अन्तर्राष्ट्रिय

अपराजित ट्रिनबागोलाई क्यारेबियन प्रिमियर लिगको उपाधी

Published

on

पुरै प्रतियोगिता अवधिभर अपराजित ट्रिनबागो नाइट राईडर्सले यस सिजनको क्यारेबियन प्रिमियर लिगको उपाधि चुमेको छ । हालै सम्पन्न फाइनल खेलमा सेन्ट लुसिया जुक्सलाई आठ विकेटले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । यो सहित  ट्रिनबागोले चौथों पटक सिपीएलको उपाधि हात पारेको हो ।

सेन्ट लुसियाले दिएको १५५ रनको मध्यम लक्ष्य लिएर ब्याटिङमा आएको ट्रिनबागोले खराब सुरुवातको बाबजुत १८ दशमलब एक ओभर खेल्दै दुई विकेटको नोक्सानीमा जित दर्ता गराएको हो ।

ट्रिनबागोको जितमा अविजित रहेका लिन्ड्ल सिमन्स र ड्यारेन ब्राभोले तेश्रो विकेटका लागि १४ दशमलब चार ओभरमा अविजित १३८ रन जोड्दै टोलीलाई उपाधि दिलाए । सिमन्सले ४९ बलको सामना गर्दै आठ चौका र चार छक्काको मद्धतमा सर्वाधिक ८४ रन बनाए भने ब्राभोले ४७ बलमा दुई चौका र छ छक्काको मद्धतमा ५८ रनको पारी खेले ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसिया जुक्सले १९ दशमलब पाँच ओभरमा आफ्ना सबै विकेट गुमाएर १५४ रनको मध्यम योगफल बनाउन सक्यो ।

आठ दशमलब पाँच ओभरमा टोलीको स्कोर ७७ रन रहेको अवस्थामा आफ्नो दोश्रो विकेट गुमाएको सेन्ट लुसियाले अर्को ७७ रन जोड्ने क्रममा बाँकी आठ विकेट गुमायो र पुरै २० ओभर पनि खेल्न सकेन ।

सुरवात राम्रो गरे पनि सेन्ट लुसिया ठुलो स्कोर बनाउनबाट चुक्यो । सेन्ट लुसियाको लागि आन्द्रे फ्लेचरले २७ बलमा सर्वाधिक ३९ रन बनाए । उनी बाहेक मार्क डेयलले २९, नाजिबुल्लाह ज़द्रानले २४ तथा रोस्टन चेजले २२ रनको पारी खेले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सेन्ट लुसियाको पारी ध्वस्त पार्ने क्रममा काइरन पोर्लार्डले सर्वाधिक चार विकेट हात पारे भने अली खान र फवाद अहमदले पनि आफ्नो नाममा २-२ विकेट दर्ता गराए ।

Click to comment

Trending