Headline

प्रिमियर लिगमा यो सिजन चम्कन सक्ने ५ युवा खेलाडीहरु

Published

on

शनिबार इङ्गलिस प्रिमियर लिगको २०२०–२०२१ को नयाँ सिजन शुरु हुँदै छ । केही युवा खेलाडीहरुलाई शुरुवाती एघार देखी टोलीमा खेलेको हेर्न पाइने छ । अघ्घिलो सिजन मेसन ग्रिनवुडको सफलता पछि यो सिजन प्रिमियर लिगमा उदाउन सक्ने पाँच नयाँ खेलाडीहरु को हुन सक्लान त ?

फिल फोडेन (म्यानचेस्टर सिटी)

तीन बर्ष अघी मात्र इङ्गल्याण्डले अण्डर–१७ विश्वकप जित्दा प्रभावशाली भूमिकामा देखा परेका फिल फोडेनलाई यस सिजनमा आफ्नो क्षमता देखाउने सुनौलो अवसर छ । म्यानचेस्टर सिटीका प्लेमेकर डेभिड सिल्भाले क्लब छोडेपछि पेप ग्वार्डियोलाको टोलीमा एक स्थान खाली रहेको छ र त्यसलाई फोडेनले भर्न सक्छन् ।

ग्वार्डियोलाले २० बर्षिय फोडेनलाई निकै विश्वास गर्दै लिग कपको फाइनलमा एस्टन भिल्ला विरुद्ध खेलाएका थिए । उक्त खेलमा उनी म्यान अफ द म्याच पनि चुनिन पुगे र ग्वार्डियोलाले च्याम्पियन्स लिग अन्तिम १६ मा पनि स्थान दिए । रियल बिरुद्धको खेलमा सिटी बिजयी हुन पुगेको थियो ।

“मैले म्यान सिटीका लागि धेरै ठूला खेलहरू खेलेको छु र दवाबहरूको सामना गर्न सिकेको छु । यसले मलाई मद्दत गर्नेछ,“ फोडेनले भने ।

इङ्गल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले पनि उनी पहिलो टोलीका लागि तयार रहेको विश्वास गर्छन् तर राष्ट्रिय टोलीमा परेको पहिलो पटक नै नियम तोड्दै केटीलाई होटेलमा भेट्न बोलाए पछि उनको चर्को आलोचना भएको छ ।

काल्विन फिलिप्स (लिड्स युनाइटेड)

करिअर नै खतरामा भएको २ बर्ष पछि काल्विन फिलिप्सले लिड्सले प्रिमियर लिगमा लामो समयपछि फर्कने क्रममा प्रेरणादायी भुमिका खेलेका थिए । मिड्फिल्डमा आफ्नो प्रतिभा देखाउदै प्रिमियर लिगमै फर्किएको बर्ष इङ्गल्यान्ड टोलीमा पनि उनलाई पहिलो पटक बोलाइयो । प्रिमियर लिग भन्दा तल्लो लिग खेल्ने एक खेलाडीका लागि यो उल्लेखनीय छलाङ्ग हो ।

२०१८ मा मर्सेलो बिएल्साले लिड्सको कार्यभार सम्हालेपछि काल्विन फिलिप्सको बक्स–टु–बक्स भूमिकालाई परिवर्तन गर्दै होल्डिङ मिड्फिल्डरको रुपमा खेलाउन थाले । त्यो फेर बदल पछि २४ बर्षिय फिलिप्स निकै सफल हुँदै आएका छन् ।

लिड्सका फ्यानहरूले उनलाई योर्कशायर पिर्लो को उपनाम दिएका थिए । यो लिड्सको घर र इटालीका महान खेलाडी आन्द्रे पिर्लोलाई मिलाएर दिइएको हो ।

बुकायो साका (आर्सनल)

धेरै स्थानमा खेल्न सक्न १९ बर्षिय बुकायो साका यो पटकको पिएफए युवा खेलाडीको सुचीमा परेका छन् । अब भने साकाले एक पूर्ण सिजन माइकल अर्टेटाको छेउमा बसेर काम गर्नु पर्ने हुने छ । दुवै विङ्ग, मिड्फिल्ड र लेफ्ट–ब्याक पनि खेल्न सक्ने साका निकै प्रभावशाली छन् ।

उनले कम्युनिटी सिल्डमा लिभरपुललाई हराउदा देखाएको प्रदर्शन उच्चस्तरीय थियो । साकाको पासिङ पनि त्यत्तिकै राम्रो छ । उनले कम्युनिटी सिल्डकै फाइनलमा पियरे–एमेरिक ओबामेयाङलाई दिएको लामो क्रस पासले नै आर्सनलका लागि गोल सम्भव भएको थियो । म्यानचेस्टर सिटीका केविन डि ब्रुन र लिभरपुलका ट्रेन्ट एलेक्जेण्डर–आर्नोल्डले मात्र साका भन्दा धेरै असिस्ट दिएका छन् । उनले सिजनको सबै खेल नखेले पनि १२ असिस्ट दिएका थिए ।

म्याथियस परेरा (वेस्ट ब्रोमविच एल्बियन)

वेस्ट ब्रोमविच आल्बियनलाई च्याम्पियनसिपबाट प्रिमियर लिगमा ल्याउने क्रममा ठुलो भुमिका खेलेका थिए २४ बर्षिय म्याथियस परेराले । इङ्गलिस फुटबलको पहिलो सिजनमै धमाका गरेका परेरालाई डिफेन्डरलाई रोक्न गार्हो परेको थियो । दोस्रो डिभिजनमा आठ गोल गर्दै १६ असिस्ट दिएका परेराको खेलमा योगदान अन्य खालाडी भन्दा धेरै माथि थियो ।

वेष्टब्रोमले पोर्चुगिज क्लब स्पोर्टिङ्ग लिज्बनबाट लोनमा ल्याएका परेरालाई १२ मिलियनमा अनुबन्ध गरिसकेको छ तर उनले प्रिमियर लिगमा पनि सोही प्रदर्शन जारी गर्दै आफुलाई प्रमाणित गर्न भने बाँकी नै छ ।

कर्टिस जोन्स (लिभरपुल)

कर्टिस जोन्सले गत सिजनको एफए कपको तेस्रो चरणमा एभर्टन बिरूद्ध लामो दुरीबाट गोल गर्दै आफ्नो क्षमताको झलक दिएका थिए । १९ बर्षिय मिडफिल्डरको जोश र क्षमताले जोन्सलाई योर्गन क्लोपको खेल योजनाको लागि एक आदर्श खेलाडी बनाउन सक्छ ।

मर्सिसाइड डर्बीमा गरेको आश्चर्यजनक गोलपछि उनले आठ अन्य खेलहरु खेलेका थिए । गत महिना मात्रै भएको कम्युनिटी सिल्डमा पनि उनी बेन्चबाट मैदान प्रवेश गरेका थिए । क्लोपले ट्रासफर मार्केटमा शतर्कता देखाउदै क्लबका प्रतिभावान युवाहरूमा विश्वास गर्दै आएको अवस्थामा लिभरपुलमै जन्मेका जोन्सले यो पटक भने अन्तिम ११ मा स्थान बनाउन सक्ने संकेत दिदै आएका छन् ।

 

Click to comment

Trending