र सिंह धोनी ११, साम कुर्रान १७ रन बनाएर आउट भए भने केदार जाधव सात र रविन्द्र जडेजा आठ बलमा २१ रनमा अविजित रहे ।

यस अघि शेख जायद क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १६७ रन बनायो ।

कोलकाताको लागि राहुल त्रिपाठीले सर्वाधिक ८१ रन बनाए । यस सिजन दोश्रो खेल खेलेका उनले पहिलो पटक ओपनिङमा ब्याटिङ गरेका त्रिपाठीले ड्वायन ब्राभोको बलमा आउट हुनु अघि ५१ बलको सामना गर्दै आठ चौका र तीन छक्का प्रहार गरे ।

त्रिपाठी बाहेक अन्य ब्याट्सम्यानले उलेख्य योगदान भने दिन सकेनन् । अर्का ओपनर सुबमन गिल ११ रङ बनाएर आउट भए भने नितिश रानाले पनि नौं रनको मात्र पारी खेल्न सके । यस अघिका खेलमा ओपनिङमा आएका सुनिल नारायण आज चौथों नम्बरमा ब्याटिङ गर्दै नौं बलमा १७ रन बनाएर आउट भए । त्यस पछि आएका ओइन मोर्गनले सात, आन्द्रे रसेल दुई, कप्तान दिनेश कार्तिक १२, कमलेस नगरकोटी र शिवम मावी शुन्य रनमा आउट भए भने प्याट कमिन्स १७ रनमा अविजित रहे ।

चेन्नाईको तर्फबाट ड्वायन ब्राभोले चार ओभर बलिङ गर्दै ३७ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे भने कर्ण शर्मा, साम कुर्रान र शार्दुल ठाकुरले पनि आफ्नो नाममा समान २-२ विकेट दर्ता गराउन सफल भए । समान चार चार ओभर बलिङ गरेका शर्मा, कुर्रान र ठाकुरले क्रमश २५, २६ र २८ रन खर्चिए ।

पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको कोलकाताले दोश्रो र तेश्रो खेलमा क्रमश सनराईजर्स हैदराबादलाई ४९ रनले र राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्यो । यस अघि भएको दिल्ली क्यापिटल्ससँगको खेलमा कोलकाता १८ रनले पराजित हुन पुग्यो ।

चेन्नाईले १३औं संस्करणको उद्घाटन खेलमा साबिक विजेता मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृस्ट सुरुवात गर्यो । तर त्यस पछिका लगातार तेश्रो खेलमा चेन्नाई क्रमश राजस्थान रोयल्ससँग १६ रनले, दिल्ली क्यापिटल्ससँग ४४ रनले र सनराईजर्स हैदराबादसँग सात रनले पराजित हुन पुग्यो । त्यस्तै यस अघिको खेलमा चेन्नाईले किंग्स ११ पन्जाब माथि १० विकेटको सानदार जित हात पार्यो ।

Click to comment

Trending