Headline

मुम्बई र बैंगलोरका लागि आईपिएल खेल्ने तीन खेलाडी

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को सबैभन्दा सफल टोली मध्य एक हो मुम्बई इन्डियन्स । मुम्बईले चार पटक आईपिएलको उपाधि हात पारी सकेको छ । शुरुवाती समयमा सचिन तेन्दुलकर, रिकी पोंटिंङ्ग जस्ता खेलाडीहरुले गर्दा मुम्बईमा समर्थकको कमि छैन ।

रोयल च्यालेन्जर्स बैंगलोर आईपिएलमा सफल टोलीमा त पर्दैन तर पनि सधैं बलियो टोलीको रुपमा हेरिदै आएको छ । भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहली देखि दक्षिण अफ्रिकाका पुर्व क्रिकेटर एबी डी भिलियर्स सम्म रहेकाले गर्दा पनि बैंगलोरको समर्थकहरुको संख्या पनि उल्लेख्य मात्रामा छ ।

१३ औं संस्करणको आईपीएल शुरु हुन अब केहि दिन मात्र रहेको छ । यसै सन्दर्भमा हामी मुम्बई र बेंगलोर दुबै टोलीबाट खेल्ने तीन खेलाडीको चर्चा गर्दैछौं ।

१. टिम साउदी

न्युजिल्याण्डका तिब्र गतिका बलर टिम साउदी यस्ता बलर हुन् जसले आईपीएलमा चारवटा टोलीबाट खेल्ने अनुभब बटुली सकेका छन् । त्यस मध्य दुई टोली बैंगलोर र मुम्बई हुन् ।

साउदीले आईपिएलमा हाल सम्म ४० खेल खेलेका छन् जसमध्ये उनले मुम्बईको लागि १४ र बैंगलोरका लागि ११ खेल खेलेका छन् । उनले मुम्बई र बैंगलोरको लागि क्रमश १२ र ६ विकेट लिएका थिए । सन् २०१८ र २०१९ को सिजन बैंगलोरबाट खेलेका साउदी अक्सनमा बिकेनन् र यस पटक भने कुनै टोलीमा छैनन् ।

२. पार्थिव पटेल

विकेट किपर ब्याट्सम्यान पार्थिव पटेल आईपीएलको ठुलो नाम त होइनन् तर पनि उनी तीन पटक च्याम्पियन भएका छन् । उनले सन् २०१० मा चेन्नाई तथा २०१५ र सन् २०१७ मा मुम्बईमा हुँदा उपाधि चुमेका हुन् । ६ टोलीबाट आईपिएल खेल्ने अनुभब बटुलेका पटेलले कुल १३९ खेल खेलेका छन् । उनले सन् २०१५ देखि २०१७ सम्म तीन सिजनमा मुम्बईको लागि ४० खेल खेलेका थिए ।

२०१८ मा मुम्बईले उनलाई रिलिज गरे पछि त्यसै सिजनको अक्सनमा बैंगलोरले पटेललाई आफ्नो टोलीमा समावेश गरेको थियो । २०१८ र २०१९ को सिजन बैंगलोरबाट खेलेका पटेल यस पटक पनि कोहलीकै टोलीमा रहेका छन् र उनले यस सिजन पनि आफ्नो टोलीको लागि ओपनिङ गर्ने प्रवल सम्भावना रहेको छ ।

३. युज्भेन्द्र चाहल

धेरैलाई लाग्न सक्छ कि लेग स्पिनर युज्भेन्द्र चाहलले बैंगलोरका लागि मात्र आईपिएल खेलेका छन् । तर उनी बैंगलोर भन्दा पहिले मुम्बईको टोलीमा थिए । सन् २०१३ को सिजनमा उनी मुम्बईसँग आबद्ध थिए । तर त्यस समयमा प्रज्ञान ओझा र हरभजन सिंह जस्ता स्पिनर भएका कारण उनले बेञ्चमा मात्र बिताए ।

आईपीएलमा ८४ खेल खेलेका उनले मुम्बईको जर्सीमा एक खेल मात्र खेल्ने मौका पाए भने महँगो साबित हुँदै चार ओभरमा ३४ रन खर्चिएर र कुनै विकेट पनि हात पार्न सकेनन् । सन् २०१४ देखि २०२० को सिजन सम्म बैंगलोरमा नै रहेका उनले आफ्नो टोलीको लागि १०० विकेट लिइसकेका छन् भने बैंगलोरको महत्वपुर्ण सदस्य पनि हुन् ।

Click to comment

Trending