Headline

ब्राजिलमा महिला र पुरुष दुवै राष्ट्रिय फुटबलरहरुलाई बराबर तलब

Published

on

ब्राजिलको फुटबल महासंघले बुधबार पुरुष र महिला राष्ट्रिय टोलीका फुटबलरहरुलाई समान तलब दिने घोषणा गरेको छ ।

“महासंघले महिला र पुरुष खेलाडीहरुलाई समान तलब सुविधा र भत्ता दिने छ । जसको अर्थ पुरुष खेलाडीलाई जति तलब दिइएको छ महिला खेलाडीले पनि उति नै पाउने छन्,” महासंघका अध्यक्ष रोजेरियो काबोक्लोले बताएका छन् ।

यसको मतलब ब्राजिलका थोरै परिचित महिला खेलाडीहरू जस्तै मार्था, फर्मिगा र लेटिसिया सान्तोसले नेमार, ग्याब्रियल जिसस र रोबर्टो फर्मिनो जस्ता विश्वव्यापी सुपरस्टारहरूको रूपमा समान शुल्क र भत्ताहरू प्राप्त गर्नेछन् ।

यसरी महिला र पुरुष राष्ट्रिय फुटबल टोलीको तलबमा समानता ल्याउने ब्राजिल पहिलो राष्ट्र भने हैन । यो भन्दा अघि नर्वे, अष्ट्रेलिया र न्युजिल्यान्डले महिला र पुरुष खेलाडीको तलाब सुविधा बराबर गरेको थियो ।

२०१९ मार्चमा पहिलो पटक अमेरिकी महिला राष्ट्रिय टोलीले पुरुष खेलाडी सरह तलब र भत्ता नदिएको भन्दै आफ्नो देशको फुटबल महासंघबिरुद्ध मुद्दा दायार गरेका थिए । न्यायाधीशले यस वर्षको मे मा मात्रै खेलाडीहरूको मुद्दा खारेज गरेका थिए । तर टोलीले भने फेरि अपिल गरेको छ ।

ब्राजिलको फुटबल संघले यो निर्णय महिला टोली र टिमका स्विडिस प्रशिक्षक पिया सुन्धागेलाई मार्चमा नै जानकारी गराइसकेको थियो । “यो ऐतिहासिक क्षण हो । यो इतिहासको हिस्सा बन्न पाउदा म अत्यन्तै खुशी छु,” सुन्धागेले भनिन् । उनी बाजीलियन महिला टोलीकी पहिलो महिला प्रशिक्षक पनि हुन् ।

अर्को वर्ष टोकियोमा आयोजना हुने ओलम्पिक खेलमा भाग लिने राष्ट्रिय टोलीका साथ–साथै पुरुष र महिला विश्वकपमा पनि यो व्यवस्था लागू हुनेछ । “यो सुविधा फिफाले महिलाको लागि प्रस्ताव गरेको जस्तै हो । यहाँ पुरुष र महिलाबीचको पारिश्रमिकमा लैंगिक असमानता हुने छैन, अध्यक्ष काबोक्लोले भने ।

ब्राजिलमा पुरुष टिमलाई फुटबलमा सबैभन्दा सफल मानिन्छ । ब्राजिलले पाँच पटक विश्वकप जितिसकेको छ भने एक कन्फेडेरेसन कप र ९ कोपा अमेरिका पनि जितिसकेको छ । महिला टोली पनि फुटबलमा सफल मानिन्छ । २००७ को विश्वकप फाइनलसँगै २००४ र २००८ मा भएको ओलम्पिकमा फाइनल पुगेको यो टोली महिला फुटबलको बलियो टोली हो ।

गत बर्ष मात्रै ब्राजिलियन लिगले महिला र पुरुषको पुरस्कार राशी बराबर बनाएको थियो । ब्राजिलमा मात्र नभएर फुटबलमा विश्वभर महिला र पुरुषबीचको तलबमा ठूलो अन्तर रहेको पाईन्छ ।

महिला खेलमा सबै भन्दा बढी भुक्तानी गर्ने खेलाडीहरूले लाखमा तलब कमाउँछन् । जबकी बार्सिलोनाका स्टार लियोनेल मेस्सी र युभेन्टसका क्रिष्चियानो रोनाल्डोले मासिक रुपमै त्यो भन्दा १० गुणा बढी तबल लिने गरेका छन् ।

Click to comment

Trending