IPL

पन्जाब विरुद्ध चेन्नाईको १० विकेटको सानदार जित

Published

on

चेन्नाई सुपर किंग्सका ओपनरहरु फाफ डु प्लेसिस र शेन वाटसनले अविजित रहँदै १८१ रनको साझेदारी गरे पछि इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो पाँचौं खेलमा किंग्स ११ पन्जाबलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

जितका लागि १७९ रनको लक्ष्य लिएर ब्याटिङमा आएको चेन्नाईले कुनै पनि विकेट नगुमाई १७ दशमलब चार ओभर खेल्दै जित दर्ता गरायो ।

पाँचौं खेलमा चेन्नाईको दोश्रो जित हो भने पाँच खेल नै खेलेको पन्जाबको यो चौथों हार हो । आजको जित पछि चेन्नाई चार अंकका साथ दुई स्थान माथि चड्दै अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ भने पन्जाब एक स्थान तल झर्दै आठौं स्थानमा पुगेको छ ।

चेन्नाईको जितमा समान ५३ बलको सामना गर्दै अविजित रहेका वाटसन र डु प्लेसिसले क्रमश ८३ रन ८७ रनको पारी खेले । दुबैले ११ चौका प्रहार गरे भने वाटसनले तीन तथा डु प्लेसिसले एक छक्का प्रहार गरे । यो सिजन वाटसनको पहिलो अर्धशतक हो भने डु प्लेसिसको तेश्रो अर्धशतक हो ।

यस अघि दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १७८ रन बनायो ।

पन्जाबको लागि ओपनिङमा ब्याटिङ गर्न आएका कप्तान केएल राहुलले सर्वाधिक ६३ रन बनाए । १७ दशमलब दुई ओभरमा शार्दुल ठाकुरको शिकार भएका उनले ५२ बलको सामना गर्दै सात चौका र एक छक्का प्रहार गरे । जारी सिजनमा राहुलको यो दोश्रो अर्धशतक हो । उनले यस अघि राजस्थान रोयल्स विरुद्ध अर्धशतक र रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध अविजित शतक पनि प्रहार गरेका थिए ।

राहुल बाहेक पन्जाबका निकोलस पुरणले १७ बलमा ३३ रन, मन्दिप सिंहले १६ बलमा २७ रन र मायंक अगरवालले १९ बलमा २६ रन बनाएर आउट भए भने अविजित रहेका सर्फराज खान र ग्लेन म्याक्सवेलले क्रमश नौं बलमा १४ रन र सात बलमा ११ को पारी खेले ।

चेन्नाईका शार्दुल ठाकुरले सर्वाधिक दुई विकेट हात पारे भने रविन्द्र जडेजा र पियुष चावलाले पनि १-१ विकेट आफ्नो नाममा दर्ता गर्न सफल भए ।

आजको खेलमा पन्जाबले तीन परिवर्तन गरेको छ भने चेन्नाईले कुनै पनि परिवर्तन गरेको छैन । मन्दिप सिंह, हरप्रित ब्रार र क्रिस जोर्डनले आजको खेलमा सुरुवाती ११ मा स्थान बनाएका छन् भने करुण नायर, के गौथम र जिमी नीशम टोली बाहिर रहेका छन् ।

पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको पन्जाबले दोश्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोर माथि ९७ रनको फराकिलो जित हात पार्यो । तर त्यस पछिका दुई खेलमा राजस्थान रोयल्ससँग चार विकेटले र मुम्बई इन्डियन्ससँग ४८ रनले पराजित हुन पुग्यो ।

गत बर्षको उपविजेता टोली चेन्नाईले यस सिजनको उद्घाटन खेलमा नै साबिक विजेता मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृस्ट सुरुवात गर्यो ।तर त्यस पछिका तीन खेलमा चेन्नाई राजस्थान रोयल्ससँग १६ रनले, दिल्ली क्यापिटल्ससँग ४४ रनले र सनराईजर्स हैदराबादसँग सात रनले पराजित हुन पुग्यो ।

Click to comment

Trending