Headline

आईपिएलको लागि यो भन्दा अघि यति उत्सुक कहिल्यै पनि थिइनः सन्दिप लामिछाने

Published

on

नेपाली क्रिकेटको एक मात्र ग्लोबल स्टार हुन् लेग स्पिनर सन्दिप लामिछाने । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा आफ्नो खेल जीवनको उत्कृष्ट प्रदर्शन गरिसकेपछि सन्दिप आइतबारबाट युएईमा शुरु हुने इण्डियन प्रिमियर लिगको लागि दुबई पुगिसकेका छन् । सिपिएलको प्रदर्शनले आईपिएल अघि आफूलाई ठूलो प्रोत्साहन मिलेको सन्दिप मान्छन् ।

सिपिएलमा जमैका तालावाह्जका लागि खेल्दै सन्दिपले ११ खेलमा १२ विकेट हात पारेका थिए । उनले आफ्नो प्रदर्शनले जमैकालाई सेमीफाइनलसम्म पुर्याउन ठुलै मद्धत गरे । हुन त उनको टोलीले फाइनलमा स्थान बनाउन सकेन तर पनि उनले जुन प्रकारको प्रदर्शन गरे त्यसलाई हेर्दै आईपिएलमा उनको टोली दिल्ली क्यापिटल्सले शुरुवाती ११ रोज्दा उनको विषयमा पक्कै पनि एक पटक सोच्नेछ ।

धेरै विकेट लिएको हिसाबमा सन्दिपका लागि गत सिजनको बिग ब्यास लिग उत्कृष्ट मान्न सकिन्छ । किनभने बिग ब्यासमा सन्दिपले १५ विकेट लिएका थिए । तर पनि सन्दिप सिपीएलको प्रदर्शनलाई नै आफ्नो सबै भन्दा राम्रो प्रदर्शन मान्छन् । कारण हो इकोनोमी । उनले बिग ब्यासमा ७ दशमलब ४४ रन प्रति ओभरको औसतमा रन खर्चिएका थिए भने सिपीएल मात्र ५ दशमलब २७ रन प्रति ओभरको औषत रहेको थियो ।

सन्दिपले सिपीएलमा आफुले गरेको प्रदर्शन र आईपीएलका लागि उनको तयारीका विषयमा क्रिकेटिइङ्गनेपाल र विस्पोर्ट्जसँग गरेको कुराकानीको सम्पादित अंश ।

क्यारेबियन प्रिमियर लिगमा आफ्नो प्रदर्शनलाई कसरी व्याख्या गर्नुहुन्छ ?

मैले खेलेका सबै फ्रेन्चाइज टि–ट्वान्टी लिग मध्ये यो संस्करणको सिपिएल सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । मलाई आईपिएलमा धेरै भन्दा धेरै खेल्ने मौका पाउनका लागि राम्रो प्रदर्शनको आवश्यकता रहेको थियो र सिपीएलमा मेरो प्रदर्शन राम्रो भएकोमा खुशी छु । यस प्रदर्शनले मलाई पक्कै पनि आईपीएलमा फाइदा पुर्याउने छ ।

तपाईले गत बर्ष बिग ब्यास लिगमा १५ विकेट हात पार्नु भएको थियो । यस बर्ष सिपीएलमा १२ विकेट मात्र लिनु भयो । तर पनि सिपीएलको प्रदर्शन नै उत्कृष्ट मान्नु हुन्छ ?

तपाईले कसरी बलरको प्रदर्शन हेर्नुहुन्छ भन्ने कुराले पनि फरक पार्दछ । विकेट निकाल्ने हिसाबले कुरा गर्ने हो भने पावर प्ले र स्लग ओभरमा सहज हुन्छ । त्यो सजिलै देखिने कुरा पनि हो । बिग ब्यासमा मैले धेरै जसो पावर प्ले र स्लग ओभरमा बलिङ गरेको थिए । तर सिपीएलमा मैले लगातार बीचको ओभरहरुमा बलिङ गरे । बिशेष गरि ट्वान्टी ट्वान्टी खेलको बीचमा बलिङ गर्दा ब्याट्सम्यानहरुले समझदारी पुर्वक खेल्छन् र ठुलो सट पनि खेल्ने पर्याप्त सम्भावना हुन्छ । राम्रोसँग खेल नियाल्नेले यो सजिलै बुझ्न सक्छन् ।

यो अवधीमा मैले ब्याट्सम्यानहरुलाई ठुलो सट खेल्नबाट रोक्न सके भने आफ्नो इकोनोमी पनि छ भन्दा तल राख्न सफल भए । आफ्नो बलिङ्गमा भेरिएसन राख्ने प्रयास गरे र त्यो सफल पनि भयो । मैले क्यारेबियनमा जे जस्तो प्रदर्शन गरे त्योबाट आफु निकै खुशी छु ।

दर्शक बिना खेल्दाको अनुभब कस्तो हुदो रहेछ ?

हुन त नेपालले विश्वको जुनै कुनामा खेले पनि धेर थोर समर्थक सधैं रंगशालामा उपस्थित भएर हौसला बढाउन आउनु हुन्छ । तर पनि हामीले धेरै खेलहरु दर्शक बिना नै खेलेका छौ । नेपालमा नै पनि अभ्यास खेल दर्शक बिहिन नै हुने गरेको छ । प्रतियोगिता हुनु अघि हामी यस विषयमा मानसिक रुपमा नै तयार भएका थियौं ।

हामी दर्शक बिना नै प्रतियोगिता खेल्नु पर्छ भनेर तयार रहनुको विकल्प थिएन । यो स्थिती अझै एक बर्ष सम्म रहन सक्छ । यो पक्कै पनि अप्ठेरो हो तर पनि यसका लागि तयार रहनु पर्छ ।

पछिल्लो समय कोरोनाका कारण बायो–बबल संहिता नयाँ विषय बनेको छ । पुरै प्रतियोगिता बायो–बबलमा बसेर, कडा स्वास्थ्य नियममा बस्दा निसास्सिएको जस्तो हुँदैन ?

देखिने गरिनै नभए पनि यस अघिका प्रतियोगिताहरुमा बायो–बबल जस्तै अवस्था थियो । कुनै पनि फ्रान्चाइज प्रतियोगितामा बाहिर समय बिताउन समय नै हुँदैन । प्राय खेलहरु डे–नाइट हुने गर्छन् । जसले गर्दा ढिला सुत्ने र ढिला उठ्ने हुन्छ । हाम्रो तालिका नै त्यसै गरि बनेको हुन्छ । बाहिर घुम्न जाने, समय बिताउने भन्ने निकै कठिन नै हुन्थ्यो । अहिले फरक यति मात्र हो, हामी बाहिरको कसैलाई पनि भेट्न पाउँदैनौं र शायद खेलमा नै धेरै ध्यान जाने भएर होला यसले खासै फरक पर्दैन ।

आईपिएललाई लिएर कत्तिको उत्सुक हुनुहुन्छ ? दिल्लीको लागि शुरुवाती एघारमा पर्ने आफ्नो सम्भावना कस्तो देख्नु हुन्छ ?

आईपिएललाई लिएर यत्तिको उत्सुक म कहिले पनि भएको थिइन । म एउटा राम्रो प्रदर्शनको पर्खाइमा थिए र त्यो सिपिएलमा भयो । अझ राम्रो कुरा के भने आईपिएल भन्दा ठ्याक्कै अगाडी भयो । सिपिएलको प्रदर्शनको आधारमा पनि धेरै भन्दा धेरै खेल्ने मौका पाउने छु भन्नेमा आशावादी रहेको छु । म ठुलो चुनौतीको लागि उत्सुक पनि छु ।

कुनै पनि खेलाडीको लागि आईपिएल ठुलो प्रतियोगिता हो । आइपिएलमा सिपिएलको प्रदर्शन नजिक मात्रै पुग्न सके भने पनि भने त्यो मेरो लागि ठुलो उपलब्धी हुनेछ । मैले नेपाल छाडेर सिपीएल आए देखि नै दिल्लीको अभ्यासलाई नियाल्दै आएको छु । मैले जुन लय सिपिएलमा समातेको छु त्यसलाई आईपिएलमा पनि निरन्तरता दिन सकु भन्नेमा आशावादी रहेको छु । दिल्लीमा राम्रा खेलाडीहरु छन् जसले गर्दा कुनै पनि खेलाडीलाई सुरुवाती ११ मा स्थान बनाउन कठिन छ ।

कसले टोलीमा स्थान बनाउन सक्छ भन्ने कुरा खेलको अवस्थालाई मध्यनजर गर्दै र टोलीको आवस्यकता अनुसार हुन्छ । मैले खेल्न पाउछु कि पाउदिन भन्ने विषयका बारेमा अहिले बाट नै सोच्नु हतार हुन्छ । यदि म टोलीलाई आवश्यक छु भने पक्कै पनि खेल्ने मौका प्राप्त गर्नेछु ।

युएईमा नेपालले लगातार रुपमा खेल्दै आएको छ । तपाईको यो अनुभवले आईपिएलमा कत्तिको मद्धत गर्दछ ?

हामी नेपाली टोलीले युएईमा धेरै खेल खेलेका छौ । मैले यस अघि नै दुबई, अबुधबी र शारजाहमा धेरै खेल खेल्दै त्यहाँको अनुभव बटुली सकेको छु । त्यहाँको अनुभव पक्कै पनि गणना हुनेछ । म आफै पनि यसले मलाई निकै फाइदा गर्छ भन्नेमा आत्मविश्वासी छु । तर यससँगै यहि अनुभवका कारण मलाई दबाब पनि हुनेछ ।

दिल्लीको टोलीलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

दिल्ली आईपिएलको उत्कृष्ट टोली मध्ये एक हो । गत सिजन हामीले तेश्रो स्थानमा चित्त बुझाउन पर्यो र यो सिजन हामी अझै माथि गएर उपाधि जित्न चाहन्छौ । हामीसँग धेरै अनुभब भएका ब्याट्सम्यान छन् भने यस्ता युवा खेलाडी पनि छन् जो निकै ठुलो सट खेल्न सक्छन् । त्यस्तै हामीसँग युवा र राम्रा कप्तानका रुपमा श्रेयस ऐयर पनि छन् ।
मेरो विचारमा दिल्ली राम्रो हुनुको साथ साथै सुसज्जित टोली पनि हो । हाम्रोमा अनुभबी बलरहरु छन्, चाहे स्पिनर हुन् या तिब्र गतिका । त्यस्तै हाम्रो बेन्च पनि बलियो छ । बेन्चमा नै बसेका खेलाडीले पनि सुरुवाती ११ मा स्थान बनाउदै दिल्लीलाई खेल जिताउने सामथ्र्य राख्छन् ।

Click to comment

Trending