IPL

कोहली र पडिकलको अर्धशतकमा बेंगलोरको सहज जित 

Published

on

ओपनर देवदत्त पडिकल र कप्तान बिराट कोहलीले अर्धशतक प्रहार गरे पछि रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्स माथि आठ विकेटको सहज जित हात पारेको छ ।

आफ्नो चौथों खेलमा बेंगलोरको यो तेश्रो जित हो भने चार खेल नै खेलेको राजस्थानको यो दोश्रो हार हो । यस जितसँगै बेंगलोर छ अंकका साथ अंक तालिकाको शिर्ष स्थानमा पनि उक्लिएको छ ।

१५५ रनको मध्यम लक्ष्य लिएर ब्याटिङमा आएको बेंगलोरले सुरुवात भने राम्रो गर्न नसके पनि १९ दशमलब एक ओभर खेल्दै दुई विकेटको नोक्सानीमा जित दर्ता गरायो ।

आठ रन बनाएका आरोन फ़िञ्च श्रेयस गोपालको बलमा एलबीडब्लु आउट हुन पुगे । २५ रनमा पहिलो विकेट गुमाएको बेंगलोरको पारी सम्हाले कप्तान कोहली र ओपनर पडिकलले । कोहली र पडिकलले दोश्रो विकेटका लागि १३ दशमलब दुई ओभरमा ९९ रन जोड्दै बेंगलोरलाई जित तर्फ लगे ।

४५ बल खेल्दै छ चौका र एक छक्काको मद्धतमा ६३ रन बनाएका पडिकल जोफ्रा आर्चरको बलमा बोल्ड हुन पुगे । पहिलो पटक आईपीएलमा सहभागी भएका पडिकलको यो तेश्रो अर्धशतक हो । आईपीएलको आफ्नो डेब्यु खेलमा सनराईजर्स हैदराबाद विरुद्ध अर्ध शतक प्रहार गरेका उनले ५६ रनको पारी खेलेका थिए ।

किंग्स ११ पन्जाबसँगको खेलमा मात्र एक रनमा पेभेलियन फर्किएका उनले मुम्बई इन्डियन्स विरुद्ध पनि ५४ रन बनाएका थिए ।

५३ बलमा सात चौका र दुई छक्काको मद्धतमा ७२ रन बनाएका कप्तान कोहली अविजित रहे । यो सिजन कोहलीको यो पहिलो अर्धशतक हो । यस अघि खेलेका तीन खेलमा कोहली कुल १८ रन मात्र बनाउन सकेका थिए भने उनको सर्वाधिक रन हैदराबाद विरुद्ध १४ रन रहेको थियो ।

चौथों नम्बरमा ब्याटिङ गर्न आएका एबी डि भिलियर्स १० बल खेल्दै १२ रन बनाएर अविजित रहे ।

यस अघि पुछारमा ब्याटिङ गर्न आएका राहुल टेवाटिया र जोफ्रा आर्चरले पारीको अन्त्यमा २० बलमा ४० रन जोडे पछि शेख जायद क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको राजस्थानले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १५४ रन बनायो ।

कप्तान स्टिभ स्मिथको निर्णयलाई गलत सावित गराउँदै बेंगलोरले राजस्थानलाई चार दशमलब एक ओभरमा तीन विकेटको नोक्सानीमा ३१ रनको अवस्थामा पुर्याय । पहिलो विकेटका लागि दुई दशमलब चार ओभरमा पाँच रन बनाएका कप्तान स्मिथ आउट भए भने त्यस पछि राजस्थानले जम्मा चार रन जोड्दा चार रन बनाएका सन्जु सामसन र १२ बलमा २२ रन बनाएका जस बटलर पनि आउट हुँदै पेभेलियन फर्किए ।

राजस्थानको लागि सर्वाधिक रन बनाएका महिपाल लोम्रोरले २२ बलमा १७ रन बनाएका रबिन उथप्पासँगचौथों विकेटका लागि ३९ तथा १८ बलमा १६ रन बनाएका रियान परागसँग पाँचौं विकेटका लागि ३५ रनको साझेदारी गर्दै पारी सम्हाले । ३९ बलमा एक चौका र तीन छक्काको मद्धतमा ४७ रन बनाएका लोम्रोर युज्बेन्द्र चाहालको शिकार भए पछि राजस्थान सानो स्कोरमा खुम्चिन पुग्यो ।

१६ दशमलब चार ओभरमा छ विकेटको नोक्सानीमा ११४ रनको अवस्थाबाट राहुल टेवाटिया र जोफ्रा आर्चरले तीन दशमलब दुई ओभरमा ४० रन जोड्दै राजस्थानलाई

१५४ रन सम्मको स्कोर सम्म पुर्याय । अविजित रहेका टेवाटिया र आर्चरले क्रमश १२ बलमा तीन छक्काको मद्धतमा २४ रन र १० बलमा समान १-१ चौका र छक्का सहित १६ रन बनाए ।

बेंगलोरका युज्बेन्द्र चाहाल किफायती बलिङ गर्दै चार ओभरमा २४ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे । महंगो साबित भए पनि इसरु उडानाले दुई तथा नवदिप साइनीले पनि एक विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending