Headline

मेस्सी बार्सिलोनामै बस्दा रोजारियोमा टुटेको सपना

Published

on

रोजारियोले सपना देख्ने आट गरेको थियो तर अर्जेन्टिनी शहरमा सबैभन्दा मन पराइएका छोरा लियोनेल मेस्सीले आफू बार्सिलोनामै बस्ने निर्णय गरेपछि त्यहा निराशा छाएको छ ।

गत हप्ता मेस्सीले आफू स्पेनिस महारथीलाई छोड्ने बताए यता रोजारियो र मेस्सीले त्यहा जुनियर फुटबल खेलेको क्लब नेवेल्स ओल्ड बोइजमा केहीले ३३ बर्षिय सुपरस्टार घर फर्कदै आफ्नो पुरानो टोलीका लागि खेल्ने कल्पना समेत गर्न थालिसकेका थिए ।

कोरोना भाइरसको महामारी कायमै रहदा पनि एक साता अघि नेवेल्सका समर्थकहरुले गाडीहरुको लस्करमा शहर भरि रँगिन यात्रा निकाल्दै मेस्सीको तस्विर सहितको ब्यानरमा लेखेका थिएः तिम्रो सपना, हाम्रो आशा । तर १० दिनको पर्खाइपछि मेस्सीको सपनाको जस्तो पुनरागमन नहुने निश्चित हुन पुग्यो ।

आफ्नो आशामाथि तुषारापात भएपनि नेवेल्सका केही समर्थकहरु कुनै न कुनै दिन आफ्नो शहरको सबैभन्दा माया गरिएका छोरा फर्किएर खेल्ने बिश्वासमा रहेका छन् । “कसैले पनि सन्तुलित दिमागमा उनी अहिले फर्केर आउनेछन् भनेर कल्पना गर्न सक्दैनन्,” मेस्सी सानै हुदा उनको उपचार गरेका एन्ड्रोक्रिनोलोजिस्ट डिएगो स्वार्जस्टेन भन्छन् ।

“रोजारियोको बासिन्दा म नेवेल्सको फ्यान हु र उनी यहाँ आएको हेर्न चाहन्छु । तर अहिलेलाई यो एउटा चाहना मात्रै हो । यथार्थपरक नरहेकोले उनी यहा नआएकोमा म हतोत्साहित छैन । तर नेवेल्समा नआएरै उनी फुटबलबाट सन्यास लिन्छन् भने मलाई अत्यन्तै दुख हुनेछ । उनी आफै यो बिषयमा सोच्दै हामी नेवेल्सका समर्थकहरुलाई खुशी बनाउनेछन् भन्ने आशा गर्दछु,” स्वार्जस्टेनले भने ।

बार्सिलोनाले अन्य सुविधा सहित उनको हर्मोनको रोगको उपचार पनि गरिदिने बाचा गरेपछि मेस्सी १३ बर्षको हुदा नै आफ्नौ पुरै परिवारसँगै स्पेन बसाई सरेका थिए । १० बर्षको उमेरमा मेस्सीमा ग्रोथ हर्मोन डिफिसियन्सी (नबढ्ने) रोग लागेको थाहा हुन आएको थियो ।

नेवेल्स ओल्ड बोइज समर्थकहरुले गत साता मेस्सीको नाममा निकालेको र्याली

“हालका लागि युरोप नै उनको भविष्य रहेको ज्ञान हुदा हुदै पनि हरेक पटक उनको सम्झौता नविकरण हुने समय आएपछि हामी समर्थकहरु मेस्सी आएको सपना देख्न थाल्छौं,” लेपर (नेवेल्स समर्थकलाई दिइएको नाम) र पत्रकार लिजान्द्रो लियोनी भन्छन् ।

“हामीलाई उनी पनि यो क्लबको समर्थक रहेको थाहा छ र त्यही भएर कुनै समय र कुनै कारण उनले क्लबको जर्सी लगाउने छन् भन्ने आशालाई कहिल्यै पनि मर्न दिएको छैनौं,” लियोनीले भने ।

“लियोले नेवेल्सको जर्सी लगाउने आशा हामीलाई सधै भरि हुनेछ तर उनको निर्णयको पनि हामी उच्च कदर गर्छौ,” गाडीको र्याली आयोजना गर्ने समुका सदस्य रोबर्टो मेन्सी भन्छन् । “गत हप्ताको र्याली हामीले मेस्सीलाई कति माया गर्छौ भन्ने तथ्यको प्रमाण हो । यसले हामीले उनलाई देखाएको मायाको बारे बुझ्नुका साथै उनको लागि यहा ढोका सधै खुला रहेको पनि थाहा पाउनेछन् ।”

बिश्वमै ख्याती कमाएका प्रशिक्षकहरु मार्सेलो बिएल्सा, जेरार्डो मार्टिनो र माउरिसियो पोचेटिनो खेलिसकेका नेवेल्सको क्लब व्यवस्थापनले भने यस बिषयमा केही कुरा गरेको छैन । अर्जेन्टिनामा द फ्लि नाम दिइएका मेस्सीले सधैजसो आफू घर फर्कदै क्लबको लागि खेल्ने इच्छा रहेको बताउदै आएका छन् ।

२० बर्ष अगाडी घर छोडेको भएपनि मेस्सी आफ्नो र श्रीमति एन्टोनेला रोजुकोको परिवारसँग नयाँ बर्ष मनाउनका लागि हरेक बर्ष जाने गरेका छन् । बार्सिलोनाका थुप्रै स्टार खेलाडीहरुका बीच मेस्सी र एन्टोनेलाले रोजारियोमै २०१७ मा बिवाह गर्दा पुरै शहरमा खुशीयाली छाएको थियो ।

केही हप्ता अघि मेस्सीले रोजारियाका हस्पिटलहरुमा कोभिड–१९ को बिरामीहरुको उपचारमा सहयोग गर्नका लागि ५० वटा भेन्टिलेटर दान गरेका थिए । अर्जेन्टिनाको तेश्रो सबैभन्दा ठूलो शहर रोजारियामा मेस्सीको थुप्रै घर, बिलासी अपार्टमेन्ट, बार र कन्ट्री क्लब रहेको छ । आफ्नो बालापन बिताएको घर अझै पनि उनको नाममै रहेको छ भने मध्यम बर्गिय टोलमा रहेको उक्त घरलाई साथीहरुले रँगाएर राखेका छन् ।

सन् १९०३ मा स्थापना भएको नेवेल्स अर्जेन्टिनामा फुटबललाई प्रख्यात बनाएका बेलायती शिक्षक आइज्याक नेवेलको नाममा राखिएको हो । अर्जेन्टिनी लिग ६ पटक जितेको नेवेल्स ओल्ड बोइजको पछिल्लो उपाधि २०१३ मा रहेको थियो ।

Click to comment

Trending