Headline

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Published

on

युरोपियन फुटबल, अर्थात खरबौं डलरको व्यापार । युरोपका फुटबल क्लबहरुमा पैसाको ठुलै कारोबार हुन्छ । चाहे खेलाडी किन–बेचमा होस् वा उनीहरुलाई दिने तलबमा । त्यस्तै टोलीको जर्सी अथवा मुख्य प्रायोजक यी सबैमा करोडौं करोड डलरको कारोबार हुने गर्दछ ।

विश्वका धनाढ्य देखि अरब राष्ट्रहरुले पनि युरोपेली क्लबहरुमा प्रशस्तै लगानी गर्ने गरेका छन् । प्रत्येक बर्ष कुन क्लबले धेरै कमायो र कुन क्लबले धेरै खर्च गर्यो भन्ने समाचारले राम्रै स्थान पाउने गर्दछ ।

कोरोना भाइरसका कारण असर नपरेको कुनै पनि स्थान र व्यापार व्यवसाय छैन । फुटबल पनि यसबाट बन्चित रहन सकेको छैन । लामो समय खेल रोकिदा र प्रतियोगिताहरु फर्किए पनि दर्शकले रँगशालामा गएर खेल हेर्ने अवस्था नबनेका कारण यस पटक धेरै क्लबले आम्दानीको ठुलै हिस्सा गुमाउनु परेको छ । यसले गर्दा धेरै क्लबहरु ठुलै ऋणमा जाने लगभग निश्चित जस्तै छ ।

कुन क्लबले आगामी बर्षमा आम्दानी गर्नेछ र कुन क्लब घाटामा जानेछ भन्ने पछिका बर्षहरुमा थाहा भइहाल्न्छ । आज हामी अहिले सम्म धेरै ऋण भएका पाँच युरोपियन क्लबहरुबारे जान्नेछौं ।

५. युभेन्ट्स (३७२ मिलियन युरो)

पछिल्लो नौं संस्करण देखि इटालियन सिरी आ को बिजेता टोली हो युभेन्ट्स । तर पनि उ धेरै ऋण हुने क्लबको पाँचौ स्थानमा रहेको छ । युभेन्ट्सको कुल ऋण ३ सय ७२ मिलियन युरो रहेको छ । युभेन्ट्सको धेरै ऋण हुनुको मुख्य कारण भने पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डो हुन् ।

हुन त रोनाल्डोलाई क्लबबा भित्र्याउन अघि पनि युभेन्टस ऋणमै रहेको थियो । तर रोनाल्डोलाई आफ्नो क्लबमा भित्रउन उसले एक सय मिलियन खर्च गर्यो भने उनलाई दिन पर्ने तलबमा पनि ठुलै रकम खर्च हुने गरेको छ ।

युभेन्ट्सले आम्दानी नै नगरेको भने होइन । उसले गत सिजन ३९ दशमलब ८ मिलियन युरो नाफा नै कमाएको थियो । खेलाडीको तलब, ट्रान्सफरमा गरेको खर्च र आफ्नो रँगशालाको निर्माणमा ठुलै रकम खर्चियो जसका कारण ऋण बढ्दै गयो ।

रोनाल्डोको आगमनसँगै च्याम्पियन्स लिगको उपाधि हात पार्दै आफ्नो ऋणमा केहि सुधार गराउने आशा अघिल्लो सिजन पुरा हुन नसके पनि यस सिजन फेरी युभेन्ट्सको आँखा युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिताको उपाधिमा नै हुनेछ ।

४. एट्लेटिको म्याड्रिड (३८४ मिलियन युरो)

स्पेनिस ला लिगा क्लब एट्लेटिको म्याड्रिडको कुल ऋण ३ सय ८४ मिलियन युरो रहेको छ । युभेन्टसको जस्तै म्याड्रिडको पनि धेरै खर्च खेलाडी भित्रयउदा र तलबमा नै खर्च हुने गरेको छ । अघिल्लो सिजन उसले जाओ फेलिक्सलाई १ सय २६ मिलियन खर्चदै अनुबन्ध गर्यो भने मार्कोस लोरेन्ट र किरान ट्रिपियरलाई पनि ठुलै रकम तिरेर भित्र्यायो ।

त्यस्तै एट्लेटिकोले आफ्नो प्रशिक्षक डिएगो सिमियोनेलाई पनि तलब स्वरुप ४० मिलियन खर्च गर्यो । कोरोनाका कारण खेलाडीहरुमा खर्चने तलबमा केहि कमी आएका कारण उसको ऋण केहि हदसम्म कम भए पनि उसले बनाएको नयाँ भव्य रंगशालाको ऋण अझै तिरिरहेको छ ।

३. इन्टर मिलान (४६१ मिलियन युरो)

इन्टर मिलान फोब्र्सले निकालेको सबैभन्दा मुल्यवान क्लबको सूचीमा १५ औं स्थानमा रहेको छ । तर पनि धेरै ऋण हुने क्लबको तेश्रो स्थानमा छ । इन्टरको कुल ऋण ४ सय ६१ मिलियन युरो रहेको छ ।

पछिल्लो समय कोरोनाका कारण धेरै क्लबहरुको आम्दानी घटेको कारण ऋण पनि बढेको छ । तर इन्टरको धेरै ऋण हुनुमा कोरोनाको प्रभाब नभएर इटालियन फुटबल हो । इटालियन फुटबलको कुल ऋण चार बिलियन युरो रहेको छ जसमा इन्टरको भागमा चार सय ६४ मिलियन युरो रहेको छ ।

अघिल्लो सिजनहरुमा खेलाडी भित्र्याउन ठुलो रकम खर्च गरेको कारण पनि इन्टरको धेरै ऋण रहेको हो । चिनिया सुनिङ ग्रुपको लगानी रहेको इन्टरले गत सिजन इटालियन सिरी आ मा दोश्रो स्थान हात पारेको थियो भने युरोपा लिगको फाइनलमा सेभियासँग पराजित भएको थियो ।

यस पटक च्याम्पियन्स लिगमा स्थान बनाउन सफल भएका कारण इन्टरको आम्दानी पक्कै बढ्ने नै छ तर पनि धेरै ऋण भएका कारण पुर्ण रुपमा ऋणमुक्त हुन भने उनीहरुलाई सजिलो छैन ।

२. टोटनह्याम हट्सपर (४८३ मिलियन युरो)

टोटनह्याम हट्सपर सर्वाधिक धेरै ऋण हुने क्लबको सुचीमा दोश्रो स्थानमा रहेको छ । उसको कुल ऋण ४ सय ८३ मिलियन युरो छ । टोटनह्यामको धेरै ऋण हुनुको मुख्य कारण हो उसको रँगशाला । इङ्गल्याण्डमा रहेका उत्कृष्ट र आधुनिक रँगशालामा पर्दछ टोटनह्यामको रँगशाला ।

उसले उक्त रँगशाला निर्माण गर्नका लागि अमेरिकन बैंक एचएसबीसी र गोल्डम्यान सास बैंकबाट ६ सय ३७ मिलियन पाउण्ड ऋण लिएको थियो । उक्त ऋणको किस्ता अहिले पनि टोटनह्यामले लगातार रुपमा तिर्दै छ ।

त्यस्तै लन्डन क्लबले खेलाडी तथा प्रशिक्षक होजे माउरिन्होलाई ठुलै रकममा तलब दिने गर्दछ भने खेलाडी भित्र्याउन पनि राम्रै खर्च गर्ने गरेको छ ।

१. म्यानचेस्टर युनाइटेड (५८६ मिलियन युरो)

विश्वको सबैभन्दा धनी र चर्चित क्लब हो म्यानचेस्टर युनाइटेड । त्यस्तै सबैभन्दा मुल्यवान फुटबल क्लबमा रियल म्याड्रिड र बार्सिलोना पछाडी तेश्रो स्थानमा रहेको युनाइटेड सबैभन्दा धेरै ऋण हुने क्लबको सुचीमा भने अग्रपंक्तिमा रहेको छ । युनाइटेडको कुल ऋण ५ सय ८६ मिलियन युरो रहेको छ ।

पछिल्लो समय ट्रान्सफर मार्फत खेलाडी बेच्दै ठुलै रकम हात पारे पनि उसको ऋणमा भने कमी आएको छैन । सन् २००५ मा ग्लेजर परिवारले युनाइटेड किने देखि नै उसको ऋण बढ्दै गएको छ । त्यस भन्दा पहिलो रेड डेभिल्सको कुनै पनि ऋण रहेको थिएन । लामो समय देखिको प्रिमियर लिगको उपाधिको खडेरीलाई तोड्ने कोशिशमा युनाइटेडले खेलाडी आफ्नो क्लबमा अनुबन्ध गर्नका लागि पनि पैसाको खोला बगाएको छ ।

पछिल्लो सिजन च्याम्पियन्स लिगमा फर्किएको युनाइटेडलाई आर्थिक लाभ भने पक्कै दिनेछ । तर पनि उसको ऋण धेरै भएकाले सन् २००५ अघि जस्तै ऋण बिहिन हुनका लागि आगामी सिजनहरुमा पनि राम्रो गर्दै जान पर्ने देखिन्छ ।

Click to comment

Trending