Headline

पिर्लो राजमा अज्ञात समुद्रमा प्रवेश गर्दै इटालियन महारथी युभेन्टस

Published

on

खेलाडीको रुपमा आन्द्रे पिर्लो बलसँग जिनियस नै थिए । तर पुर्व इटाली र युभेन्टस लेजेण्ड प्रशिक्षकको रुपमा भने सबैका लागि अन्जान छन् ।

युभेन्टससँग प्रशिक्षकको रुपमा आइतबार साम्प्डोरियाबिरुद्ध डेब्यु गर्दा बेञ्चमा रहेका पिर्लोमाथि लगातार नवौं इटालियन सिरी आ उपाधि र साढे दुई दशकमा पहिलो च्याम्पियन्स लिग जित्ने अपेक्षाको भारी हुनेछ । आफ्ना पुर्वज मास्सिमिलियानो एलेग्रि र मउरिजियो सारीले दिन नसकेको आकर्षक र तरल खेल शैलि स्थापित गर्दै पिर्लोलाई यी उपलब्धिहरु दिलाउन जिम्मेवारी दिइएको हो ।

बुधबार मात्रै व्यवसायिक प्रशिक्षकको लाइसेन्स पाएका ४१ बर्षिय शिकारु पिर्लोमाथिको अत्याधिक अपेक्षा २०२०–२१ को सिजनसँगै शुरु हुनेछ । “युभेन्टस भएपछि जित्नै पर्छ भन्ने सामान्य हो । खेलाडीको रुपमा यही थियो र प्रशिक्षकको रुपमा पनि यही हुनेछ,” पिर्लो भन्छन् ।

पिर्लोको आगमनपछि फुटबलरको रुपमा महान जिनेदिन जिदान र पेप ग्वार्डियोलाको व्यवस्थापकीय सफलतालाई उनले पनि पछ्याउन सक्ने इटालीमा आशा जागेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ मा फ्रेञ्च क्लब लायोनसँग पराजित हुँदा एक सिजनपछि नै सारीलाई बर्खास्त गरिएपछि पिर्लोले उनको स्थान लिएका हुन् ।

२००६ को बिश्वकप, दुई च्याम्पियन्स लिग र ६ इटालियन सिरी आ उपाधिहरु जितेका पिर्लोले आफ्नो जित्नुपर्ने मानसिकता टिममा संचारित गर्ने आशा युभेन्टसले लिएको छ । “उनी प्रशिक्षक हुने पुर्वनिर्धारित जस्तै थियो तर जब ग्वार्डियोला र जिदानले प्रशिक्षण शुरु गरे उनीहरुमा अलि–अलि भएपनि अनुभव थियो,” २००६ मा इटालीलाई सँगै बिश्वकप जिताएका पिर्लोका कप्तान फाबियो कानाभारोले भने ।

“उनीसँग स्पष्ट खेलको आइडिया छ । तर अब उनले यसलाई टिममा संचारित गर्नुपर्नेछ,” हाल चाइनिज सुपर लिग टिम ग्वाङजाउ एभरग्राण्डेका प्रशिक्षक कानाभारो भन्छन् ।

युभेन्टसको अभ्यास सत्रमा पिर्लो

प्रशिक्षकको रुपमा पिर्लोले आफ्नो पहिलो साता युभेन्टसका सिनियर खेलाडीहरुसँगको वार्तालापमा बिताएका थिए । ६१ बर्षिय सारीले यो गर्न सकेका थिएनन् । “उनी निकै आरामका साथ स्थिति सम्हाल्ने गर्छन् । केही समय अघि मात्र खेल्न बन्द गरेको कारण उनले मैदानमा हरेक खेलाडीको मानसिकता राम्ररी बुझ्ने गरेका छन् । उनी युभेन्टससँग सबैभन्दा बढी परिचित छन्,” डिफेन्डर ड्यानिलो भन्छन् ।

“पछिल्लो केही दिन उनले दुई तीनवटा अभ्यास सत्र पनि सञ्चालन गरेका थिए र ती निकै राम्रा थिए । के थाहा हामीलाई केही चोट भयो भने ? स्किल अनुसार उनले काम चलाउन बेर छैन,” ब्राजिलियन डिफेन्डरले ठट्टा गर्दै भने । “हरेक खेलाडीलाई एक–एक गर्दै आफ्नो सन्देश मार्फत उत्कृष्ट निकाल्न उनी निकै माहिर छन् । उनले केही रणनीतिक उपायहरु पनि लागु गरेका थिए । यसले उनी टिम कसरी चलाउन चाहन्छन् भन्ने स्पष्ट भएको छ ।”

अपेक्षाको भार

मिड टेबल साम्पडोरियापछि युभेन्टसको परिक्षा रोमा र नापोलीको खेलहरुमा हुनेछ । रामो लिजेण्ड तथा उनका बिश्वकप बिजेत टिममेट फ्रान्सेस्को टोट्टी पिर्लोले आफूले सक्ने भन्दा बढी प्रयास गरिरहेको मान्छन् ।

“यो जिदानको सफलतापछि जन्मिएको ट्रेण्ड हो । कुनै च्याम्पियन खेलाडी प्रशिक्षक बन्छन् भने उनलाई सम्मान गर्दै ड्रेसिङ्ग रुपममा सुनिने गरिन्छ । एक शिकारु प्रशिक्षकमाथि यो अपेक्षाको भारी पक्कै पनि सामान्य भने होइन । प्राविधिक रुपमा क्षमतावान हुनु पनि आवश्यक छ,” टोट्टी भन्छन् ।

“पिर्लो एक हिरा हुन् र म आशा गर्छु उनी सफल हुनेछन् । आन्द्रे अब पिर्लो बन्न आवश्यक छ । यसको अर्थ उनी अब बेञ्चमा पनि च्याम्पियन हुनुपर्नेछ । र त्यो पनि निकै कम समयमै ।”

१९९५ मा आफ्नो घरेलु क्लब ब्रेसियाबाट व्यवसायिक करिअर शुरु गरेका पिर्लोले इन्टर मिलान, एसि मिलान र युभेन्टसका लागि खेल्दै दुई सिजन अमेरिकाको मेजर लिग सकर टोली न्युयोर्क सिटी एफसीमा बिताएका थिए । २०१७ मा खेल जीवन टुङ्गाएपछि उनी टेलिभिजन पण्डितको रुपमा काम गर्दै फुटबल दुनियामा गुमनाम समेत भएका थिए ।

Click to comment

Trending