Headline

बुन्डेसलिगामा यस सिजन हेर्न लायक पाँच खेलाडीहरु

Published

on

२०२०–२०२१ को बुन्डेसलिगा सिजन शुक्रबार बायर्न म्युनिख र साल्केबीचको खेलबाट शुरु हुदैछ । अन्य क्लबहरुको प्रयास बायर्नलाई लगातार नवौं उपाधिबाट रोक्नेतर्फ हुनेछ । बुन्डेसलिगा धेरै प्रतिभावान खेलाडीहरु खेल्ने लिग पनि मानिन्छ । यस सिजन हामी बुन्डेसलिगामा आएका केही हेर्न लायक खेलाडीहरुको चर्चा गर्दै छौ ।

लिरोय साने ( बायर्न म्युनिख)

म्यानचेस्टर सिटीबाट ४५ मिलियन युरोमा बायर्न म्युनिख आएका लियोय साने प्रतिभावान खेलाडी हुन् । प्रिमियर लिगमा पहिले नै आफ्नो छाप छोडेका सानेलाई बायर्नले भित्रुयाउन धेरै मिहिनत गर्नु परेन । उनी बुन्डेसलिगाको पहिलो दिन आफ्नो पुर्व क्लब साल्के विरुद्ध खेल्न सक्ने छन् ।

बायर्नका लागि खेल्दा आफ्नो शत प्रतिशत खेल देखाउन २४ बर्षिय सानेलाई धेरै दवाव हुने छ । बायर्नका प्रशिक्षक हान्सी फ्लिकले सानेलाई आफ्नो खेल खस्किन नदिन सुधारिएको प्रदर्शन गर्न चुनौति दिइसकेका छन् ।

“मेरो बायर्नसँग ठूला लक्ष्यहरू छन र म देखाउन चाहन्छु कि क्लबले ममाथि पूर्ण भरोसा राख्न सक्छ,” सानेले भनेका थिए ।

जुड बेलिङ्गम (बोरुसिया डर्टमन्ड)

इङ्गल्याण्डका १७ बर्षिय जुड बेलिङ्गम गत साता मात्र डर्टमन्डले डुइसबर्गलाई ५–० ले हराउदा एक गोल गर्दै जर्मन कपमा गोल गर्ने सबै भन्दा कान्छो खेलाडी बनेका थिए । उनलाई डर्टमन्डले बर्मिङघम सिटीबाट २६ मिलियन युरोमा भित्र्याएको थियो ।

आफ्नो कुशलताबाट उनले डर्टमन्डमाथि प्रभाव जमाउन सफल भइसकेका छन् । डर्टमन्ड फर्वार्ड थोर्गन हजार्डले पनि आफू बेलिङ्गमबाट निकै प्रभावित भएको बताएका थिए । “आक्रमण र डिफेन्सबीचको सन्तुलन कायम गर्नका लागि उनी निकै राम्रो खेलाडी हुन् । उनले हामीलाई यो सिजन धेरै मद्दत गर्न सक्छन्,” थोर्गनले भने ।

बेलिङ्गमलाई यो सिजन अर्का इङ्गल्याण्ड फर्वार्ड जेडन सान्चो र नर्वे स्ट्राइकर एर्लिङ हालान्डसँग खेल्ने आशा रखिएको छ ।

ताहित चोङ (वर्डर ब्रेमन )

गएको सिजन रेलिगेसनबाट बचेको वर्डर ब्रेमनले यो सिजन भने आफ्नो आक्रमणलाई बलियो बनाउन २० बर्षिय ताहित चोंङलाई म्यानचेस्टर युनाइटेडबाट लोनमा भित्र्याएको छ । नेदरल्यान्डस् अण्डर–२१ का लागि खेलिसकेका चोङले ब्रेमनकालागि गोल पनि गरिसकेका छन् ।

“टोलीलाई आफ्नो खेलले सहयोग गर्दै अघि बढ्न चाहन्छु,” गत साताको अन्त्यमा कार्ल जेइस जेनामाथि जर्मन कपमा २–० को जित निकल्दा डेब्यूमै गोल गरेपछि चोंङले भने । २०१७–२०१८ मा चोंङले रायन गिग्स, पउल स्कोल्स र मर्कस रासफोर्डलाई पछ्याउदै युनाइटेडको युवा बर्ष खेलाडीको उपाधि जितेका थिए ।

रेनियर (बोरुसिया डर्ट्मन्ड)

१८ बर्षिय रेनियर जिजस कार्भालोलाई डर्टमन्डले रियल म्याड्रिडबाट दुई बर्षको लोनमा भित्र्याएको हो । मिडफिल्डमा पूर्णता दिन सक्ने यो खेलाडीलाई ब्राजिलको भविष्य मानिएको छ ।

रेनियरले गएको हप्ता डुइसबर्गलाई पराजित गर्दा दोस्रो हाफमा जेडेन सान्चोको स्थानमा प्रवेश गर्दै डर्टमन्डको लागि डेब्यु गरेका थिए । “रेनियर यस्तो खेलाडी हुन् जोसँग प्रतिभा छ । उनी विभिन्न स्थानमा खेल्न सक्छन् र प्रशिक्षकहरुले पनि उनलाई हरेक स्थानमा प्रयोग गर्न सक्छन्,” डर्टमन्डका खेल निर्देशक माइकल जोर्क भन्छन् ।

“उनलाई हामीले हेरेको दुई बर्ष भन्दा बढी भाईसक्यो । उनी निकै उत्कृष्ट खेलाडी हुन,” जोर्कले थपे ।

ह्वाङ ही–च्यान (आरबी लाइपजिग)

दक्षिण कोरियाली स्ट्राइकर ह्वाङलाई लाइपजिगले रेड बुल साल्जबर्गबाट १५ मिलियन युरोमा अनुबन्ध गरेको हो । उनलाई अघिल्लो सिजन ३४ गोल गरेका टिमो वेर्नरको स्थानमा लाइपजिगले ल्याएको हो । २४ बर्षिय ह्वाङलाई लाइपजिग र साल्जबर्गका पूर्व प्रमुख प्रशिक्षक राल्फ र्याङ्गनिकले दक्षिण कोरियाको सबै भन्दा ठुलो प्रतिभा रहेको बताएका थिए ।

उनले लाइपजिगका लागि गत हप्ता भएको जर्मन कपमा नरेमबर्गलाई ३–० ले हराउदा आफो खाता खोलिसकेका छन् । उनले अघिल्लो सिजन साल्जबर्गबाट खेल्दै ४० खेलमा २२ असिस्ट र १६ गोल गरेका थिए ।

Click to comment

Trending