Headline

प्रिमियर लिगः म्यानचेस्टर युनाइटेडको पहिलो खेल, लन्डन डर्बी आज

Published

on

इङ्गलिस प्रिमियर लिग अन्तर्गत शनिबार दोस्रो चरणका खेलहरु शुरु हुँदै छन् । पहिलो दिन टोटेन्ह्याम हटस्परबाहेक अन्य सबै टोलीहरुले जित हात पार्दा म्यानचेस्ट युनाइटेडले भने शनिबार पहिलो खेल खेल्न गइरहेको हो ।

पहिलो दिन लिभरपुलले लिड्स युनाइटेडलाई रोमाञ्चक खेलमा पराजित गरेको थियो भने चेल्सी, लेस्टर सिटी र आर्सनलले पनि सहज जित हात पारेका थिए ।

आज के–के हुदैछन् त प्रिमियर लिगमा ?

एभर्टन विरुद्ध वेष्टब्रोम

शनिबारको पहिलो खेलमा एभर्टन र वेष्टब्रोम भिड्दै छन् । पहिलो खेलमा टोटेनह्यामलाई उसकै घरमा हराएको एभर्टन उच्च आत्मबिश्वासका साथ मैदान उत्रनेछ । जेम्स रोद्रिगेज र अन्य नयाँ खेलाडी भित्र्याएको एभर्टनको प्रदर्शनमा निकै सुधार आएको देखिन्छ । प्रशिक्षक कार्लो एन्सलोट्टीले बनाएको अहिलेको एभर्टनको टोली निकै सशक्त देखिन्छ ।

पछिल्लो ११ खेलमा वेष्टब्रोमसँग एक खेलमा मात्र पराजित भएको एभर्टन यो खेलको लागि पनि दावेदार देखिन्छ । वेष्टब्रोम आफ्नो पहिलो खेलमा लेस्टर सिटीसँग ३–० ले पराजित हुन पुगेको थियो । च्याम्पियनसिपबाट यसै सिजन बढुवा भएको वेष्टब्रोम शनिबार पहिलो अंक जोड्ने दाउमा हुनेछ ।
नेपाली समय अनुसार यो खेल साँझ ५ः१५ मा सुरु हुने छ ।

लिड्स विरुद्ध फुलह्याम

च्याम्पियनसिपबाट बढुवा हुँदै आएको लिड्सले आफ्नो पहिलो खेलमै लिभरपुलसँग उत्कृष्ट खेल देखाएको थियो । पराजित भए पनि मार्सेलो बिएल्साको लिड्सको निकै तारिफ सुनिएको थियो । लिड्सले शनिबार आफुसँगै बढुवा भएको फुलह्यामको समाना गर्दैछ ।

दुवै टोलीले अंक तालिकामा खाता खोल्न बाँकी छ । च्याम्पियनसिपको पछिल्लो भेटमा फुलह्यामलाई ३–० ले पाखा लगाएको लिड्सले प्रिमियर लिगमा पनि त्यही खेल दोहोर्याउन चाहन्छ ।

नेपाली समय अनुसार यो खेल साँझ ७ः४५ मा सुरु हुने छ ।

म्यानचेस्टर युनाइटेड विरुद्ध क्रिष्टल प्यालेस

युरोपा लिगको सेमिफाइनल सम्मको यात्रा तय गरेका कारण पहिलो चरणको खेललाई स्थगित गर्दै बिश्रामको समय पाएको म्यानचेस्टर युनाइटेडले क्रिष्टल प्यालेसको सामना गर्दै सिजनको शुरुवात गर्दैछ ।

अघिल्लो सिजन प्यालेससँग २–१ ले पराजित भएको युनाइटेड यस पटक भने चुक्न चाहदैन । ओल्ड ट्राफोर्डमा हुने खेल युनाइटेडका लागि निकै महत्वपूर्ण रहने छ । डोनी भ्यान डि बिकलाई भित्र्याउदै मिडफिल्डमा अर्को खेलाडी थपेको युनाइटेडको नजर तीन अंकमा हुने छ ।

नेपाली समय अनुसार खेल राति १०ः१५ मा सुरु हुने छ ।

आर्सनल विरुद्ध वेष्टह्याम

आफ्नो पहिलो खेलमा फुलह्यामलाई ३–० ले हराउदै सिजनको सफल सुरुवात गरेको आर्सनलले लन्डन डर्बीमा वेष्टह्यामको समाना गर्दै छ ।

पहिलो खेलमा वेष्टह्याम न्युकासल युनाइटेडसँग पराजित भएको थियो । यी दुई टोलीबीच भएका पछिल्लो ११ खेलमा आर्सनल १० खेलमा बिजयी रहेको छ । वेष्टह्यामले प्रिमियर लिगमा सबै भन्दा बढी खेल आर्सनलसँग हारेको छ ।

यस वर्ष रेलिगेसनमा पर्न सक्ने टोलीको रुपमा हेरिएको वेष्टह्यामलाई आलोचकहरुको मुख थुन्न भएपनि आर्सनललाई रोक्नु पर्ने दवाब हुनेछ । डेभिड मोयेसले सम्हालेको वेष्टह्यामले सोचे अनुरुप प्रदर्शन गर्न सकेको छैन । आर्सनल भने यस खेलमा पनि जित निकल्दै अर्को तीन अंक हात पार्ने दाउमा हुने छ ।

खेल नेपाली समय अनुसार मध्यरात १२ः४५ मा शुरु हुने छ ।

Click to comment

Trending