Headline

युरोपियन राउण्ड अपः रियलको पहिलो जित, इन्टरको उत्कृष्ट पुनरागमन, डर्टमण्डको अप्रत्याशित हार

Published

on

सर्जियो रामोसले पेनाल्टीमा गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा पहिलो जित हात पार्दै रियल बेटिसलाई ३–२ ले हराउन सफल भएको छ ।

अवे खेलमा डिफेन्डिङ्ग च्याम्पियन पहिलो हाफमा २–१ ले पछि परेको थियो तर एमर्सन खेलका खलनायाक भएपछि रियलले पुनरागमन गर्दै सिजनको पहिलो जित हात पार्न सफल भयो । रियलले १४ औं मिनेटमै फेडेरिको भाल्भर्डेको गोलमार्फत अग्रता लिएको थियो ।

एसा मान्डी र विलियम कार्भाल्होले तीन मिनेटको अन्तरालमा दुई गोल गरेपछि रियल बेटिसले २–१ को अग्रता हात पार्यो । दोश्रो हाफ शुरु भएको तेश्रो मिनेटमै एभर्सनले आत्मघाती गोल गर्दा रियल बराबरी गर्न सफल भयो ।

६७ औं मिनेटमा लुका जोभिचमाथि गरेको फउलका कारण बार्सिलोनाबाट लोनमा आएका एमर्सनले दोश्रो पहेलो कार्ड खादै मैदान बाहिरिए । ८२ औं मिनेटमा भिडियो असिस्टेन्ट रेफ्रिले मार्क बार्टाले हातले बल क्लियर गरेको देखाएपछि रियलले पेनाल्टी पायो र त्यसमा रामोसले गोल गरे ।

ला लिगामा १८ महिनाअघि जिदानको नियुक्ति पछि रियालले पहिलो पटक पहिलो हाफमै दुई गोल खाएको हो । रियल पहिलो खेलमा रियल सोसिडाडसँग बराबरीमा रोकिएको थियो भने बेटिसले पहिलो दुई खेलमा आलाभेस र रियल भालाडोलिडलाई हराउदै उत्कृष्ट शुरुवात गरेको थियो ।

शनिबार नै भएको अर्को खेलमा सोसिडाडले एल्चेसलाई ३–१ ले हरायो भने भ्यालेन्सिया हुवेस्कासँग १–१ को बराबरीमा रोकियो । यस्तै आलाभेस र गेटाफेले गोलरहित बराबरी खेलेका थिए ।

इन्टरको उत्कृष्ट पुनरागमन

इटालियन सिरी आ मा अन्तिम निर्धारित समयको तीन मिनेट बाकी हुदासम्म दुई गोलले पछि रहेको इन्टर मिलानले फ्रांक रिबेरी प्रेरित फियोरेन्टिनामाथि ४–३ को सनसनीपूर्ण जित हात पार्यो । सान सिरोमा इन्टरले रिबेरी स्थानान्तरण हुने बित्तिकै दुई गोल गर्दै पुनरागमन गरेको थियो ।

रोमेलु लुकाकुले ८७ र ड्यानिले डिएम्ब्रोसियोले ८९ औं मिनेटमा गोल गरेपछि इन्टरले तीन अंक खोसेको थियो । तीन अंक महत्वपूर्ण हो तर हामीले हाम्रो खेलको राम्रो समिक्षा गर्न आवश्यक छ, कोन्टेले भने ।

अघिल्लो सिजन युभेन्टससँग एक अंकले मात्र पछि परेको इन्टर तेश्रो मिनेटमै क्रिष्चियन कुवामेको गोलले पछि परेको थियो । लउटारो मार्टिनेजले ४५ औं मिनेटमा गोल फर्काउदै पहिलो हाफलाई बराबरीमा टुङ्गाएका थिए ।

दोश्रो हाफ शुरु भएको सात मिनेटमै फेडेरिको सेचेरिनीले आत्मघाती गोल गर्दा इन्टर अगाडी बढ्यो तर गेटानो कास्ट्रोभिली र फेडेरिको चिएसाले गोल गर्दै फियोरेन्टिनालाई फेरि खेलमा अग्रता दिलाएका थिए ।

शनिबार नै अघिल्लो सिजन युभेन्टसलाई राम्रो टक्कर दिएका एट्लान्टा र लाजियोले पनि आ–आफ्नो खेलमा जित हात पारे । लाजियोले काग्लियारीलाई २–० ले हराउदो मानुएल लाजारी र सिरो इमोबिलेले गोल गरेका थिए । एट्लान्टाले टोरिनालाई ४–२ ले पराजित गर्यो । यस्तै बेनेभेन्तोले साम्पडोरियालाई ३–२ ले पराजित गर्यो ।

डर्टमण्डको अप्रत्याशित हार

जर्मन बुन्डेसलिगामा उपाधिको दाबेदार बायर्न म्युनिखको चीर प्रतिद्वन्दी बोरुसिया डर्टमण्ड अस्बर्गसँग २–० गोलले अप्रत्याशित रुपमा पराजित भयो । घरेलु मैदानमा करिब ६ हजार समर्थकलाई खुशी बनाउने क्रममा अस्बर्गका लागि फेरिक्स उडुवाखईले हेडरमार्फत अग्रता दिलाए ।

उडुवाखाईको गोलमा फ्रि किक प्रहार गरेका ड्यानिएल कालिगिउरीले ५४ औं मिनेटमा दोश्रो गोल गरेका थिए । शनिबारकै अन्य खेलमा आरबी लाइपजिगले बायर लेभरकुसनसँग १–१ को बराबरी गर्यो भने वर्डर ब्रेमनले साल्केलाई ३–१ हरायो ।

Click to comment

Trending