IPL

सन्दिप सिपीएल फाइनल पछि मात्र आईपीएलका लागि उड्ने

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने ११ तारिखमा वेस्ट इन्डिजबाट युएईका लागि उड्ने भएका छन् ।

हाल क्यारेबियन प्रिमियर लिग (सिपीएल) का लागि वेस्ट इन्डिजमा रहेका सन्दिप सिपीएलको फाइनल पछि मात्र इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि युएईका लागि उड्ने भएका हुन् । आईपीएलमा सिपीएल खेलेका खेलाडीहरु एकै पटक उड्ने भएकाले आफु पनि ११ तारिख सम्म बस्न पर्ने भएको सन्दिपले जमैकाबाट विस्पोर्टजसँगको कुराकानीमा जानकारी दिए ।

‘आईपीएलले नै आईपीएलमा खेल्ने र हाल वेस्ट इन्डिजमा सिपीएलमा रहेका खेलाडीलाई युएईका लागि प्लेन चार्टर गर्दैछ,’ सन्दिपले भने । ‘सिपीएलको फाइनल सेप्टेम्बरको १० तारिखमा भएका कारण ११ तारिखको लागि उड्ने ब्यबस्था गरिएको हो ।’

सन्दिप लगातार तेश्रो सिजन दिल्ली क्यापिटल्सको तर्फबाट आईपीएल खेल्दै छन् । उनले गएको दुई सिजनमा मात्र नौं खेल खेल्ने मौका पाए भने नौं खेलमा १३ विकेट आफ्नो नाममा दर्ता गराएका छन् ।

सिपीएलमा सन्दिपको टोली जमैका तल्वाज सेमीफाइनलबाट नै बाहिरियो । हिजो सम्पन्न सेमीफाइनल खेलमा ट्रिन्बागो नाइट राईडर्ससँग नौं विकेटको हार व्यहोर्दै जमैकाको फाइनल पुग्ने सपना चकनाचुर भएको थियो ।


ट्रिन्बागो विरुद्धको सेमीफाइनल खेलमा सन्दिपले चार ओभर बलिङ गर्दै २९ रन खर्चिए भने कुनै पनि विकेट हात पार्न सकेनन् । जारी सिजन उनी पहिलो पटक विकेट बिहिन रहे । समूह चरणको सन्दिपले १० खेल खेल्दै नौं पारीमा १२ विकेट हात पारेका थिए ।

सिपीएलमा सन्दिपको प्रदर्शन

समुह चरण

सेन्ट लुसिया जुक्स विरुद्ध – १/२३

ट्रिन्बागो नाइट राईडर्स विरुद्ध – १/३०

गायना एमेजन वारियर्स विरुद्ध – २/८

गायना एमेजन वारियर्स विरुद्ध – १/१२

बार्बाडोस ट्राइडेण्ट्स विरुद्ध – १/१६

सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स विरुद्ध – २/२७

ट्रिन्बागो नाइट राईडर्स विरुद्ध – १/२०

सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स विरुद्ध – वर्षाका कारण रद्द

बार्बाडोस ट्राइडेण्ट्स विरुद्ध – १/२६

सेन्ट लुसिया जुक्स विरुद्ध – १/२०

सेमीफाइनल

ट्रिन्बागो नाइट राईडर्स विरुद्ध – ०/२९

जारी सिजनमा उनको सबैभन्दा राम्रो बलिङ प्रदर्शन भने गायना विरुद्धको खेलमा रह्यो । उक्त खेलमा उनले चार ओभर बलिङ गर्दै मात्र आठ रन खर्चिएर दुई विकेट हात पारे । सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स विरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो ।

Click to comment

Trending